मुख्य समाचार :


कालेबुङ प्रेस क्लबद्वारा 13 औं स्थापना दिवस पालन

कालेबुङ, 18 नोभेम्बर।
म आफै पनि अघि निर्भिक भएर लेख्थें जसरी अहिले कालेबुङका पत्रकारहरूले लेख्छन्‌। दार्जीलिङ पनि पत्रकारहरूको संस्था छैन जो कालेबुङमा छ। जुन धर्म कालेबुङ प्रेस क्लबले निभाइरहेको छ, त्योे सराहना गर्न योग्यको रहेको छ-कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले आफ्नो सम्बोधनमा भने। तिनी कालेबुङ प्रेस क्लबको 13 औं स्थापना दिवस समारोहलाई सम्बोधन गरिरहेका थिए। तिनले भने, क्लबले यसरी विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने खॉंचो किन पर्‍यो? यो बुझ्नुपर्ने विषय छ। प्रेस क्लब चहान्छ समाजका असल नागरिक र विशिष्ट व्यक्तिहरू जसले समाज निर्माणमा आफ्नो योगदान दिइरहेका छन्‌, उनीहरू समाजका उदाहरण हुन्‌ भनेर समाजलाई बुझाउन चहान्छन्‌। यसभित्र समाज निर्माण कै उद्देश्य लुकेको छ। प्रेस क्लब जो झोलामा संस्था बोकेर हिँड्‌छ, आफै चॉंही गरीब छ, उसले यसरी सम्मान र सम्वर्द्धना जनाउनु ठूलो उदाहरण हो। यस्ता संस्थाहरूलाई बँचाउन हुने खानेहरू अघि आउनुपर्छ। तिनले पत्रकारहरूले सही तथ्यलाई अघि ल्याउने बताउँदै कति सही कुरा अघि ल्याउँदा अथवा आलोचना गर्दा रिसाउनेहरू हुने पनि बताए। कोही बेला म पनि रिसाउँछु। जब कि एक समय म पनि यस्तै लेख्थें। राजनीतिमा लागेपछि मान्छेलाई यसरी परिवर्तन गराउँदो रहेछ-तिनले भने। तिनले एसेम्ब्लीमा आफूले कसरी कार्य गरिरहेको छ, त्यसलाई उदाहरण राख्दै पत्रकारहरूले सही ठाउँमा सही कुरा उठान गर्नुपर्ने बताए। रामकृष्ण रङ्गमञ्चमा आयोजित प्रेस क्लबको स्थापना कार्यक्रमलाई क्लबका अध्यक्ष अरूणकुमार रसाइलीले अध्यक्षता गरेका थिए भने मुख्य अतिथि डा. हर्कबहादुर छेत्री रहेका थिए। कालेबुङ प्रेस क्लबका सचिव अरुणकुमार राईले क्लबका रिपोर्ट वित्तचित्रद्वारा प्रस्तुत गरेका थिए। तिनले क्लबले अहिले कालिमन्युज नामक न्युज एजेन्सीको काम गरिरहेको अनि हेडलाइन एसएमएस, सूचनापटकोरूपमा डम्बर चोकमा स्क्रोलिङ मार्कि, दुइवटा अनलाईन न्युज साइट सञ्चालन गरिरहेको बताउँदै प्रेस क्लबको भवन एमपी ल्याडबाट पाइएको अनुदानबाट निर्माण भइरहेको पनि बताए। सीताराम काफ्लेद्वारा सञ्चालित कार्यक्रममा यसपल्टको कालेबुङ रत्न पुरस्कार परिधान श्रृङ्गारसित नै सामाजिक योगदान पुर्‍याउने बबिता घतानी धमलालाई प्रदान गर्‍यो। कार्यक्रममा बबिता घतानी धमलासित तिनको लोग्ने अजय धमला, पिता पीबी घतानी अनि माता राहेलमित घतानीको पनि उपस्थिति रहेको थियो। यसवर्षको एक्सलेन्स इन जर्नलिज्मले भिडियो पत्रकार मनोज राईलाई सम्मान गर्‍यो। यस बाहेक पनि अंग्रेजी माध्यमको विद्यालय स्थापना गरेर शिक्षासित नै व्यवसायको अवधारणाको विकास गर्ने टडलर्स तथा सप्तश्री ज्ञानपीठका निर्देशिका स्व. ललिता प्रधानलाई मरणोप्रान्त एक्सेलेन्स इन एडुकेशनले सम्मान जनायो। ललिता प्रधानको यसै वर्ष देहान्त भएको थियो भने तिनकोे सम्मान ग्रहण गर्न तिनका लोग्ने तथा वर्तमान सप्तश्री ज्ञानपिठका निर्देशक तपन प्रधान उपस्थित थिए। यसैबीच शिक्षाको क्षेत्रमा 125 वर्षको योगदान दिने कालेबुङको एसयुएमआईलाई पनि सम्वर्धना प्रदान गरियो। शिक्षाविद् पीआर प्रधानलाई कालेबुङ प्रेस क्लबले प्रशस्तिपत्र अनि स्मृति चिन्ह प्रदान गर्ने सम्मान जनायो। कार्यक्रममा जाइन लेप्चा, मनोज वोगटी, गोरूबथानका पत्रकार रुद्र कार्की, कथाकार सञ्जय विष्ट अनि पत्रकार डीके वाइवाले पुरस्कार प्रापकहरूको परिचय सम्बोधन राखेका थिए भने कार्यक्रमबीच क्लबको च्यानल दैनन्दिनीसित जोडिएर कार्य गरिरहेका सहयोगीहरूलाई पनि स्मृति चिह्न प्रदान गरिएको थियो।

0 comments: on "कालेबुङ प्रेस क्लबद्वारा 13 औं स्थापना दिवस पालन"