मुख्य समाचार :


आज सर्वदलीय बैठक दिसम्बरदेखि राष्ट्रियसस्तरमा आन्दोलन शुरु

कालेबुङ, 11 नोभेम्बर।
दार्जीलिङ जिल्लामा एकातिर जाडो बढिरहेको छ भने अर्कोतिर राजनैतिक गर्मी रहेको छ। अहिले दुइधारमा पहाडको राजनीति गर्मिँदै गइरहेको छ। पहाडको नगरक्षेत्रलाई नगरपालिका चुनाउले गॉंजिसकेको छ भने अर्कोतिर विपक्ष र छुट्टैराज्यको पक्षमा रहेका दल र सङ्गठनहरूले छुट्टैराज्यको निम्ति सामुहिक मोर्चाबन्दी शुरू गरिसकेको छ। पहाडका दलहरु मध्ये गोर्खा जनमुक्ति मोर्चा छुट्टैराज्यको कुरालाई छोडेर बिकासको बाटो पक्रिएर अघि बढिरहेको छ। मोर्चाले छुट्टैराज्यको आन्दोलनलाई टुङ्गोमा  नपुर्‍याउने स्पष्ट भएपछि भारतीय गोर्खा परिसङ्घले तेस्रो चरणको आन्दोलन शुरु गर्न पहाडका राजनैतिक अनि गैर राजनैतिक सङ्गठनहरूलाई एउटै मञ्चमा ल्याउने पहल शुरू गरिसकेको छ। भागोप चहान्छ कि छुट्टैराज्यको आन्दोलन तब मात्र सफल बन्छ जब सबै दलहरू एउटै मञ्चमा आएर सामुहिकरुपले आन्दोलन हुन्छ। यसको निम्ति दलहरू आफै एक हुन नसक्ने भएपछि शूत्रधारको रुपमा भागोपले सबै दलहरूलाई एक गरेर रणनीति निर्माण गर्न अनिवार्य मानेको छ। यसैकारण नै भागोपले पहिलो चरणमा पहाडका छुट्टै राज्यपन्थी दलहरू अनि गैरसरकाररी सङ्गठनहरूसित बैठक गरिसकेको छ।
 बिजनबारीमा पुल भत्किएर धेरैको ज्यान गएकोले पहलो बैठक प्रभावकारी हुन  सकेको थिएन तर दोस्रो चरणको बैठक निक्कै प्रभावकारी हुने ठानिएको छ। दोस्रो चरणको बैठक आज कालेबुङको दिशा भवनमा सम्पन्न हुने छ। भागोपका गोर्खाल्याण्ड राज्य टास्क फोर्सका राष्ट्रिय अध्यक्ष आर मोक्तानले जनाए अनुसार दिशा हलमा हुने बैठकमा पहाडका सबै दलहरूलाई निम्तो गरिएको छ। तिनले भने, गोर्खा जनमुक्ति मोर्चालाई पनि निमन्त्रणा दिइएको छ। अघिल्लो बैठकमा बिजनबारी काण्डको कारण मोर्चाका प्रतिनिधिहरू उपस्थिति थिएनन्‌। दोस्रो चरणको बैठकमा भने मोर्चाको सहभागिता हुनसक्ने आशा गरिएको छ। अहिलेसम्म क्रामाकपा, गोर्खालीग, गोरानिमो, पिपल्स फोरम अनि अन्य धेरै राजनैतिक दलहरूले बैठकमा अंशग्रहण गर्ने बताइएको पनि मोक्तानले बताएका छन्‌। मोक्तान अनुसार बैठकमा राजनैतिक दलहरू मात्र होइन अराजनैतिक सङ्गठहरूलाई पनि बोलाइएको छ।
 तिनी अनुसार यही बैठकमा छुट्टैराज्यको निम्ति राष्ट्रियस्तरमा आन्दोलन गर्न एउटा मञ्च पनि तयार गरिने छ। यही मञ्चले राष्ट्रियस्तरमा गरिने आन्दोलनलाई अघि बढाउने छ। मोक्तानले भने, बैठकले मञ्च तयार गरेपछि रणनीति निर्माण गर्नको निम्ति अर्को समिति पनि गठन गरिने छ। जसले आन्दोलनको रुपरेखा तयार पारिने छ। तिनले बताए अनुसार यता भागोपको पक्षबाट भने दस्तावेजहरू पूर्णरुपले तयार गरिसकिएको छ। मोक्तानले भने, भागोपले सोंचे अनुसार हुनसक्यो भने दिसम्बरदेखि तेस्रो चरणको छुट्टैराज्यको आन्दोलन शुरू हुने छ। तर दुइवटा अघिल्ला आन्दोलनहरू जस्तो यसपल्ट भएको आन्दोलन हुने छैन। किन भने  आन्दोलन राष्ट्रियस्तरमा हुनेछ। केन्द्रलाई छुट्टैराज्यबारे बुझाइनको निम्ति सम्पूर्ण तयारी गरिने छ। क्षेत्रीयस्तरमा क्षेत्रीय पार्टी र सङ्गठनहरूले आन्दोलनलाई सहयोग गर्ने छ अनि राष्ट्रियस्तरमा गठन गरिएको मञ्चले सहमति बनाउने कार्य गर्ने छ। भागोपले छुट्टैराज्यको आन्दोलनको प्रक्रिया शुरू गरेपनि गठन गरिने मञ्चमा मोर्चाका ेसहभागिताको सम्भावना थोरै रहेको छ। किन भने मोर्चा छुट्टैराज्यको आन्दोलन गर्ने पक्षमा छैन। छुट्टैराज्यको आन्दोलन थन्काएर नै मोर्चाले बङ्गालका मुख्यमन्त्रीद्वारा घोषित स्वीट्‌जरल्याण्डको पक्षमा छ। छुटैराज्यको आन्दोलन थन्काएर नै मोर्चाले जीटीए थापिसकेको छ। मोर्चाको सहभागिता भएन भने के सामुहिकताको आन्दोलन सम्भव हुन्छ भन्ने प्रश्न गर्दा मोक्तानले भने, मोर्चालाई निमन्त्रणा गरिएको छ। छुट्टैराज्यप्रति मोर्चा इमान्दार छ भने अवश्य नै यो पहलमा मोर्चाको सहभागिता हुने छ। यदि मोर्चाको सहभागिता भने पनि जतिले सहभागिता हुन्छ त्यतिलाई नै लिएर आन्दोलन अघि बढ्‌ने छ। यदि सबैलाई एक गर्दा एक हुन सक्दैन भने भागोप एक्लै अघि बढ्‌ने छ।

0 comments: on "आज सर्वदलीय बैठक दिसम्बरदेखि राष्ट्रियसस्तरमा आन्दोलन शुरु"