मुख्य समाचार :


जीना प्रधान हत्याकाण्ड हत्याराहरूको सुइको पाइएको छैन

कालेबुङ, 16 नोभेम्बर।
पेदोङको तोपखानाकी जीना प्रधान सॉंझमा काम विशेषले बाहिर निस्किएकी थिइन्‌ तर तिनी घर फर्किनन्‌। तिनलाई अस्तव्यस्त अवस्थामा खोल्सामा भेटियो। तिनको शरीरका लूगाहरू च्यातिएको थियोे भने तिनको शरीरभरि चोटहरू थियो। घाइते अवस्थामा तिनलाई खेत छेउको खोल्सामा भेटिएपछि तत्कालै कालेबुङ अस्पताल ल्याइयो तर तिनी अस्पताल त आइपुगिन्‌ तर मृतरुपमा। यो घटना अहिले सबैको चर्चाको केन्द्रविन्दु बनेको छ। तिनको शरीरमा च्यातिएका लुगाहरूले तिनीसित दुष्कर्म भएको स्पष्ट पारिरहेको थियो। तिनको अस्तव्यस्त शरीरलाई हेरेर जो कोहीले पनि दुष्कर्मपछि कुनै कुराले हिर्काएर हत्या गर्न खोजिएको स्पष्टसित अनुमान गर्न सक्थे। यो घटनाले अहिले चारैतिक सनसनी त मच्चाइरहेको नै छ, हत्याराप्रतिको आक्रोश पनि तीब्र बनिरहेको छ। जीना सेन्ट जेभयर्स दामसाङ साक्योङ चर्चकी संयोजिका थिइन्‌। जतिबेला घटना भयो त्यसको केही अगि मात्र तिनी दूध लिन गएकी थिइन्‌। पेदोङमा सामाजिक कार्यकर्ताकोरुपमा चिनिएकी जीनाको हत्या यसरी होला भनेर कसैले पनि विश्वास गर्न सकेका छैनन्‌। मिलनसार मात्र होइन सामाजिक सेवामा डट्‌ने जीनालाई झोडामा अर्धनग्न अवस्थामा पाइएदेखि नै क्षेत्रमा सनसनी फैलिएको थियो। मानिसहरू तिनलाई घाइते अनि अर्धनग्न अवस्थामा भेटेपछि नै आक्रोशित बनेका थिए। आज तिनको अन्तिम संस्कारको दिन थियो। तर तिनको मलामी जुलूसमा रुपान्तर भयो। मलामी सबै आक्रोशित थिए। प्रशासनले हत्यारालाई शीघ्र नै पक्राउ गर्नुपर्ने माग मलामी जुलूसले गरिरहेको थियो। तोपखानास्थित जीनाको घरदेखि नै निस्किएको जुलूसले जीनाको शवलाई नगर परिक्रमा गरायो। उनीहरू भन्न चहान्थे, जीनाको ज्यानलिने राक्षसलाई पक्राउ गर्न सबैले सहयोग गरौं। किन भने जुन क्षेत्रमा घटना भयो, त्यहॉंका मानिसहरुको शंका अनुसार जीनालाई अँध्यारोको फाइदा उठाएर तिनको बलात्कार गरियो अनि जीनाले उनीहरूको कुकर्म पर्दाफास गर्ने डरले जीनालाई प्राणघातक आक्रमण गरियो। जसले पनि जीनामाथि यस्तो कुकर्म गरे तिनलाई थाहा थियो कि जीना सामाजिक कार्यकर्ता हुन्‌ अनि तिनी चुपो लागेर बस्ने छैनन्‌। जीनाको टाउकोमा गहिरोे चोट पाइएको थियो। पोष्टमर्टमपछि तिनको शव परिवारलाई सुम्पिइएपछि आज तिनको अन्तिम संस्कार गरिएको थियो। मलामी जुलूसमा रुपान्तर भएपछि पेदोङ गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधि विनोद प्रधानको अगुवाईमा पुलिस चेक पोष्ट मार्फत कालेबुङ थानामा ज्ञापन चढाएको छ। ज्ञापनमा शीघ्र नै हत्याराको खोजी गरिनुपर्ने माग गरिएको छ। यता हिस सोसियल वेलफेयर सोसाइटीका सामाजिक कार्यकर्ता युडेन भोटियाले नारीहरू असुरक्षित रहेको कुरा प्रमाणित भएको जनाइन्‌। तिनले आफ्ना छोरीहरूको सुरक्षाको निम्ति अभिभावकहरू सचेत हुनुपर्ने बताउँदा हत्यारा खोजिनिकाल्न सबैको सहयोग हुनुपर्ने बताइन्‌। यस घटनाको कारण पेदोङमा पुलिस चेक पोष्ट होइन थाना नै हुनुपर्ने माग पनि उठेको छ। घटना हुने वित्तिकै खबर पाएर पुगेको कालेबुङ पुलिस टोलीले जॉंच कार्य सक्रिय गरेको छ। घटनाको चुरोसम्म पुग्न सबैको सहयोग चाहिने थानाको भनाइ रहेको छ। यता पेदोङमा घटनाप्रति संवेदना राख्दै हत्यारा पक्राउ गरिनुपर्ने मागमा व्यापक पोष्टरिङ देखापरेको छ। अहिलेसम्म सिलगढीमा जीनाको शवलाई लिएर गरिएको फोरेन्सिक रिपोर्ट अघि आएको छैन भने पोष्टमर्टमको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन। पुलिस प्रशासनले हत्यारासम्म पुग्न अनेकौं विधि अप्नाउने भएको छ।

0 comments: on "जीना प्रधान हत्याकाण्ड हत्याराहरूको सुइको पाइएको छैन"