मुख्य समाचार :


एरोविकमा लाचुङ्‌पा

कालेबुङ, 17 नोभेम्बर।
सिक्किमका पूर्व बन मन्त्री थुकचुक लाचुङ्‌पा कुनै राजनैतिक मुद्दा लिएर होइनन्‌, एरोविक-माथि शिविर हाल्ने कुरा लिएर कालेबुङ आइपुगेका थिए। लाचुङ्‌पाको कुरा सुन्दा यस्तो लागिरहेको थियो कि तिनी कुनै राजनैतिक नेता होइनन बरु योगा सिकाउने कुनै योग गुरू हुन्‌। किन भने तिनी आज कालेबुङ दुःख निवारक सम्मेलनले जम्मा गरेका मानिसहरूलाई  स्वास्थ्य सम्बन्धमा तिनले 40 वर्षमा अविष्कार गरेको योग जस्तै कुनै व्ययामको कुरा गरिरहेका थिए। तिनले भने, 40 वर्षको अनुभवपछि मैले धेरै पुस्तकहरू पढेर, धेरै योग गुरूहरुसित भेटेर, यस्तो कसरतको सूत्र निकालेको छु, त्यो अहिलेसम्मकै चर्चित कसरत श्रेणीमा पर्दैन। नितान्तै नौलो र उपयुक्त यो कसरतको अभ्यास मैले नेपाल. सिक्किम, पश्चिम जर्मनतिर गराइसकेको छु। अब यसको विस्तारणको पहलमा जुटिरहेको छु। कालेबुङका जनताले मलाई सेवा गर्ने मौका दिन्छ भन्ने विश्वास गरेको छु। लाचुङ्‌पाले कुनै विषयमा होइन स्वास्थ्य सम्बन्धमा कालेबुङका बुजुर्गहरूलाई भनिरहेका थिए, मलाई हेर्नुहोस्‌, 65 वर्ष पुगें। तर मलाई त्यत्तिको वृद्ध देख्दैन। यसको राज मसित छ। म त्यही राजलाई तपाईँहरूमा बॉंड्‌न चहान्छु। सिक्किमको राजनीतिमा निक्कै दह्रोरुपले चिनिने मात्र होइन सिक्किममा मन्त्री पद खाइसकेका थुकचुक लाचुङ्‌पाले कालेबुङ दुःख निवारक सम्मेलन भवनमा थुप्रिएका बुढापाका अनि तन्नेरीहरूसमेतलाई छक्क पारिरहेका थिए। तिनले भने, अहिले कसैलाई करोड रुपियॉं दिइयो भने, तिनले सबै भन्दा पहिले घर, गाडी, विदेश भ्रमणको सूची तयार पार्छ तर आफ्नो स्वास्थ्यको निम्ति एकपल पनि सोंच्दैनन्‌। म उनीहरूलाई स्वास्थ्य सम्बन्धमा धेरै टिप्स दिन चहान्छु। व्यस्त नगरीका व्यस्त मानिसहरूलाई सजिलो भन्दा सजिलोमा , धेरै भन्दा धेरै स्वास्थ्य लाभ हुने कसरतको अविष्कार गरेको छु। स्वास्थ्य समाजको निर्माण गर्नको निम्ति स्वस्थ हुनु पहिलो अनिवार्यता हो। तिनले यसको निम्ति कालेबुङमा शिविर हाल्ने समेत बताउँदै भने, मेला ग्राउण्डमा यसको निम्ति धेरै दिनसम्म शिविर लगाउन मलाई सहयोग गर्नुहोस्‌। तपाईँहरूले कालेबुङबासीलाई शिविरमा बोलाइदिनोस्‌, म उनीहरूलाई स्वस्थ रहने सूत्र प्रदान गर्ने छु। तिनले दाबी नै गरे, प्रेसर र डायविटिज 6 महिनामा  निको हुने छ। छालाको रोग, हड्डीको रोग तथा सम्पूर्ण रोगहरूको निवारकणको निम्ति मेरो अविष्कार उत्तम कसरत रहने छ। तिनले कालेबुङमा जमीन किनेर कसरत शिविर नै स्थायीरुपले बनाउन चाहेको मात्र होइन, यस शिविरमार्फत वेरोजगारहरूलाई रोजगारको अवसर निर्माण गर्न उत्सुक रहेको पनि यस दिन बताए।

0 comments: on "एरोविकमा लाचुङ्‌पा"