मुख्य समाचार :


6.8 रेक्टर स्केलबाट कालेबुङलाई 52 करोडको क्षति

कालेबुङ, 21 सितम्बर।
भुइँचालो गएको ठीक तीनदिनपछि कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले पीडित क्षेत्रको निरीक्षण गरे। भुुइँचालो जॉंदा विधायक आफ्नोे क्षेत्रमा थिएनन्‌। यता भउँचालो जॉंदै थियो उता तिनी दिल्ली जॉंदै थिए। सिलगढीमा पुगेर तिनले भुँइचालो गएको अनि धेरै क्षयक्षति भएको त चाल पाए तर तिनी पहाड फर्किएनन्‌। तिनी दिल्ली पुगे अनि कोलकाता टिभीको भुइँचालो र पैह्रोबारे प्यानल डिस्कसन गरे। तीनदिन पछि कालेबुङमा अचानक देखापरेका विधायक डा.छेत्रीले आज पत्रकारहरूलाई तिनको लम्बेतान दिल्ली यात्राबारे यसरी नै बताइरहेका थिए। तिनी कोलकाताबाट फर्किएर पनि सोझै पहाड चडेनन्‌, रम्फूमा मुख्यमन्त्री ममता व्यानर्जीलाई फर्किएर बसे। तिनले उतैबाट पहाडबारे जायजा लिए। तिनले कसरी मुख्यमन्त्रीलाई भेटे अनि उनीसित के के कुरा भए त्यसको पनि लम्बेतान विवरण पत्रकारहरूलाई दिए। तीनदिनपछि कालेबुङमा अचानक देखापरेका विधायक डा. छेत्रीले बिहानै छोटा भालूखोपको दौडाहा गरे। दौडाहापछि पत्रकारहरूसित बोल्दै तिनले कालेबुङमा पुगनपुग 52 करोडभन्दा धेर क्षयक्षति भएको बताए। यता कालेबुङ महकुमा अधिकारी एलएन शेर्पाले क्षतिबारेका सम्पूर्ण विवरण भोलिसम्ममा तयार भइसक्ने जनाएका छन्‌ भने तिनी अनुसार 52 करोडभन्दा धेर सम्पतिहरूको क्षयक्षति भएको छ। शेर्पाले जनाए अनुसार सम्पूर्ण क्षेत्रको सबै विवरण कार्यालयमा आइपुगेको छैन। पञ्चायतहरूलाई शीघ्र नै विवरण दिन सूचित गरिएको छ। शहरी क्षेत्रभन्दा धेर ग्रामीण क्षेत्र नै चपेटमा परेको पनि महकुमा अधिकारीले जनाएका छन्‌। डा.हर्कबहादुर छेत्रीले एउटा महत्वपूर्ण कुरा के गरेका छन्‌ भने मोर्चाले पहाडमा डिजास्टर म्यानेजमेन्टको स्थायी युनिट हुनुपर्ने कुरा उठान गर्नेछ। यो युनिट स्थापित हुनसकेमा कुनै पनि आपदाको पूर्वसूचना नागरिकहरूलाई दिएर जोखिमबाट बँचाउन सकिनेछ। डा.छेत्रीले जनाए अनुसार पहाडमा जाने पैह्रोलाई डिजास्टरकोरूपमा लिएको छैन। पैह्रोलाई डिजास्टरकोरूपमा लिनुपर्ने अनि डिजास्टर म्यानेजमेन्टको स्थायी युनिट पहाडमा बसाइनुपर्ने कुरालाई मोर्चाले धेर प्राथमिकता दिनेछ। तिनले महकुमा अधिकारीबाट लिएको जानकारी अनुसार अहिलेसम्म पीडब्ल्युडीको कुनै पनि क्षयक्षतिबारे कुनै पनि सूचना पाइएको छैन। तिनले आज नै 24 नम्बर समष्टीका क्षतिग्रस्त क्षेत्रहरूको निरीक्षण गरेको जनाउँदै 50 वटा ब्ल्याङ्‌केट, 70 वटा कुर्ता, 200 वटा तारपोलिन वितरण गरिएको जनाए। छोटा भालूखोपको पनि दौडाहा भएको अनि त्यहॉं पनि 100 वटा ब्ल्याङ्‌केट वितरण गरिएको तिनले जनाएका छन्‌। विधायकले अहिले क्षेत्रको भ्र्रमण चलिरहेको बताउँदै आफ्नो पक्षबाट मुख्यमन्त्रीलाई जानकारी दिएको जनाए। तिनले भने, मुख्यमन्त्रीले भुँइचालो आएपछि तत्कालै पीडित क्षेत्रको भ्रमण गरिन्‌। यस अघि बङ्गाली मुख्यमन्त्रीले भेदभावपूर्ण व्यवहार गर्र्थेे, तर तिनी बङ्गालको मुख्यमन्त्री हुन्‌। मुख्यमन्त्रीले आफै दौडाहा गरेकोले ठीक पीडितलाई सहुलियत पुर्‍याउन कोशिश गरिने पनि बताए।

मोर्चाले सासंद बोलाउने
पहुना सांसद आपातकालमा दिल्ली
कालेबुङ, 21 सितम्बर।
चारदिन अघि दार्जीलिङका सासंद जसवन्त सिंह आफ्नो संसदीय क्षेत्रमा त आए तर होटलबाट नै दिल्ली फर्किए। पहुना जस्तो आएका सांसद जसवन्त सिंह न त मीडियामा आए न त जनतामा छाए। जुन जनताले रेकर्ड भोट दिएर तिनलाई जिताए ती नै जनता जसवन्त सिंहको निम्ति भुसुना बराबर पनि रहेनन्‌। तिनी बिर्सिएको बेला पहाड आउँछन्‌ तर जनताले थाहा पाउँदैनन्‌। महङ्गो होटलमा बसेर केही गोर्खा जनमुक्ति मोर्चाका नेताहरूसित गुप्ति बैठक गरेर फर्कन बाहेक सांसदको काम अरू केही देखिएको छैन। आइलाको समयमा पनि तिनी अबेर गरेर पहाड आएका थिए। यसपल्ट संसारलाई नै राम्रै गरी थाहा भइसकेको भुइँचालोको आतङ्‌क दार्जीलिङका सांसद जसवन्त सिंहले थाहा पाएका छैनन्‌। तिनको मौनताले कुन कुराको संकेत दिइरहेको छ? भन्ने राजनैतिक विषयलाई परै राखेर दार्जीलिङको सांसद भएको नातामा आपातकालमा तिनको भूमिका के हुनुपर्ने भन्ने कुरा प्रमुख रहेको छ। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको कुरा उठाउन जिताएको सांसदले गोर्खाल्याण्ड त ल्याएन नै गोर्खाल्याण्डको साटो मोर्चाले जीटीएमा हस्ताक्षर गरेपछि सांसदले दार्जीलिङलाई लत्याइरहेको सबैले अनुभव गरेका छन्‌। केही दिन तिनी दार्जीलिङ त आए तर तिनले दार्जीलिङबासीको पीडालाई सम्बोधन गरेनन्‌। जनतालाई पत्तो नै नदिएपछि गोर्खा जनमुक्ति मोर्चालाई पनि आपातमा पारेको छ। सबैले मोर्चालाई नै दोष्याइरहेको बेला भुइँचालोले निम्ताएको आपातबाट सासंद बेखबर बन्नु लाजमर्दो बनेको छ। बङ्गालका मुख्य मन्त्री ममता व्यानर्जी त आए नै मालदाका सांसद मौसम नूर समेतले खरसाङको दौडाहा गरिसकेका छन्‌ तर पहाडका सांसदको कुनै अत्तोपत्तो छैन। दुःख लाग्दो कुरा त के देखिएको छ भने पहाडमा भुँइचालोले जोखिम पारेको कुरा सूचना पनि मोर्चाले दिनु परिरहेको छ। मोर्चाले सासंदलाई दार्जीलिङ बोलाउने भएको छ। आज मात्र कालेबुङमा देखापरेका विधायक डा.हर्कबहादुर छेत्रीले पनि यत्रो भइसक्दा पनि आफ्नो क्षेत्रको सासंद न आउनु दुखदायी रहेको जनाएका छन्‌। तिनले क्षेत्रको निरीक्षण गर्ने दायित्व सांसदको रहेको बताए। तिनले भने, सासंदलाई बोलाइने छ र क्षति भएको ठाउँमा घुमाइने छ।

पीडित क्षेत्र हेर्न आइपुगे वाम टोली
कालेबुङ, 21 सितम्बर।
हिजो मात्र मुख्यमन्त्री ममता व्यानर्जी भुँइचालोले पारेको क्षति हेर्न पहाड चडिन्‌। तर सबैभन्दा धेर क्षति पुर्‍याएको कालेबुङ महकुमामा भने आइनन्‌। तिनी नआएपनि आज पहिलोपल्ट दुर्घटनाको तीनदिनपछि कालेबुङका विधायक डा.हर्कहादुर छेत्रीले पीडित क्षेत्रको निरीक्षण गरे भने आज नै सातजनाको वामपन्थी टोली पनि कालेबुङ आइपुगे। टोलीमा सांसद अनि विधायकहरू सामेल थिए। उनीहरूमा राज्यसभा सांसद स्यामल चक्रवर्ती, मनोहर तिक्री, प्रवोध चन्द्रपाण्डा लगायत सिलगढी महकुमा परिषदका सभाधिपति पास्कल मिन्स, विधायक खगेन्द्र मुर्मु अनि गोविन्द रोय रहेका थिए। उनीहरूले कालेबुङ आइपुग्ने बित्तिकै कालेबुङ महकुमा अधिकारी एलएन शेर्पासित बैठक गरे। शेर्पाले उनीहरूलाई भुँइचालोले पारेको असरबारे सम्पूर्ण विवरण दिए। स्यामल चक्रवर्ती अनुसार दार्जीलिङ जिल्ला खतरामा रहेको जुलोजिकल सर्वेे अफ इण्डियाले बताइसकेको छ। यसकारण पहाडलाई जोखिमबाट बँचाउन सरकारीरूपले पहल हुन अनिवार्य छ। कालेबुङ प्रमुख भुँइचालो पीडित क्षेत्र रहेको बताउँदै तिनले पीडित क्षेत्रहरूको जायजा लिएर त्यसको रिपोर्ट केन्द्रमा बुझाउने बताए। तिनले भने, कालेबुङमा धेर जस्तो श्रमिक र कृषकहरू बस्छन्‌। जे जति पनि क्षति हुन्छ उनीहरूकै हुन्छ। यसकारण हाम्रो टोलीले ग्रामीण क्षेत्रमा रहेका पीडितहरूको रिपोर्ट लिनेछ। उनीहरूलाई सरकारद्वारा सहुलियत उपलब्ध गराउन विशेष पहल गरिने छ। यता महकुमा अधिकारीसित भेटघाट गरेर जानकारी लिए पनि रिपोर्ट चुडान्त नरहेको जनाएका छन्‌। मनोहर तिर्कीले कालेबुङमा पानीको मूल समस्या देखापरेको बताए। पानीको समस्या समाधान गर्न पनि आफूहरूको प्रयास रहने जनाएका छन्‌। उनीहरू कालेबुङ आपुगेपनि शहरको निकटवर्ती क्षेत्रहरुको मात्र दौडाहा गरे। यस सम्बन्धमा माकपा नेता तारा सुन्दासले वामपन्था टोलीले ग्रामीण क्षेत्रलाई नै प्रमुखता दिने जनाएका छन्‌। सुन्दासले भने, कालेबुङमा धेरै बिल्डिङहरू चर्किएको छ। गाउँ नै चर्किएको छ। चर्किएको बिल्डिङ र गाउँमा मानिसहरू बस्न उचित हुन्छ हुँदैन, यसबारे कसैले पनि ध्यान दिएका छैनन्‌। यसको निम्ति विषय विशेषज्ञहरू निम्त्याएर बस्न उचित नहुने ठाउँहरूको घोषणा गरिनुपर्छ। यस सम्बन्धमा पनि वामपन्थी टोलीले काम गर्ने छ।

400 राहत शिविर बसाइयो
कालेबुङ, 21 सितम्बर।
कालेबुङ महकुमा अधिकारी एलएन शेर्पाले जनाए अनुसार कालेबुङ महकुमाभरि नै पीडितहरूको निम्ति 400 सय राहत शिविर बसाइएको छ। तर पीडितहरू अनुसार शिविर बसाइए पनि राहत सामाग्रीहरू पूर्णरूपले बहाली हुन सकेको छैन। जानकारी अनिसार कालेबुङमा मोठ 64 वटा गाउँलाई भुइँचालोले क्षति पुर्‍याएको छ। खण्ड 1,2 अनि तीनमा नै धेर असर गरेको जनाकारी पाइएको छ। पीडित गाउँका मानिसहरूलाई सुरक्षित ठाउँमा त सारिएको छ तर उनीहरूलाई उपलब्ध गराइनुपर्ने राहत नआइपुगेकोले क्षेत्रक्षेत्रमा नै समस्या उत्पन्न भएको छ। महकुमा कार्यालयबाट राहत सामानन्तर गर्ने प्रयास जारी रहेको बताइएको छ। अहिलेसम्म जति पनि क्षयक्षतिको रिपोर्ट महकुमा कार्यालयमा आइपुगेको छ, त्यसबाहेक पनि धेरै नै क्षति महकुमा भरि रहेको छ। जानकारी पाइए अनुसार कालेबुङमा मोठ 21 हजार 128 जना भुँइचालोबाट पीडित बनेका छन्‌ भने यसमा 1464 घर पूर्णरूपले क्षतिग्रस्त छन्‌। अर्ध क्षतिग्रस्त घरहरूको संख्या अनगन्ती रहेको छ। माकपा नेता तारा सुन्दासले बसाइएको चार सय राहत शिविर भनेको अस्थायी समाधान मात्र हो। राहत शिविरमा उनीहरू कतिदिन बस्न सक्छन्‌? निश्चित छैन। एकातिर दशैंै र तिहार पनि नजिक छ। यस्तोमा राहत शिविरमा कोही पनि पीडित धेरै दिन बस्न सक्दैनन्‌। यसकारण अहिलेदेखि नै उनीहरूको पुनर्वास र स्थायी समाधानको निम्ति पहल गरिनुपर्छ।

जेल मन्त्री कालेबुङ जेलमा
कालेबुङ, 21 सितम्बर।
जेलमन्त्री सङ्‌कर चक्रवर्ती सॉंझमा कालेबुङ आइपुगे। उत्तरबङ्गालका शंसोधनागृहहरूको भ्रमण गर्दै तिनी आज कालेबुङ आइपुगेका हुन्‌। तिनीसित कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीपनि साथमा थिए। कालेबुङ आइपुग्ने बित्ति कै तिनले कालेबुङ शंसोधनागृहको निरीक्षण गरे। तिनले जनाए अनुसार भुइँचालोले कालेबुङको शंसोधनागृहलाई पनि व्यापक क्षति पारेको छ। क्षति भएका ठाउँहरूको निरीक्षण गरें। पीडब्ल्युडीले यसको मरम्मतीको काम गर्ने छ। भुइँचालोको कारण कालेबुङ आउने मन्त्री उनी नै प्रथम हुन्‌। तिनी केवल शंसोधनागृह मात्र हेर्न आएको बताउँदै कसैले कुनै पनि ठाउँको क्षयक्षतिबारे जानकारी दिए निकायमा राख्ने पनि जनाए। यता मोर्चाको पक्षबाट डा. हर्कबहादुर छेत्रीले बताए अनुसार कालेबुङको शंसोधनागृह वृटिशकालीन हो। यसकारण यसलाई पूननिर्माण गरिएको राम्रो हुनेछ। यस सम्बन्धमा मन्त्रीलाई अवगत गराइएको छ। मन्त्री चक्रवर्तीले यस शंसोधनागृहलाई नयॉं गरी बनाउनुपर्ने सम्बन्धमा सोंचिने बताएका छन्‌।

गोरूबथानका पीडितहरूलाई त्राण शिविरमा सारियो
कालेबुङ, 21 सितम्बर।
गोरूबथानका चारवटा गाउँका भुँइचालो पीडितहरूलाई चारवटा त्राण शिविरमा सारिएको छ। भुँइचालोले कोलबोङ, शेर्पा गॉंउ, कालिखोला अनि सुनार गाउँलाई जोखिममा पारेको थियो। यी क्षेत्र व्यापकरूपमा चर्किएकोले गॉंउमा बस्न नसकिने भएपछि उनीहरूलाई त्राण शिविरमा सारिएको हो। उनीहरूलाई कोलबोङ प्राथमिक पाठशाला, शेर्पा गाउँ प्राथमिक पाठशाला, छोटा फागु चियाबारी अनि कालिखोला क्लब घरमा राखिएको छ। जम्मै क्षेत्रमा जम्मा 71 वटा घर पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने 191 वटा घरलाई आंशिक क्षति पुर्‍याएको छ। मोठ 445 जना पीडितहरूलाई त्राण शिविरमा सारिए पनि त्यहॉं त्राण सामाग्री आइपुगेको छैन। गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय कमिटी सदस्य चन्द्र योञ्जनले जनाए अनुसार त्राण शिविरमा सारिएका पीडितहरूको निम्ति खाने कुरा छैन। आज दिउँसोसम्म पनि राहत सामाग्री नआएपछि बीडीओसित सम्पर्क गरियो तर बीडीओले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएपछि महकुमा अधिकारीलाई सम्पर्क गरेर राहत सामाग्रीबारे सोध खोज गर्दा शेर्पा गॉंउमा दुइबोरा चामल ल्याएको चन्द्र योञ्जनले जनाएका छन्‌। तिनले भने, चामल मात्र पीडितहरूले कसरी खाने? अन्य सामाग्री नआए यहॉंका पीडितहरूलाई नितान्तै असुविधा हुने छ। तिनले भने, आजको दिन भने मोर्चाका विभिन्न शाखाहरूले खानेे कुराको बन्दोबस्त गरिदिएको छ। यस सम्बन्धमा खण्ड त्राण अधिकारी टीटी भोटियासित जान्न चहॉंदा तिनले यस सम्बन्धमा अच्च अधिकारीसम्म रिकुजिशन पठाइएको बताएका छन्‌। तिनले हिजो शेर्पा गॉंउमा एक कुइण्टल अनि 36 सय रुपियॉं, पोक्रेबुङमा एक कुइण्टल चामल अनि 45 सय रुपियॉं 80 वटा तारपोलिन, 70 वटा कम्बल अनि छोटा फागुमा 150 वटा कम्बल,100 धोती अनि 280 वटा तारपोलिन बितरण गरिएको पनि जनाएका छन्‌।

0 comments: on "6.8 रेक्टर स्केलबाट कालेबुङलाई 52 करोडको क्षति"