मुख्य समाचार :


मदन तामङ हत्याकाण्ड सरकारले सहयोग गरिरहेको छैन-लिग



मनोज वोगटी
कालेबुङ, 17 नोभेम्बर।
गोर्खालिग नेता मदन तामङको हत्या सम्बन्धमा अहिले जॉंच पढ्‌तालको कार्यलाई नितान्तै धीमा गरिएको थाहा लागेको छ। गोर्खालिग महासचिव प्रताप खाती अनुसार यस मामिलामा सीबीआईलाई बङ्गाल सरकारले सहयोग गरिरहेको छैन। 21 मईको दिन दार्जीलिङको क्लब साइडमा मदन तामङको दिउँसै निर्मम हत्या भएको थियो। अझसम्म पनि हत्या कसले गरेको हो भन्ने कुरा बङ्गाल सरकारको पुलिस प्रशासनले खोजी निकाल्न सकेको छैन। अहिलेसम्म नै दार्जीलिङमा भएको राजनैतिक हत्याहरूको हत्याराहरूको पक्राउ पुलिस प्रशासनले गरेको छैन। दार्जीलिङमा हुने हत्याको मामिलामा न त सीआईडी नै काम लागेको छ न त सीबीआई नै। अहिलेसम्मका राजनैतिक हत्याहरूको मामिलामा लगाइएका सीआईडी र सीबीआई राजनैतिकरुपले आँखामा धुलो हाल्ने सरकारी षडयन्त्र नै रहेको पीडितहरूको गुनासो रहेको छ। गोरामुमो कालमा भएको यस्तै ठूला नेताहरूको हत्याहरूको मामिलामा न त सीआईडीले न त सीबीआईले नै हत्याराहरूसम्म पुगेर देखाएको छ। जब पनि हत्या हिंसाको आन्दोलनपछि सरकारसित मिलेर जनताको आकांक्षा विरद्धको व्यवस्था ग्रहण गर्ने काम हुन्छ तब नै हत्याराहरू खोजी निकाल्न प्रशासन पक्षको असफलता देखापरेको छ। गोर्खालिग नेतृ भारती तामङले सरकारले हत्याराहरूसित मिलेर हत्यारा पक्राउ गर्नमा निष्क्रियता देखाएको आरोप बारम्बार लगाउँदै आइरहेकी छन्‌। तिनले स्पष्ट भनेकी छन्‌, मदन तामङको हत्या राजनैतिक आकांक्षाको निम्ति गरिएको थियो किन भने मदन तामङ छुट्टैराज्य बाहेकको कुनै पनि व्यवस्थाको विरोधी थिए।
तिनले भनेका थिए कि गोर्खा जनमुक्ति मोर्चाले अर्को दागोपाप थापिरहेको छ। त्यसबेला कसैले पनि पत्याएनन्‌ तर तिनको भविष्यवाणी सही निस्कियो। गोर्खालिग महासचिव प्रताप खातीको भनाइ अनुसार वास्तवमा गोर्खा जनमुक्ति मोर्चाकै नेताहरूले मदन तामङले भनेकै दागोपाप थाप्नको निम्ति मदन तामङको हत्या गरेको हो। तर सरकारले उनीहरूसित नै हात मिलाएको छ। सरकारले हात हत्यारासित नै मिलाउँछ किन भने हत्याराहरूको दलले छुट्टैराज्यको मुद्दा बेचिसकेको छ। मुद्दा बेचेकोले नै सरकारले मोर्चालाई पैसा, पावर र चौकी दिएर फेरि पहाडमा अर्को घिसिङ र घिसिङ्गिय सत्ता स्थापना गरिरहेको छ। तिनले भने, जनताको छुट्टैराज्यको मुद्दा हत्यासित साट्‌ने मोर्चालाई सरकारले गोर्खाल्याण्डको आवाज दबाउनैको निम्ति स्थापित गरिरहेको छ।
 जनताले यो भित्रको राजनीति बुझेको छैन तर कुनै न कुनै दिन जनताले वास्तविकता थाहा पाउँछ नै, कुनै न कुनै दिन हत्याराहरूलाई पक्राउ गर्न सरकार बाध्य हुन्छ नै, हामी भारत सरकारको न्यायपालिकालाई विश्वास गरेर बसेका छौं। गोर्खालिगले मदन तामङको हत्याराहरूको सूचीमा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, विनय तामङ, आशा गुरूङ तथा अन्यको नाम प्राथमिकीमा उल्लेख गरेको छ।
 खातीले भने, कुनै पनि हत्याको मामिलामा प्राथमिकीमा जसको नाम छ उसको पहिला जॉंच हुनुपर्ने , तर यसो भएन। हामीलाई लाग्छ, निकोल भागउनुमा पनि गतिलो नाटक भएको छ। गोर्खालिगले आफ्नो अडान स्पष्ट के पारेको छ भने हत्या गोर्खा जनमुक्तिले नै गरेको हो। हत्या सम्बन्धमा जुन डिजिटल फाइल राज्यका मुख्यमन्त्रीसित छ, त्यसलाई ममता व्यानर्जीले आफ्नो हातमा लिएर मोर्चालाई छुट्टैराज्यको आवाज दबाउँदै जनताको विरुद्धमा फेरि अर्को दागोपाप स्थापना गर्न बाध्य गराएको छ। तिनले भने, वास्तवमा विमल गुरूङ मदन तामङको काउण्टर नेताकोरुपमा केन्द्र र राज्यका गोर्खाल्याण्ड विरोधी नेताहरूले स्थापित गरेका हुन्‌। किन भने राज्य र केन्द्रका नेताहरूलाई थाहा थियो कि मदन तामङ छुट्टै राज्य बाहेक कुनै पनि कुरामा सम्झौता गर्ने वृत्तिका मान्छे होइनन्‌। यसैकारण तिनको काउण्टर नेताको रुपमा विमल गुरूङलाई स्थापित गरिएको हो। यसै कारण नै आन्दोलनलाई जनपीडक बनाइयो।
 जनतालाई सास्ती दिइएपछि विकासको कुरा उठाउने बाटो बनाइयो। जनतालाई केही कुरा थाहा छैन, तर सधैँ जनता अबोध भएर बस्ने छैन। तिनले अझ भने, जनताले थाहा गर्नुपर्छ, मदन तामङले मोर्चाले दागोपाप थाप्दैछ भनेर मदन तामङले नै भनेका हुन्‌ अनि त्यसको उत्तरमा विमल गुरूङले दागोपाप होइन दागोपाप भन्दा ठूलो हो भनेका थिए। त्यतिबेला मोर्चाले जनतालाई छुट्टैराज्यको आन्दोलन गरिरहेको भनेको थियो तर सम्झौता भने दागोपापको निम्ति भइसकेको थियो। यो कुरा मदन तामङले नभनेको भए उहिल्यै मोर्चाले दागोपाप थापिसक्ने थियो। मोर्चालाई मदन तामङले सॉंचो कुरा अघि ल्याएपछि जनताको सामु लाज बचाउनु साह्रो पर्‍यो अनि त्यसको फलस्वरुप मदन तामङको हत्या गरियो। गोर्खालिगले गोर्खा जनमुक्ति मोर्चालाई बारम्बार दोष लगाए पनि पुलिस वा सीबीआईले भने यो कुरालाई प्रमाणित गरेको छैन। जबसम्म कानूनीरुपले मोर्चाका नेताहरूलाई दोषी पाइन्न तबसम्म आधिकारिकरुपले उनीहरूलाई हत्या गरेको केवल आरोप मात्र लगाउन सकिन्छ दाबी गर्न सकिन्न। तर जुन पुलिस प्रशासन वा सीबीआईले हत्या सम्बन्धमा जॉंच गरिरहेको छ, त्यसको उन्नति सबैको सामू छर्लङ्ग नै छ। सीबीआईले निकोल तामाङ नेपालमा रहेको अनि परिवारसित कुराकानी भइरहेको कुरा सार्वजनिक गरेको थियो तर निकोलको परिवारले सीबीआईले झुटो बोलिरहेको स्पष्ट पार्‍यो। अहिलेसम्म नै नेपाल छ भनिएको निकोललाई सीबीआईले खोजी निकाल्न सकेको छैन। खाती अनुसार सीबीआईले काम गरिरहेको छ तर सरकारको सहयोग सीबीआईलाई छैन। तिनले जनाए अनुसार इण्डिन एक्सप्रेसले प्रकाशित गरेको मदन हत्याकाण्डको अवधी मोर्चाका नेताहरूले गरेको कुराकानीको डिजिटल फाइल अघिल्लो मुख्यमन्त्रीसित थियो तर सरकार परिवर्तन हुनसाथ त्यो फाइल ममता व्यानर्जीकोमा पुगेको छ। त्यो पाइल सीबीआईलाई दिइनुपर्ने हो तर दिइएको छैन। किन दिएको छैन, यही वास्तवमा गम्भीर प्रश्न हो। यता बङ्गालको पुलिसले पनि सीबीआईलाई सहयोग गरिरहेको छैन। यसै कारण नै जॉंच प्रक्रिया ढिलो भइरहेको छ। तर लीगलाई आशा अनि विश्वास छ कि हत्याराहरू कुनै न कुनै दिन पक्राउ पर्छ नै। यता अहिले मदन तामङको छोरा संयोगको हत्या गर्ने धम्कीपूर्ण आएको म्यासेज पनि निक्कै गम्भीर मुद्दा बनेको छ। यसभित्रको राजनैतिक चलखेलबारे गोर्खालिगले छानबिन गरिरहेको पनि थाहा लागेको छ।


जीना प्रधान हत्याकाण्ड
चुलिँदैछ विरोधको आवाज


मनोज वोगटी
कालेबुङ, 17 नोभेम्बर।
तीनदिन बित्यो जिना प्रधानका हत्याराहरूको अझसम्म सुइँको पाइएको छैन। शंका गरिएका अनि स्थानीय बासिन्दासित कालेबुङ पुलिसले सोधपुछको क्रम तीब्र पारेको छ। यता यस्तो अमानविय कृत्य गर्नेलाई कठोर दण्ड दिइनुपर्छ अनि पुलिस प्रशासनले जॉंच पड्‌ताललाई कठोर र तीब्र पार्नुपर्ने माग बढ्‌न थालेको छ। धेरैवर्ष अघि बोङबस्तीका एक बालिकालाई जङ्गलबीच लगेर बलात्कारपछि हत्या गरिएको घटना भएको देखिएको थियो। त्यस बालिकालाई बलात्कार गरेर हत्या गरिएको थियो किन भने कुहिसकेको बालिकाको शव नाङ्गो थियो। त्यस बालिकाको हत्यारा को थिए आजसम्म पत्तो लागेको छैन। त्यस्तै घटना पेदोङमा पनि भर्खर दोहोरियो। जीना प्रधानलाई अर्धनग्न अवस्थामा पाइएको थियो भने टाउकोमा गहिरो चोट थियो। क्षेत्रका मानिसहरूले जीनालाई पनि बलात्कार गरेपछि हत्या गरिएको अनुमान नै गरेका छन्‌। तर पुलिसले यस विषयमा आधिकारिकरुपले अहिले नै बताएको छैन। अहिले छानबिन चलिरहेको छ। यता युवतीको शवको फोरेन्सिक रिपोर्ट पनि आइपुगेको छैन। जुनरुपले जीनाको निर्मम हत्या गरियो यसले भने स्थानीय युवतीहरू मात्र होइन कालेबुङका छोरी चेली नै असुरक्षित रहेको जुल्बोले बताएको छ। जुल्बोका अध्यक्ष डीबी प्रधानले भने, जीनाको हत्या निर्ममरुपले गरिएको छ। तिनका हत्याराको पक्राउ शीघ्र हुनुपर्छ। यसको निम्ति कालेबुङ पुलिसले सक्रियरुपले हत्याराको खोजी गर्नुपर्छ। तिनले अझ भने, पेदोङवासीले पनि हत्यारा खोजी निकाल्न भरपुर सहयोग गर्नुपर्छ। जीनाको हत्याले कालेबुङमा नै चेलीहरू असुरक्षित रहेको प्रमाणित भएको भन्दै तिनले भने, हत्यारा जो पनि होस्‌, पेदोङमा नै लुकेर बसेको हुनसक्छ। हत्यारा खोजी निकाल्न कुनै कसर बॉंकी राखिनु हुँदैन। तिनले जुल्बोले कालेबुङ पुलिसलाई सातादिनको समय दिएको बताउँदै अझ भने, साता दिनमा पनि हत्यारा खोजी निकालेन भने जुल्बोले कालेबुङ थाना घेराउ गर्ने छ। केवल जुल्बो मात्र होइन पेदोङवासीको पनि भनाइ यही नै रहेको छ। हिजो जीनाको शवयात्रा जुलूसमा परिवर्तन हुनुपरेको थियो। उनीहरूको भनाइ अनुसार हत्यारालाई कठोर दण्ड दिइनुपर्छ अनि हत्यारा खोजी निकाल्नुपर्छ। जुल्बोका अध्यक्ष प्रधानले भने अनुसार जुन चेलीमाथि यस्तो कुकर्म गरेर हत्या गरियो, यसको विरुद्धमा नारी मोर्चा सक्रियरुपले अघि आउनुपर्छ। हत्यारालाई भाग्न दिनु हुँदैन। गतिलै सञ्जाल बनाएर हत्यारा पक्राउमा सहयोग गर्नुपर्छ, किन भने यो घटना केवल जीनासित मात्र होइन कुनै पनि चेलीसित फेरि पनि घट्‌न सक्छ। यता कालेबुङ पुलिस प्रशासनलाई चाप दिँदै पेदोङ अनि कालेबुङमा  इण्डियन क्याथलिक युथ मुभमेन्ट दार्जीलिङ सिक्किम युनिटले व्यापक पोष्टरिङ गरेको छ। घटनाप्रति भर्त्सना जनाउँदै यो सङ्गठनले न्यायिक जॉंचको माग गरेको छ।


तारा सुन्दासको चेतावनी
'नियम तोड्‌नेलाई म न्यायलमा उभ्याउने छु'


कालेबुङ, 17 नोभेम्बर।
माकपा नेता तारा सुन्दासले कालेबुङ महाविद्यालयमा  पुस्तकालय निर्माणको निम्ति सरकारबाट आएको राशि कलेज सञ्चालन समितिले कुनै टेण्डर नगरी नै यतिका दिनसम्म राखेको विवादलाई अझ चर्काएका छन्‌। तिनले आज एक पत्रकार सम्मेलन डाक्दै महा विद्यालयपक्षबाट दिएको स्पष्टिकरणको खण्डन गरे। सुन्दासले सरकारबाट कालेबुङ महाविद्यालयको पुस्तकालयको निम्ति आएको राशि कलेज सञ्चालन समितिले  टेण्डर नै नगरी कलेजको खातामा राखेर सुद खाएको आरोप लगाएको थिए। तिनले भनेका थिए, सरकारबाट आएको राशिलाई शीघ्र नै कार्यान्वयनमा ल्याइनुपर्छ। राशिलाई कार्यान्वयमा ल्याउनको निम्ति तिनले शीग्र नै टेण्डर गर्नु पर्ने पनि जनाएका थिए। तिनले भनेका थिए, यदि बिना टेण्डर पैसा प्रयोग गरे सञ्चालन समिताका सचिव अनि अध्यक्षलाई अदालतमा उभ्याउने छु। सुन्दासको यस्तो चेतावनीपछि महाविद्याय सञ्चालन समिति अनि कलेजका प्राध्यापक डा. आर पी ढकालले  सरकारबाट आएको राशि कलेजको सञ्चालन समितिले प्रयोग नगरेर बिल्डिङ निर्माण समितिले प्रयोग गर्ने बताएका थिए। तिनले भनेका थिए,  यसको पुरा लेखा जोखा रहने छ।  यो विद्यार्थीहरुको निम्ति आएको राशि हो, यसलाई सही उपयोग गरिने छ। तिनको स्पष्टीकरणलाई  खण्डन गर्दै आज तारा सुन्दासले भने, महाविद्यालयले सरकारी राशि नियम अनुरुप प्रयोग गर्न चाहिरहेको छैन। महाविद्यालयले सरकारी राशिमा आफू खुशी गरिरहेको छ। म आज पनि चेतावनी दिन्छु यदि नियम अनुसार राशिको प्रयोग गरेन भने म यससित सम्बन्धित सबैलाई न्यायलयमा उभ्याउने छु। विद्यार्थीहरूको निम्ति आएको राशि राख्न हुँदैन, यसको प्रयोग हुनुपर्छ। सरकारी राशिलाई कसैले पनि बिना टेण्डर प्रयोग गर्न नपाउँने नियम रहेको छ। यसलाई महाविद्यालयले ख्याल गरोस्‌। मैले नियमलाई पालन गर भनिरहेको छु। नियमलाई पालन गर्दा के हुन्छ? कसलाई असुविधा छ? विद्यार्थीहरूको निम्ति आएको राशिलाई कतिपयले व्यक्तिगत कामको निम्ति खर्च गरिरहेको समेत आरोप लगाएका छन्‌।तिनले भने, यसको प्रमाण दिनुपरे मसित छ। प्रमाण दिएको दिन कसैलाई असुविधा नहोस्‌। न्यायलयमा जाकिने मन भए नियमलाई तोड्‌दै व्यक्तिगत खर्चमा पैसाको प्रयोग गर्दा हुन्छ। तर विद्यालय जस्तो गरिमामय क्षेत्रमा रहेकाहरुले यस्तो निकृष्ट काम नगरेको राम्रो हो। आइपरेको खण्डमा म प्रमाण देखाउने छु।


परियारले झुटो बोलिरहेका छन्‌-खाती

कालेबुङ, 17 नोभेम्बर।
कालेबुङ नगरपालिकाका पूर्वघोषित अध्यक्ष एलबी परियारले झुटो बोलिरहेको आरोप गोर्खालिग महासचिव प्रताप खातीले लगाएका छन्‌। गोर्खालिगको महकुमा अध्यक्ष त्रिभुवन राईले चुनाउ आयुक्तलाई पत्र लेख्दै एलबी परियार दार्जीलिङ शिक्षा पर्षदका अध्यक्ष रहेको अनि तिनलाई सरकारी अधिसूचना जारी गरेर अध्यक्षको पद्मा नियुक्त गरेको बताउँदै सरकारी वेतनभोगी परियारले नगरपालिकाको चुनाउमा भागीदारी बन्नु चुनाउ आयोगको आचार संहिताको विरुद्धमा रहेको बताएका थिए। तिनले शीघ्र नै परियारको उम्मेदारिता खारेज हुनुपर्ने माग पनि आयोगसित गरेका थिए। तर त्यसको जवाबमा एलबी परियारले  आफू शिक्षा पर्दषका नितान्तै अस्थायी समितिका अध्यक्ष रहेको मात्र होइन तिनले सरकारी वेतन नखाएको समेत स्पष्टिकरण दिएका थिए।
 परियारको तिनै स्पष्टिकरणमाथि प्रतिक्रिया गर्दै गोर्खालिग महासचिव खातीले परियारले झुटो बोलेको दाबी गरेका छन्‌।
 तिनले भने, परियारलाई सरकारी नोटिफिकेशन जारी गरेर पर्षदको अध्यक्ष पदमा नियुक्ति गरिएको हो।
 तिनले वेतन खाएका हुन्‌। यसको प्रमाण मसित छ। परियारले वेतन खाएको मात्र होइन टीएडीए पनि लाखौं खाएका हुन्‌। यदि परियारले होइन भनेर प्रमाणित गर्छन्‌ भने म राजनीतिबाट नै सन्यास लिन्छु।
तर सही हो भने के परियारले पनि राजनीति छोड्‌छ? यस सम्बन्धमा परियारसित कुनै सम्पर्क गर्न सकिएन तर तिनले अघिबाट नै यस मामिलामा आफू चोखो रहेको दाबी गरेका छन्‌।
तिनले खातीले लगाएको आरोपलाई सोझै खण्डन गर्दै वेतन नखाएको नै स्पष्टिकरण दिएका थिए।


कालेबुङ नगरपालिका मोर्चाको हातमा
मोर्चाले विजय जुलूस निकाल्ने


कालेबुङ, 17 नोभेम्बर।
कालेबुङ नगरपालिका गोर्खा जनमुक्तिको हातमा गएको छ। नगरपालिका चुनाउमा कसैले पनि मोर्चालाई टक्कर गरेन। मोर्चाको विजय निर्विरोध भएको छ। पहिलोपल्ट नगरपालिका चुनाउको इतिहासमा विपक्ष चुनाउ नलडेको घटना बनेको छ। यस अघि गोरामुमोको वर्चस्वको बेलामा पनि विपक्षले चुनाउमा भाग लिएको थियो तर यसपल्ट मोर्चाका उम्मेदवारहरूसित प्रतिद्वन्द्विता कसैले गरेन। विपक्षले अगणतान्त्रिक परिस्थिति रहेको कारण नै चुनाउ नलडेको बताएको  छ।
 यता मोर्चा शिविरमा भने रौनक छाएको छ। मृदुला सुब्बा बाहेक कालेबुङ नगरपालिकामा सबै नयॉं अनुहार हुन्‌।
 नगरपालिका अध्यक्ष समेत नै नयॉं अनुहार हुन्‌। यस अघि पनि मोर्चाको हातमा नगरपालिका गएको थियो। त्यसबेला नोर्देन लामा नगराध्यक्ष थिए भने उपाध्यक्ष बिजय सुन्दास थिए।
यसपालि उनीहरूलाई मौका दिइएन। जो पनि नगरपालिकाका उम्मेदवार भए सबै नै राजनीतिमा उति सक्रिय अनुहारहरू होइनन्‌। यद्धपि मोर्चासित भने शुरूदेखि नै आवद्ध रहेर आन्दोलनमा जोडिएका हुन्‌।
आज उनीहरूलाई लिएर मोर्चाको कालेबुङ महकुमा समितिले एक बैठक गर्‍यो। वैठकमा मोर्चा कालेबुङका महासचिव शुभ प्रधान लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति थियो।
 वैठकमा उम्मेदवारहरूलाई नगरपालिकामा धेरैवटा जिम्मेवारी रहेको बताइयो।मुख्यगरी ट्राफिकको समस्या, डम्पिङ अनि स्ट्याण्डको समस्यामा उनीहरूलाई ध्यान केन्द्रित गराइएको छ। कालेबुङ नगरको प्रमुख समस्या भने डम्पिङ रहेको छ।
 यता प्रचार प्रसार सचिव कुमार चामलिङले भोलि नगरपालिकामा मोर्चाको निर्विरोध बिजयको अवसरमा नगरमा विजय जुलूस निकाल्ने बताएका छन्‌। जुलूसमा नगरवासीलाई सहभागीको निम्ति अपील गरिएको छ। 

0 comments: on "मदन तामङ हत्याकाण्ड सरकारले सहयोग गरिरहेको छैन-लिग"