मुख्य समाचार :


ममताले तक्निकीय भूललाई हतियार बनाएर मोर्चालाई छल गर्दै छ-विमल

सरोकारका विशेष प्रतिनिधि
कालेबुङ,18 मार्च।
जीटीएको सम्झौतामा भएको प्राविधिक गल्तीलाई ममता व्यानर्जीले हतियारकोरुपमा प्रयोग गरेर मोर्चालाई प्रहार गरिरहेको छ-धेरैदिनपछि मुख खोल्दै अचानक विमल गुरूङले मङ्‌पूूमा यसो भनेर सरकारको आलोचना गरेका छन्‌।
कानून अनुसार नै चुनाउ हुने अडान ममता व्यानर्जीले राखेपछि चेपारोमा परेको मोर्चाले मङ्‌पूमा आज गरेको केन्द्रिय कमिटीको बैठकपछि विमल गुरूङले ममता व्यानर्जीप्रति आफ्नो मनदुख खोले। तिनले भने, तराई डुवर्स बिना जीटीएको चुनाव कल्पनासम्म नगरे हुन्छ  जीटीए थापेको नै सिमानाको निम्ति हो,  यदि तराई डुवर्स अन्तरभुक्त नभए के को निम्ति जीटीए? यो प्रश्न मोर्चाको निम्ति करोडौंको प्रश्न बनेको छ। किन भने तराई र डुवर्सको अन्तरभुक्ति बिना मोर्चाले जीटीएको चुनाउ गरे आजसम्मको मोर्चाको आन्दोलनको कुनै अर्थ रहने छैन। विमल गुरूङले सोझो आरोप लगाउँदै भने, सम्झौतामा जीटीएको चुनाउ र सीमाङ्‌कन संगसंगै हुन्छ भनेर लेखेेको कुरालाई लिएर ममता व्यानर्जीले मोर्चालाई घात गरिरहेको छ। योे प्रावधिक गल्तिलाई हतियार बनाएर राज्य र केन्द्र सरकारले हामीलाई छल गर्न खोज्दैछ। जीटीए सम्झौता गर्दा नै मलाई सरकारको नियतमा शंका लागेको थियो। मलाई जुन कुरा मन पर्दैन सरकारले त्यही गर्न खोज्दैछ।  जीटीएले राष्ट्रपतिको अनुमोदन पाएपछि यसको अधिसूचना जारी गर्न अघि मोर्चालाई केही सोधेन।  जीटीए र यसको चुनाउको अधिसुचना अलग अलग जारी हुनुपर्थ्यो तर यसो भएन। विमल गुरूङले दलको चुडान्त निर्णयलाई स्पष्ट राखे, जबसम्म तराई र डुवर्सको अन्तरभुक्ति हुँदैन, जीटीएको चुनाउ हुने छैन।

राज्यसभा चुनाउ मोर्चाद्वारा बहिष्कार
मोर्चाले राज्यसभा चुनाउ बहिष्कार गरिदिएको छ। जब कि तृणमूल कंग्रेसले मोर्चाका चार विधायकहरूको मत तेस्रो उम्मेद्वारको निम्ति आशा गरेको छ। मङपूमा विमल गुरूङले भने, चार विधायकहरू विधानसभा जाने छैन, जबसम्म तराई र डुवर्सको अन्तरभुक्ति हुँदैन। 30 मार्चमा हुने राज्यसभा चुनाउलाई पनि मोर्चाले बहिष्कार गरेको छ। तृणमूल कंग्रेसलाई मोर्चाको दाबी मान्न बाध्य पार्न मोर्चाले ठीक समयमा ठीक बल फ्यॉंकेको छ। पश्चिम बङ्गाल राज्यसभाको पॉंचवटा आशनमा छन्‌। विधायक संख्याको हिसाबले तृणमूल कंग्रेसका 3 र वाममोर्चाका एकजना प्रार्थी  सहजै राज्यसभाको निम्ति निर्वाचित हुन सक्छन्‌। खेल चौथो आसनलाई लिएर छ। चौथो प्रार्थीलाई निर्वाचित गर्नको निम्ति तृणमूल कंग्रेसलाई 49 मतको आवश्यकता पर्ने छ। तीन प्रार्थीलाई निर्वाचित गरिसकेपछि तृणमूलसित विधायकहरूको संख्या 38 मात्र रहनेछ, जो कंग्रेसको विधायक संख्याभन्दा कम्ति हो। समस्या यहीँ छ तृणमूल कंग्रेसलाई। आफ्नो दलको विधायक संख्या कम्ति भएकोले तृणमूल कंग्रेसलाई मोर्चाका चार विधायकहरूको आवश्यकता पर्छ। ममता व्यानर्जीले मोर्चाबाट चार विधायकको मतको आशा पनि गरेकी छन्‌। मोर्चाले राज्यसभा चुनाउ बहिष्कार गरिदिएपछि चौथो आसनमा तृणमूलको हार निश्चित रहनेछ। चौथो आशन कंग्रेसको हुनेछ। जहॉं कम्जोरी त्यहीँ हिर्काउने राजनीति मोर्चाले गरेको छ तर यसको प्रभाव पनि तृणमूललाई कति पर्ने हो निश्चित छैन। एउटा राज्यसभाको निम्ति तृणमूल कंग्रेसले तराई र डुवर्स छोड्‌ने हो कि? मोर्चाको दाबी मान्ने हो कि? समस्या जति देखिँदैछ मोर्चाको अघि।

लाचार विमल
मङपूमा विमलले भनिरहेका थिए, म सपनामा पनि तराई डुवर्स सम्झन्छु। हाम्रो नानीहरुले निधारमा गोली थापेको यही तराई डुवर्सको निम्ति हो।  सिमानाको निम्ति हो। तराई डुवर्स बिना नै चुनाउ गराएर ममता व्यानर्जीले  पहाड र तराई-डुवर्स बीचको सम्बन्धलाई टुटाउन खोजेको छ। हामीले तराई डुवर्स छोड्‌नको निम्ति सम्झौता गरेको होइनौं। विमल गुरूङले यसरी भनिरहेका थिए कि तिनलाई केवल राज्य सरकारको मात्र भूल आँखामा आइरहेको थियो। विमल गुरूङले रोशन गिरीले नपढी वा स्टडी फोरमले स्टडी नगरी मोर्चाबाट हस्ताक्षर भइसकेको कुराको जिकिरसम्म गरेनन्‌। बुँदामा स्पष्ट थियो ‘जीटीएको चुनाउ र सीमाङ्‌कनको कार्य समानन्तररुपले चल्ने छ।’ यसैमा मोर्चाले हस्ताक्षर गर्नु भनेको जीटीएको चुनाउ हुँदै गर्छ सीमाङ्‌कन पनि हुँदैगर्छ भन्ने कुरा मान्नु हो। यसैमा राष्ट्रपतिले अनुमोदन गरिदिएका छन्‌। अहिले जीटीए कानून बनिएको छ। ममता व्यानर्जीले त्यही कानूनको आधारमा तक्निकीयरुपले जीटीएको चुनाउ कालेबुङ, दार्जीलिङ अनि खरसाङमा हुनुपर्छ भनेर मोर्चाको टोलीलाई कोलकाताबाट रित्तो हात फर्काइदिएकी हुन्‌। तर विमल गुरूङ भने ममता व्यानर्जीलाई नै दोष्याइरहेका थिए। तिनले मोर्चाले गरेको गुणको साटो घात गरेको त बताइरहेका थिए नै तर तिनलाई जीटीएको कानून (जीटीएको चुनाउ तीन महकुमालाई नै लिएर हुने)मा आफ्नो महासचिवले हस्ताक्षर गरेको कुरा भने सम्झिरहेका थिएनन्‌। तिनले ममताले भूल गरेको देखिरहेका थिए तर तिनको महासचिव रोशन गिरी अनि स्टडी फोरमले गरेको भूल देखिरहेका थिएनन्‌। यसैलाई हेर्दा विमल गुरूङ कति लाचार छन्‌ भन्ने कुरा छर्लङ्ग भएको छ। तिनले भनेनन्‌, किन रोशन गिरीले कागज नपढी हस्ताक्षर गरे? मेरो स्टडी फोरमको बुद्दिले किन यो कुरा बुझेन? किन भने मोर्चाको आजको दशा त्यही हस्ताक्षरको कारण भइरहेको छ।

  ममतासित विमलको दुखमन
मुख्य मन्त्री पहाड आउँदै रिबिन काट्दै फर्किएको पनि मोर्चा प्रमुख विमल गुरूङलाई ठीक लागेको छैन। त्यो त भयो भयो तिनकै सामु ‘बङ्गभङ्ग होबेना’ भनेको पनि तिनलाई मन परेको थिएन रहेछ। धेरै दिनपछि तिनको मौैन राजनीति काम नलागेेपछि आज मुख खोल्दै तिनले यो कुरा बताएका हुन्‌। तिनले भने, हाम्रै अघि थुप्रै चोटि ‘बङ्ग भङ्ग होबेना’ भन्यो। हाम्रो मन त्यो बेला पनि पनि दुखेको थियो। तर हामीले सह्यौ  विपक्षीहरुले हामीलाई विभिन्न आरोप लगायो। त्यो बेला पनि हामीले मन बॉंधेर बस्यौं।  त्यो सबै हामीले जीटीएमा तराई डुवर्स गाभिन्छ भनेर नै सहेका थियौं। हामीले दिएको सम्मानको साटो मुख्यमन्त्री ममता व्यानर्जीले हाम्रै टाउकोमा टेकेर राज्य सभाको एमपी पनि चुँडाएर लग्यो। गुरुङको यस्तो दुखमन निक्कै सुन्न लायक यसकारण थियो कि तिनी कुनै नानी जस्तै बर्बराई रहेका थिए।

विधायकहरूलाई विमलले दिए छुट्टी
तिनले  राज्य सभामा गोर्खा एम पी पठाउने पुरानो परम्परालाई तोडेर तृणमूल नेत्री ममता व्यानर्जीलेे ‘गोर्खाहरुको अस्तित्व संकटमा पारेको’ भन्न पनि गुरूङ चुकेनन्‌। सधैँजस्तो तिनी गर्जिए, राज्य सभा सांसदको चुडान्त निर्णय नभएसम्म आफ्नो चार जना एमएलएहरुले राज्य सभामा  पाइला टेक्ने छैनन्‌। तिनले विधायकहरूलाई एकै चुट्‌कीमा छुट्टी दिए। तिनी गर्जिए,  मैले विधायकहरूलाई विधान सभामा लुकी चोरी खेल्न जिताएर पठाएको होइन।

विमलले नचलाउने जीटीए
तराई र डुवर्सको समस्या देखाएर मोर्चाले एउटा गोटी चालेको थियो। तराई र डुवर्सको सीमाङ्‌कन चुडान्त नभइञ्जेल मनोनित सदस्यबाट जीटीए चलाउने। तर यो प्रस्तावलाई ममता व्यानर्जीले बाहिरबाहिर नै टक्टकाइदिएकी थिइन्‌। यस्तो सम्झौतामा लेखेको छैन-ममता व्यानर्जीको जवाब मोर्चाको गोटीलाई यस्तो थियो। आज विमल गुरूङले यसबारेमा पनि भने, मनोनित सदस्यहरुले पनि जीटीए चलाउँदैन। मोर्चाको मनोनित बडीले पनि तीन वटा महाकुमालाई लिएर बनेको जीटीए चलाउने छैन। त्यो जीटीए चलाउँछ भने सरकारले नै चलाओस।  मोर्चाले जीटीए चलाउँछ भने तराई डुवर्ससितैको जीटीए चलाउँछ। यदि  सरकारलाई चुनाउ गर्ने हतार नै छ भने पञ्चायत चुनाव गराउँदा हुन्छ। तर त्यो पनि त्रिस्तरीय हुनुपर्छ।

जीटीए आन्दोलनको घोषणा
तराई डुवर्सलाई लिएर भावी रणनीतिहरुको घोषण गर्दै मोर्चा अध्यक्ष विमल गुरूङलेे सरकारलाई दिएको 27 अप्रेलको अल्टिमेटम यथावत नै रहेको बताए।  तर त्यो अल्टिमेटम ‘तराई र डुवर्सको अन्तरभुक्ति पछि मात्र जीटीएको चुनाउ हुनुपर्छ’ भएको छ। आज पनि जीटीए आन्दोलनको घोषणा गर्दै विमल गुरूङले भने, 7 अप्रेलमा  डुवर्सको लागि दार्जीलिङबाट पदयात्रा शुरु हुनेछ। यसमा मोर्चाका केन्द्रिय नेतृत्वदेखि भातृ संगठनका प्रतिनिधिहरु पनि सामेल हुनेछन्‌।  18 अप्रेल डुवर्सको नगरकट्टामा मोर्चा एंव जोन बारला पन्थीलाई लिएर विराट जनसभा  हुनेछ। 21 अप्रेल नगरकट्टाबाट पुन: कलकत्ताको निम्ति पदयात्रा शुरु हुनेछ।

तराई डुवर्सको निम्ती मोर्चाले मुखको गॉंस छोड्यो
यता मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले अबको आन्दोलन निर्णायक हुने बताउँदै डुवर्सको आन्दोलन सफल हुनमा डुवर्सबासीहरुको नै मुख्य भूमिका रहेको जनाए।   तिनले एउटा महत्वपूर्ण कुरा के गरे भने चुनाउ नभए जीटीए सम्झौता स्वत: रद्द हुनेछ। तिनले भने, यो कुरा जान्दा जान्दै पनि तराई डुवर्स कै लागि  चुनाउ बहिष्कार गर्ने निर्णय मोर्चाले लिएको छ। सचिव रोशन गिरीले अब तराई डुवर्सका कार्यकर्ताहरुले रात दिन एक बनाउनु पर्ने बताए।  तिनले हाइ पावर कमिटिको काम चॉंडो हुनपर्ने बताएका छन्‌। तिनले भने, तराई डुवर्स कै लागी मोर्चाले जितेको लडाई पनि दाउमा लगाएको छ।
आविप पूर्व नेता जोन बारलाले आगमी 22,23 र 24 मार्च मा प्रत्येक दिन गेट मिटिङ हुने घोषणा गरेका छन्‌। यता पहाडमा जस्तै प्रत्येक आइतबार जीटीएमा तराई डुवर्सको  निम्ति दबाउ दिन जुलूस र पथ सभाहरु गर्ने जानकारी पनि बारलाले दिएका छन्‌।

0 comments: on "ममताले तक्निकीय भूललाई हतियार बनाएर मोर्चालाई छल गर्दै छ-विमल"