मुख्य समाचार :


पहाडमा गणतन्त्र कि अगणतन्त्र?

कालेबुङ, 16 नोभेम्बर।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले भन्यो, जुन पहाडमा एक राजनैतिक नेता मदन तामङको दिउँसै हत्या भयो, अनि हत्याराहरूलाई पक्राउ गरिएको छैन, यस्तो अवस्थामा चुनाउ हुनु पहाडमा गणतन्त्र रहेको घोषणा गर्नु हो। तर वास्तविकता हत्या र हत्यारा पक्राउ नपर्नु हो। हत्या हुनु र हत्यारालाई पक्राउ नगरेर हत्याको आरोप लागेको दल र नेताहरूले चुनाउ गर भन्नसाथ चुनाउ गर्नु सरकारले हत्याराको साथ दिनु हो। उपयुक्त परिवेश नरहेको कारण क्रामाकपाले विधान सभा चुनाउ पनि लडेन अनि नगरपालिका चुनाउ पनि लडेन। गोर्खालिगको भनाइ पनि त्यही छ, जसको नाममा प्राथमिकी दर्ता गरिएको छ, उसैलाई लिएर सरकारले चुनाउ गराउनु पहाडको गणतन्त्रमाथि खेलवाड गर्नु हो। लीगले भने अनुसार पहाडमा केवल मदन तामङको मात्र होइन कालेबुङ र बिजनबारीमा पनि हत्या गरिएको अनि यसबारे प्रशासन र सरकार दुवै मौन बस्नु अनि हत्या गर्नेलाई मात्र सरकारले प्रमुखता दिनु पहाडको गणतन्त्रको हनन्‌ हो। यता कंग्रेसको भनाइ छ, जुन आकांक्षाको निम्ति नगरपालिका अनि पञ्चायत चुनाउ रोकिएको थियो, त्यही पुरा नभइ पुरानै व्यवस्था(दागोपाप) अन्तर्गत भइरहेको चुनाउमा किन उठ्‌ने? मूल जनाआकांक्षालाई दबाउँदै चुनाउ भइरहेको छ। यसमा सहभागी हुने प्रश्न उठ्‌दैन। माकपाले भनेको छ, पहाडमा गणतान्त्रिक परिस्थिति छैन। एउटा दलको हैकम छ। त्यसलाई बङ्गाल सरकारले प्रोत्साहित गरिरहेको छ। यस्तोमा चुनाउको कुरा गर्नु अगणतान्त्रिक हो। गोरामुमोका  अध्यक्ष सुवास घिसिङले पनि त्यही भने, पहाडमा एउटा दलको हैकम छ। तानाशाह छ। कुनै पनि दललाई स्वतन्त्ररुपले राजनीति गर्ने परिस्थिति छैन। कुनै यस्तो दल छैन, जसले पहाडमा गणतन्त्र छ भनोस्‌। केवल एउटै दल छ, त्यो हो गोर्खा जनमुक्ति मोर्चा। यो त्यही मोर्चा हो जसले गोर्खाल्याण्ड राज्यको मुद्दा टिपेर पहाडमा आफ्नो वर्चस्व कायम गर्‍यो। प्रारम्भिक उद्देश्यबाट कोशौं टाडो पुगिसकेको मोर्चाको दाबी छ, पहाडमा जनसमर्थित र जनप्रिय दल भनेको नै गोर्खा जनमुक्ति मोर्चा हो। मोर्चा खराब दल भएको भए जनता साथ रहने थिएन। ती जनता जो मोर्चामा छन्‌, उनीहरूले नै छुट्टैराज्य होइन जीटीए भए पनि पुग्छ भने पछि मोर्चाले जनताले भने अनुसारको व्यवस्थामा हस्ताक्षर गरिसकेको छ। स्पष्ट छ कि दार्जीलिङ पहाडमा रहेका मोर्चा समर्थित जनता छुट्टैराज्यको पक्षमा छैनन्‌। यो कुरालाई कंग्रेसले यसरी व्याख्या गरेको छ, जनता छुट्टैराज्य अथवा युटीसम्मको कुरा चहाने भएदेखि विधानसभा चुनाउमा कंग्रेसलाई समर्थन गर्ने थियो। तर जनताले गोर्खाल्याण्ड राज्य नै नभए पनि युटीसम्म पुगेको कंग्रेसलाई समर्थन नगरेर जीटीएलाई गर्‍यो। यसै पनि केन्द्रले पहाडमा गोर्खा जनमुक्ति मोर्चा भनेर चिन्दैन। पहाडलाई भाजपा भनेर चिन्छ किन भने दार्जीलिङका सांसद भाजपाका हुन्‌। मोर्चाले जे पनि भन्छ, त्यसलाई जनताको समर्थन छ, चाहे त्यो जति नै नराम्रो र हानिकारक किन नहोस्‌। विपक्षका दलहरूले जति नै राम्रो कुरा गरोस्‌, उनीहरूलाई जनताले पत्तो दिइरहेको छैन। जनताकोे साथ नभएका यी दलहरूले तर मोर्चाको आलोचना गर्न कहिल्यै भुलेको छैन। जनताले साथ दिएको मोर्चाले चुनाउ लड्‌दा भने पहाडमा गणतन्त्र हुनु र त्यही पहाडमा विपक्षले चुनाउ नलड्‌नुको कारण गणतन्त्र नभएको बताउनु के निक्कै गम्भीर कुरा नै हो? मदन तामङको हत्या मोर्चाका नेताहरूले गरेको आरोप गोर्खालीग, क्रामाकपा पिपल्स फोरम र अन्य दलहरूको छ। मोर्चाले त्यसको जवाबमा सबैको जवाब पुलिस र सीबीआईले दिन्छ भनेको छ। जॉंचको रिपोर्टले मोर्चाका नेताहरूलाई दोषी नै देखाएको छैन। न त सीबीआई जॉंच नै तीब्र गरिएको छ न त मोर्चाका केन्द्रिय नेता निकोल तामङलाई नै भेटिएको छ। नाटकीय ढङ्गमा हराएका निकोल अब निस्कने हो होइनन्‌, त्यो पुलिस र प्रशासनको कुरा हो तर गोर्खालिगले त्यही जॉंच गरिरहेको पुलिस प्रशासन र सीबीआईलाई नै जसको नाममा प्राथमिकी दर्ता गरिएको छ, उनीहरूलाई अहिलेसम्म सोधपुछ नै नगरेको आरोप लगाएको छ। यता हत्याकाण्डको डिजिटल फाइल ममताले आफ्नो कब्जामा लिएको अनि त्यो सीबीआईलाई नै नदिएको आरोप लगाउने गोर्खालिगले विमल गुरूङ अनि तिनका नेताहरूलाई बँचाउन नै यस्तो चलखेल गरिएको आरोप लगाइरहेको छ। यस्तो परिस्थितिमा विपक्षले उठाइरहेको सवाललाई अनदेखा गर्न मिल्छ? भन्ने प्रश्न अहिले उठिरहेको छ। हत्या त भएको नै हो अनि यसबारे भइरहेको चलखेल पनि धेरजसो मानिसहरूलाई थाहा रहेकोले  पहाडमा गणतन्त्र नरहेको विपक्षको मुद्दा निक्कै नै बलियो देखापरेको छ। यता मोर्चाले चुनाउ लडेर अनि निर्विरोध जित्ने स्थितिमा पुगेर पनि पहाडमा गणतन्त्र नरहेको अनि एउटै पार्टीको हैकम रहेको कुरालाई नै प्रमाणित गरेको पिपल्स फोरमको दाबी पनि छ।

0 comments: on "पहाडमा गणतन्त्र कि अगणतन्त्र?"