मुख्य समाचार :


हाइपावर कमिटीको प्रक्रिया छुट्टैराज्यको निम्ति बाधक-भागोप

हाइपावर कमिटीको प्रक्रिया
छुट्टैराज्यको निम्ति बाधक-भागोप
कालेबुङ, 22 सितम्बर।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको निम्ति भनेर गरेको सीमाङ्‌कनको कुरा अनि यसको प्रक्रियालाई भारतीय गोर्खा परिसङ्घले छुट्टैराज्य विरोधी ठहराएको छ। मोर्चाले जीटीएमा तराई डुवर्सको अन्तरभुक्तिको निम्ति केन्द्रलाई हाइपावर कमिटीको माग गरेको थियो। यसको निम्ति अहिले हाइपावर कमिटी पनि गठन गरिएको छ। कमिटीले भर्खर मात्र विज्ञप्ती सार्वजनिक गर्दै जीटीएमा सामेल हुन चहाने तराई र डुवर्सका सङ्घसंस्था अनि समुदायलाई रिपोर्ट पठाउने आह्वान गरिसकेको छ। यता जीटीएको चुनाउको प्रक्रिया पनि हुँदै गर्ने उता सीमाङ्‌कनको प्रक्रिया पनि चल्दै गर्ने भनेर मोर्चाले सहमति गरिसकेको छ भने यता भागोपले तराई र डुवर्समा गोर्खा बाहुल क्षेत्रहरू छान्ने जम्मै प्रक्रियालाई नै छुट्टैराज्यको बाधकको पूर्वाधार निर्माण भनेको छ। भागोप अनुसार तराई र डुवर्समा अल्पसंख्यक रहेको गोर्खाबाहुल क्षेत्र छान्ने र जीटीएमा गाभ्ने कुरा भविष्यको निम्ति सङ्‌कट हो। भागोपका राष्ट्रिय कार्यकारी अध्यक्ष एनोसदास प्रधानले भने, छुट्टैराज्यको निम्ति सम्पूर्ण तराई डुवर्स छुट्टैराज्यमा गाभिनुपर्ने हाम्रो दाबी हो। किन भने सिलगढी, खरसाङ र दार्जीलिङ सिक्किमबाट आएको भूभाग हो अनि कालेबुङ र डुवर्स वृटिश भारतबाट आएको भूभाग हो। यी नै भूभागहरूमा छुट्टै राज्यको गठन हुनुपर्ने भागोपाको माग हो। तर अहिले तराई र डुवर्सलाई टापूटापूमा टुक्राउने काम हुँदैछ। यो सरासर गोर्खाल्याण्ड राज्यको निम्ति बाधक कार्य हो। भागोपको स्पष्ट अडान छ, गोर्खाहरूले दाबी गरेको छुट्टाराज्यमा तराई र डुवर्सको जम्मै भूभाग पस्नुपर्छ। यता सिमाङ्‌कनको निम्ति बनेको हाइपावर कमिटी अनुसार गोर्खा बाहुल क्षेत्र मात्र जीटीएमा अन्ततरभुक्त गरिने कुराको प्रचार मोर्चाले गरिरहेको छ। तर भागोपले जनाए अनुसार जहॉंजहॉं गोर्खाहरू छन्‌, त्यो त्यो क्षेत्र मात्र जीटीएमा पसाउने कार्य गोर्खाल्याण्ड राज्य निर्माणकोे निम्ति बाधक हो। छुट्टाराज्य हुनुपर्छ भने दार्जीलिङ जिल्ला अनि तराई र डुवर्स पूर्णरूपले गाभेर मात्र हुनुपर्छ। यी क्षेत्रहरू ऐतिहासिकरूपले गोर्खाहरूका हुन्‌। यदि तराई र डुवर्समा गोर्खा बाहुल क्षेत्र मात्र छुट्याइए र अन्य ठॉंउका गोर्खाहरूलाई अल्पसंख्यक पारे त्यो ऐतिहासिक भूल हुनेछ भन्ने भागोपाको धारणा छ। भागोपले मोर्चाको नाम नलिइ हाइपावर कमिटी अनि यसको कार्य सिद्धान्तलाई मात्र औलाएर छुट्टैराज्यको दाबीलाई फितलो पार्ने गम्भीर षडयन्त्र भइरहेको ठाडो आरोप लगाएको छ। प्रधानले भने, तराई र डुवर्समा जातजातमा, जाति जातिमा टुक्राउने काम भइरहेको छ। तराई र डुवर्सका गोर्खाहरूलाई अल्पसंख्यक बनाएर अझ असुरक्षित पारिने अनि छुट्टै राज्यको दाबीलाई सधैँभरिको निम्ति मेटाउने काम भइरहेको छ। तिनको भनाइ अनुसार कहीँ पनि जाति हेरेर कुनै पनि व्यवस्थाको निम्ति सीमाना निर्माण गर्ने काम भएको छैन। यसो गर्नु हुँदैन पनि। यो त आदिवासी र गोर्खाहरूबीच फाटो ल्याउने अनि दुइजातिबीच विभेद निर्माण गर्ने जुक्ति मात्र हो। भागोपले जीटीएमा तराई र डुवर्स किन पूर्णरूपले पस्न सक्दैन भन्ने प्रश्न उठाउँदै तराई र डुवर्समा जाति टुक्राउने कार्यको विरोध गरेको छ। भागोप टास्क फोर्सका आर मोक्तानले भने, हाइपावर कमिटीले गर्ने सीमाङ्‌कन गोर्खा र आदिवासीबीच वैमन्यस्यता निर्माण गर्ने खेल हो। जुन भूभाग हाम्रै हो, त्यसलाई गाभ्न हाइपावर कमिटीको अनिवार्यता नरहेको समेत तिनको दाबी छ। तिनले अझ भने, युटी वा राज्य कहीं पनि जातिको आधारमा निर्माण हुँदैन। तराई र डुवर्समा गोर्खाहरू अनेकौं भौगोलिक परिस्थिति अनुसार बसोबासो गरिरहेका छन्‌। गोर्खा बाहुल मात्र खुट्टाउनु हॉंस्यस्पद कुरा हो। यदि खुट्याउँछ भने त्यो छुट्टैराज्यको बिरोधी प्रक्रिया हो। आदिवासी र गोर्खाहरूको सम्बन्ध बर्षौं पुरानो रहेको जसलाई तोड्‌ने पक्षमा राजनैतिक षडयन्त्र भइरहेको बताउँदै मोक्तानले भने, 1865 वर्षदेखिको जातीय सम्बन्ध र मित्रतालाई तोड्‌ने काम हुँदैछ। डुवर्सका गोर्खाहरूलाई अझ असुरक्षित बनाइँदैछ। हाइपावर कमिटी र सिमाङ्‌कनको कुरा गर्नु भनेको गोर्खाल्याण्डको विरोध गर्नु हो। तिनले पनि ऐतिहासिक भूभागलाई छुट्टैराज्यको मानचित्रबाट सधैँको निम्ति मेट्‌ने सीमाङ्‌कनको कुरा गोर्खा जनमुक्ति मोर्चाको ऐतिहासिक भूल रहेको स्पष्ट पारे। एनोसदास प्रधानले यसै सम्बन्धमा भागोप जोन 2 को सभा सिलगढीमा शीघ्र नै हुने जनाउँदै भने, तराई र डुवर्समा गोर्खा क्षेत्र चिन्हित गर्ने प्रक्रियालाई भागोपले डटेर विरोध गर्ने छ। जातिभेदको यो षडयन्त्रलाई सफल हुन दिनु हुँदैन। यता तिनले भागोपको पक्षबाट भुइँचालोले संत्रासित बनाएका सिक्किम र दार्जीलिङका सबै पीडित परिवारप्रति संवेदना पनि प्रकट गरे।


दार्जीलिङलाई केन्द्रका भीआईपीहरूले आँखी ओझल गर्नु
राज्य हुनु र नहुनुबीचको फरक-प्रधान
कालेबुङ, 22 सितम्बर।
भुँइचालोले सिक्किमलाई धेरै असर गरेको छ, धेरै ज्यानमालको खति भएको छ। सिक्किमको यो दुःखसित हामी पनि साथमा नै छौं। पीडित र मृतक परिवारलाई भागोपले संवेदना प्रकट गर्दछ-भारतीय गोर्खा परिसङ्घका कार्यकारी अध्यक्ष एनोसदास प्रधानले भने। शोक र संवेदना प्रकट गर्दागर्दै पनि तिनले थपे, भुँइचालोले दार्जीलिङ जिल्लालाई पनि व्यापक हानी गरेको हो तर केन्द्र केवल सिक्किममा केन्द्रित भए। कुम जोडेर बसेको त्यही सिक्किम पुग्ने भीआईपीहरूले वर दार्जीलिङलाई हेर्दा पनि हेरेनन्‌। यसमा भागोपलाई दुःख त लागेको छैन तर राज्य हुनु र नहुनुको फरक स्पष्ट कोरिएको छ। सिक्किममा ममता व्यानर्जी पुगिन्‌, राहुल गान्धी पनि आए। आज पी. चिदम्बरम पनि आए। प्रधान मन्त्रीले फोनबाट नै संवेदना प्रकट गरे। जति पनि भीआईपी यो क्षेत्रमा आए सबै सिक्किमतिर नै गए। अहिलेसम्म जेल हेर्न जेल मन्त्री अनि मुख्यमन्त्री खरसाङ आएको बाहेक कोही पनि भीआर्ईपीले दार्जीलिङमा पाइला टेकेनन्‌। जब कि दार्जीलिङ जिल्लामा पनि करोडौंको क्षति भएको छ। भीआईपीहरू सिक्किम जानु राम्रो हो तर त्यहीँ छेउको दार्जीलिङ नपस्नु र दुःख सुख नसोध्नु राम्रो होइन। भागोपले यो कुरालाई अहिले अनुभव गरेको एनोसदास प्रधानको कुराबाट बुझिएको छ। तिनी अनुसार यदि दार्जीलिङ पनि राज्य भएको भए उनीहरू अवश्य नै आउने थिए। जिल्ला रहेकोले उनीहरूले दार्जीलिङको पीडा र जोखिमलाई आँखी ओझल गरेका हुन्‌। केन्द्रका यस्तै आचरणको कारण नै छुट्टैराज्य हुनुपर्ने माग उठेको बताउँदै अनि गोर्खाहरूको चिह्नारीको संकट देशले नै उत्पन्न गरेको पनि बताएका छन्‌।


कुमुदिनी परिवारले गर्‍यो म्याराथन
कालेबुङ, 22 सितम्बर।
कालेबुङका चर्चित र पुरानो विद्यालय कुमुदिनी विद्याश्रमले धेरै हस्तीहरूको निर्माण गरिसकेको छ तरै पनि कर्णधार निर्माण गर्ने दौड सकिएको छैन। अन्य क्षेत्रका प्रतीभाहरू निर्माणमा यो विद्याश्रमले एउटा महत्वपूर्ण इतिहासको निर्माण त गरेकै छ तर इतिहास निर्माणको क्रमलाई उत्तिकै उत्साहको साथमा आजसम्म डोहोर्‍याएर पनि ल्याएको छ। विद्यालयको गरीमालाई सधैँ उच्चस्थ राख्नकै निम्ति सन्‌ 1961 मा गठन गरिएको पूर्व विद्यार्थीहरूको सङ्गठन कुमुदिनी परिवारले सङ्गालेर ल्याएको इतिहास पनि खुबै महत्वपूर्ण रहेको छ। यसै परिवारले 11 वर्षदेखि निरन्तर गर्दै आइरहेको क्रस कन्ट्री रेस र एथलेटिक मिट कालेबुङमा परम्पराकोरूपमा स्थापित भएको छ। अन्य प्रतीभाहरूको निर्माणमा यो परिवारले निभाएको भुमिका अलग्गै छ। खेललाई पनि आत्मसाथ गरेर विभिन्न क्षेत्रका खेलाडीहरूलाई राज्यीय र राष्ट्रीय ढोेका खोलिदिने महत भूमिका पनि परिवारले पालन गर्दै आइरहेको छ। यसै भूमिकालाई अक्षुण्ण राख्दै आज पहिलो जिल्लास्तरीय अन्तर विद्यालय क्रस कन्ट्री रेस अनि महकुमा स्तरीय एथलेटिक मिट-2011 सम्पन्न गर्‍यो। कुमुदिनी विद्याश्रमले नै जन्माएका बहुपर्तीभाका धनी नाटककार, निर्देशक अनि कलाकार चुन्नीलाल घिमिरे कार्यक्रमका मुख्य अतिथि रहेका थिए। विशिष्ट अतिथि रहेका थिए कालेबुङ महकुमा अधिकारी एलएन शेर्पा, एडिसनल एसपी एस. लेप्चा अनि कार्यक्रमको प्रयोजक एनएचपीसीका प्रबन्धक आरके वर्मा। मेला ग्राउण्डमा झण्डोत्तलन गर्दै मुख्य अतिथिले कार्यक्रम शुरू गरे। तिनले कालेबुङलाई नै सम्बोधन गर्दै कुमुदिनीसित बितेका आफ्ना दिनहरूको सम्झाना गरे। तिनले भने, ओलम्पिक खेलाडी बीरबहादुर छत्रीदेखि भीम स्याण्डो अनि उनीहरू जस्ता सैयौं प्रतीभाहरू जन्माउने कुमुदिनी विद्याश्रमलाई कसैले पनि बिर्सन सक्दैनन्‌। मलाई पनि रुपराम देवान, अशोक राईहरूले नडोहोर्‍याइदिएका भए म मेरो क्षेत्रमा उत्रन सक्ने थिइनँ। आज धेरै धावकहरूले अंशग्रहण गरेका छन्‌। धावक भनेको शान्तिका दूत हुन्‌। भुँइचालोले तहस नहस पारेको अवस्थामा धावकहरूले धैर्यता, आत्मनिर्भरता अनि भाइचाराका सन्देश दिएका छन्‌। उनैले डम्बरचौकमा झण्डा हल्लाइदिएर क्रस कन्ट्री शुरू गरे। डम्बरचोकबाट 23 किलोमिटरको दुरी पुरूष धावकहरूको निम्ति तय गरिएको थियो भने होम्सबाट 17 किलोमिटरको दुरी महिला धावकहरूको निम्ति तय गरिएको थियो। म्याराथन दौडमा एसयुएमआईका प्रवल छेत्री प्रथम बनेका थिए। तिनले तोकिएको दुरी 1 घण्टा 31 मिनट 42 सेकेन्डमा पुरा गरेका थिए भने 1 घण्टा 32 मिनट 2 सेकेण्डमा दुरी तय गरेर घुम बोइज हाइस्कूलका हाजुङ भोटिया दोस्रो बनेका थिए। तेस्रो पनि एसयुएमआईकै विद्यार्थी रमेश तामाङ बने। यसरी नै महिलावर्गमा पञ्जवटि हाइस्कूल खरसाङका छात्रा मेनुका राई प्रथम, जनता जुनियर हाइस्कूलकी सावित्री राई र संगीता राई क्रमैले दोस्रो र तेस्रो बनिन्‌। उनीहरूलाई मुख्य अतिथिको क्रमैले 10, 7 अनि 3 हजार नगद पुरस्कार अनि ट्रफी प्रदान गरियो। यसरी नै पुरूष रिले दौडमा एसयुएमआई पहिलो, कुमुदिनी विद्याश्रम दोस्रो अनि सप्तश्री तेस्रो बन्यो भने महिलावर्गमा सेन्टजर्ज पेदोङ पहिलो, अलगढा हाइस्कूल दोस्रो अनि सप्तश्री ज्ञानपीठ तेस्रो बन्यो। 100 मिटरको पुरूषवर्गको दौडमा गंगोत्री हाइस्कूलका गोकूल सेवा प्रथम, सेन्टजर्ज पेदोङका तेञ्जी भोटिया दोस्रो, अनि सप्तश्री ज्ञानपीठका अन्मोल गोले तेस्रो भए भने महिलावर्गमा सेन्टजर्जका प्रमिला ठकुरी पहिलो, सप्तश्रीका एलिस लामकाङ दोस्रो अनि कमलज्योतिका जेस्मिन छेत्री तेस्रो भइन्‌। 200 मिटरको पुरूषवर्गको दौडमा जीएचएसका रुपेश दर्जी, सेन्टजर्जका एनजी भोटिया अनि जुब्लीका केदार मङ्गर क्रमैले पहिलो, दोस्रो र तेस्रो बने भने महिलावर्गमा अलगढाका सिमा राई, लोले साम्पू जुनियर स्कूलका अनमाया राई अनि जुब्लीका सुष्मा राई पनि पहिलो, दोस्रो र तेस्रो बनिन्‌। यसरी नै 400 मिटरको दौडमा एसयुएमआईका आजाद हुसैन, सेन्टजर्जका रबि शर्मा अनि सप्तश्रीका नितेश गहतराज अनि महिलावर्गमा इण्डोेटिवेटनका रत्ना राई, पागाङ गुम्पाका डोल्मा मङ्गर अनि जनता जुनियर स्कूलका कुमारी राई क्रमैले पहिलो दोस्रो अनि तेस्रो भए। सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेर पुरुषवर्गमा एसयुएमआई विजेता बन्यो भने उपविजेता लोेले सम्पू जुनियर स्कूल बन्यो भने महिलावर्गमा जनता जुनियर विजेता अनि सम्पू जुनियर उपविजेता बन्यो। विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो। कार्यक्रमलाई एनएचपीसी, किङताई अनि दार्जीलिङ कोअपरेटिभ सोसाइटीले प्रायोजना गरेको थियो भने मिडिया पार्टनर समय दैनिक रहेको थियो।


शिक्षकहरू सम्मानित
कालेबुङ, 22 सितम्बर।
गोर्खा प्राथमिक शिक्षक सङ्गठन सघन क्षेत्रले महकुमाभरिमा यसै वर्ष अवकाश ग्रहण गर्ने 12 जना शिक्षक- शिक्षिकाहरूलाई आज एक समारोहबीच सम्मान जनायो। स्थानीय रामकृष्ण रङ्गमञ्चमा आयोजित समारोहमा शिक्षक-शिक्षिकाहरूलाई खदा अर्पण, प्रशस्ती पत्र स्मृति चिन्ह आदि प्रदान गर्‍यो। जीपीटीओ सघन क्षेत्रमा सभापति स्वराज गुरूङको सभापतित्वमा सम्पन्न समारोहमा मुख्य अतिथि कालेबुङ महाविद्यालयका प्रचार्य आरपी ढकाल, सङ्गठनका प्रतिनिधि एवं अन्य अतिथिहरूद्वारा ती शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाइयो। सम्मानित शिक्षक-शिक्षाहरू क्रमैले 11 माइल निम्न बुनियादी पाठशालाकी शिक्षिका लाक्पा डोमा लेप्चा, मणी निम्न बुनियादी पाठशालाकी सकुन्तला सुब्बा, गणेश निम्न बुनियादी पाठशालाकी शान्ति तामाङ, चम्पामाया निम्न बुनियादी पाठशालाकी भक्ति भारती मल्ल, हरिजन प्राथमिक पाठशालाकी जानुका बसुर अनि गङ्गा बसुर, लगायत अन्य विद्यालयहरूबाट गङ्गा प्रसाद शर्मा, सरस्वती गुरूङ, तुलसी गजमेर, सुशीला गुरूङ अनि सबहाङमा सुब्बा रहेका थिए। सोही कार्यक्रमबीच सङ्गठनले मेरिट अवार्ड प्रापक शिक्षिका सुसन घिसिङलाई पनि सम्मान जनायो। समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य आदि प्रस्तुत गरेका थिए। पीटीटीआईका प्राचार्य श्री मनिन्द्र भूजेल, जीपीटीओ केन्द्रिय महासचिव भूषण थापा, अवकाशप्राप्त शिक्षक सङ्गठनका सभापति कुवेर प्रसाद शर्मा आदिको कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।

भुँइचालोले भॉंच्यो तीनतले पद्मसम्भवको गजुर
कालेबुङ, 22 सितम्बर।
भुइँचालोले दुर्पिन गुम्पा साङ्‌दोपारी पनि क्षतिग्रस्त भएको छ। गुम्पाको माथिल्लो दुइतले भवनलाई त्यति क्षति नपुर्‍याएपनि मुनिल्लो तलालाई भने व्यापक असर पारेको छ। मुनिल्लो तलाको भित्ताहरू जता ततै चर्किएको छ। भित्ताहरू जता ततै चर्किएकोले बौध भिक्षुहरू गुम्पाभित्र पसेर पूजा गर्न पनि त्रसित बनिरहेका छन्‌। गुम्पाका भित्ताहरू मात्र होइन माथ्थिलो तलामा तिब्बतबाट ल्याएर सुरक्षित राखिएको तीनतल्ले तॉंबाको गुरू पद्मसम्भावको सिंहासन अथवा दुर्पिन गुम्पाको मोडेल पनि पूर्णरूपले क्षतिग्रस्त बनेको छ। गुम्पामा अवस्थित एउटा मुर्ति त झनै काम नै नलाग्ने अवस्थामा भुँइमा लडेको छ। बुद्ध भगवानको शीरको मुकुट पनि भुँइचालोले भँच्चाइदिएको छ। यो गुम्पा बौेद्ध धर्मावलम्बीहरूको धार्मिक केन्द्र मात्र नरहेर पर्यटकहरूको निम्ति पनि आकर्षणको केन्द्र हो। कालेबुङमा आएका पर्यटकहरू दुर्पिन गुम्पा नगई सक्दैनन्‌। सन्‌ 1954 मा स्थापित अनि 1 ऐकर 2 डेसिमलमा फैलिएको यो गुम्पाको भ्रमणमा इन्दिरा गान्धी समेत आइसकेकी छन्‌ भने अन्य धेरै राष्ट्रिय, अन्तराष्ट्रिय हस्तीहरू पनि आइसकेका छन्‌। गुम्पाको देखरेख गर्ने छिजु अफरिङ एसोसिएसनका सचिव निमा शेर्पाले जानकारी गराए अनुसार इन्दिरा गान्धी यो गुम्पाका आजीवन सदस्य रहेकी थिइन्‌। लामाहरूको सङ्गठनका सचिव शेरा लामाले जनाए अनुसार गुम्पा पौराणिक रहेकोले यसको निर्माण गर्न करोड भन्दा अधिक खर्च लाग्न सक्छ। तिनले लगभग गुम्पामा एक करोडको क्षति भएको बताउँदै शीघ्र नै प्रशासनिक निरीक्षण हुनुपर्ने बताए।


यसपल्ट पनि थोमस कप एसयुएमआईकै झोलीमा
कालेबुङ, 22 सितम्बर।
पेदोङ युथ स्पोट्‌र्स एसोसिएसनले आयोजना गरेको जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको फाइनल यसपल्ट पनि कालेबुङको एसयुएमआईले नै उठाएको छ। यस अघि पनि एसयुएमआईले नै फाइनल जितेको थियो। लगातार दोस्रो पल्ट पनि बाजी मार्ने एसयुएमआईको भीडन्त नाम्ची के न्यूलाइट एकाडेमीसित भएको थियो। गत नौं सितम्बरदेखि शुरू भएको स्व. थोमस सुब्बा स्मृति क्लबको फाइनलको पूर्वार्धमा नाम्ची 2-1 ले अघि रहेको थियो। खेलको उत्तरार्धमा भने एयसुएमआइले एक गोल गरेपछि खेल बराबरीमा रह्यो भने अन्तमा पेनेल्टी सूटआउटमा एयसुएमआई 5 गोलको विरूद्ध 6 गोल गरि बिजय बन्यो। एययूएमआईका प्रशान्त मेकडोनाल्डलाई खेलको सर्वश्रेष्ठ खेलाडीकोरूपमा चयन गरियो। स्व. थोमस सुब्बाकी पत्नी डलफिन मेरी लेप्चाको बाहुलीबाट बिजयी दललाई नगद राशी 10,000 अनि रनरअपलाई 5,000 रूँपिया प्रदान गरियो। फाइनल खेलमा क्याप्टन पीएस प्रधान मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा पूर्व फूटबल खेलाड़ी ढेण्डुप भोटिया उपस्थित थिए।



भालूखोपवासीको पीड़ा
कालेबुङ, 22 सितम्बर।
कालेबुङमा जति पनि प्राकृतिक आपदाहरू आउँछन्‌ सबैभन्दा धेर भालूखोप क्षेत्र नै प्रभावित बन्ने गरेको छ। आइलाले पनि धेरै पिरोलेको भालूखोपबासीलाई यसपल्टको भुइँचालोले त झनै दशैंको मुखमा नै सरूवा हुनुपर्ने स्थिति बनाइदियो। कालेबुङ बजारदेखि केही टाड़ा रहेको भालूखोप ग्राम पञ्चायत अन्तर्गत तीनवटा गाउँका सयभन्दा धेर परिवारहरू अहिले पॉंचवटा राहत केन्द्रमा आश्रय लिइरहेका छन्‌। लेप्रोसीको भित्ता भक्तिएर गाउँनै सोहोरेर लाने डरले गाउँलेहरू बसाई सर्न बाध्य बनेका छन्‌। भालूखोप ग्राम पञ्चायत अन्तर्गत 49 वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेको छ भने 149 वटा घरलाई आंशिक क्षति पुगेको छ। गाउँबासी अनुसार गाउँमा मानिस बस्ने स्थिति छ छैन यसको शीघ्र जॉंच हुनुपर्छ। लेप्रोसी डॉंडा धरापमा छ। जमीन चारैतिर चर्किएको छ भने शीरमा नै छ चर्किएको पुरानो चर्च। चर्किएको क्षेत्र पैह्रोमा रुपान्तर बन्यो भने मुनि रहेका गाउँहरू सुरक्षित रहने छैन। यस्तोमा विषय विशेषज्ञहरूले भूसर्वेक्षण गरिदिए अनि गाउँमा बस्न उचित हुने नहुने जनाइदिए गाउँहरूलाई मनको बाघले खाने थिएन। चम्पामाया प्राथमिक पाठशालामा आश्रय लिइरहेका पीडित फुर्वा भोटियाले आज पनि चर्किएको ठॉंउको आफूहरूले निरीक्षण गरेको अनि चर्किएको ठाउँमा फाटो बढ्‌नुको साथै अन्यत्र पनि चर्किएर गएको बताएका छन्‌। हिजो मात्र कालेबुङका विधायक डा.हर्कबहादुर छेत्री अनि कोलकाता र सिलगढीबाट आएका वामटोलीले यस क्षेत्रको निरीक्षण गरेका थिए। विधायकले राहत सामाग्री वितरण गरे पनि क्षेत्रका मानिसहरूको स्थायी समाधानको निम्ति कुनै पनि पहल गर्ने प्रतिश्रुति भने दिएनन्‌।

0 comments: on "हाइपावर कमिटीको प्रक्रिया छुट्टैराज्यको निम्ति बाधक-भागोप"