मुख्य समाचार :


फेरि गोरामुमो झैं गोजमुमोको अधीनमा नगरपालिका

कालेबुङ, 11 नोभेम्बर।
पहाडमा फेरि पुरानै इतिहास दोहोरिने देखिएको छ। एक समय थियो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पहाडमा शक्तिमान पार्टी थियो। एउटै पार्टीको बोलाबाला थियो। त्यसै कारण नै पहाडमा गोरामुमोले मनमानीपूर्ण शासन चलाएको सबैले  अनुभव गरे। एउटै मात्र पार्टी रहेको कारण दलीय हैकम र दादागिरी पनि उत्तिकै थियो। जसले पार्टीको विरोधमा कार्य गर्‍यो उसलाई पार्टीबाट मात्र निकालिएन धेरै गोरामुमो नेताहरूको हत्या पनि गरियो। छुट्टैराज्यको नाम गरेर स्थापित गोरामुमोले अन्तमा दागोपाप ग्रहण गर्‍यो। दागोपापबाट नै दलीय अस्तित्व कायम गर्न धेरै प्रकारका जुक्तिहरू लागू गरियो, त्यसमा सबैभन्दा प्रभावी अस्थायी कर्मचारी रहेको थियो। वर्षेनी ठेकेदारी नीतिमा दागोपापका विभिन्न विभागहरूमा नियुक्ति गरेर नियुक्त उम्मेद्वार अनि तिनका परिवारले कुनै बेला पार्टी विरोधी कार्य गरेको खण्डमा तिनलाई नोकरीबाट बेदखल गरिने नीतिको विकास गरिएको थियो। प्रत्येक ग्राम पञ्चायत अनि नगरपालिका क्षेत्रमा पनि कसैले पार्टीको नीतिको विरोध हुने कार्य गर्नेहरूलाई 'भिक्टिमाइज्ड' गर्ने संस्कारको विकास गरिएको थियो। जतैबाट पनि जनतालाई बाध्यतामा पारेर पार्टी चलाउने नीति गोरामुमोमा रहेको अनि जनताको आकांक्षा विरोधी कार्य गर्दै नेताहरूले मनोपोली गरेको कारण नै गोरामुमोको पतन भएको सबैलाई थाहा छ। ग्रामपञ्चायत अनि नगरपालिकामा एकक्षत्र शासन गरेर भ्रष्टचार गर्ने पार्टीकोरुपमा गोरामुमोको नाम चर्चामा रहेको छ। यता गोर्खा जनमुक्ति मोर्चाले पनि गोर्खाल्याण्डको निम्ति जनता बटुलेर अन्तमा दागोपाप झैं व्यवस्था जीटीएमा हस्ताक्षर गरेको छ। मोर्चा अहिले छुट्टैराज्य होइन पहाडको विकास गर्नतिर उन्मुख रहेको छ। जीटीए गठनमा विभिन्न बाधा र असुविधाहरू देखिए पनि मोर्चाले गरेको माग अनुसार पहाडमा अहिले नगरपालिका चुनाउको प्रक्रिया शुरू भइरहेको छ। मोर्चाले नै स्थगित गरेको नगरपालिका चुनाउ मोर्चाले नै गरिरहेको छ। दार्जीलिङ जिल्लामा दलीय अस्तित्वलाई बलियो गर्नको निम्ति मोर्चाले नगरपालिकालाई आफ्नो हातमा लिने प्रक्रिया शुरू गरेको छ।
 अन्य दलहरूले पहाडमा चुनाउको माहौल नरहेको बताइरहेको छ। ती दलहरूले पहाडमा गणतन्त्र नरहेको भन्दै चुनाउमा अंशग्रहण नगर्ने प्राय स्पष्ट भइसकेको छ। यता मोर्चाले भने चारैवटा नगरपालिकामा आफ्ना उम्मेद्वारहरू छनौट गर्ने कार्य आज समाप्त गरेको छ। नगरपालिकाद्वारा मोर्चा नगरक्षेत्रको विकास गर्न चहान्छ। आज कालेबुङमा उम्मेवार छनौट गर्नेक्रममा मोर्चा अध्यक्ष बिमल गुरूङले भने, नगरपालिका चुनाउपछि जीटीएको चुनाउ हुने छ। अब नगरपालिकालाई बङ्गालले होइन जीटीएले नै हेर्नेछ। जीटीएले नै नगरपालिकालाई फण्डिङ गर्ने छ। यसैबीच तिनले पहाडमा जीटीएको चुनाउपछि त्रिस्तरीय ग्राम पञ्चायतको चुनाउ हुने पनि बताए। नगरपालिकालाई सहीरुप सञ्चालन गर्नको निम्ति कालेबुङ नगरपालिकामा पूर्व आईएस एलबी परियारलाई नगराध्यक्ष बनाउने मोर्चाले तय गरिसकेको छ। मोर्चाको कसरत अनुसार नगरपालिकामा केवल मोर्चाका पार्षदहरु रहनेछन्‌। गुरूङले भने,  नगरपार्षदहरूलाई मुङ्‌ग्रो झुणाउनको निम्ति वार्डवार्डमा मोर्चाका प्रशाखाहरूबाट दुइदुइजना प्रतिनिधिहरू मिलाएर एउटा डेभललोपमेन्ट बोर्ड गठन गरिने पनि विमल गुरूङले जनाएका छन्‌। सोही वोर्डले गरेको निर्णय अनुसार नगरपार्षदहरूले नगरको विकास गर्नेछन्‌। यदि जनाकांक्षा र बोर्डको आकांक्षा विरोधमा कुनै पनि पार्षदले कार्य गरे पार्षदको पद् मोर्चाले खारेज गर्ने सम्मको चनौति मोर्चाले दिएको छ। जुन जुन वार्डबाट निर्दलीय उम्मेद्वार खडा हुन्छ उसलाई पार्टीले बोर्डमा सामेल नगर्ने धम्की पनि दिएको छ। मोर्चाको यसप्रकारको नीतिको कारण केवल मोर्चाले तोकेका उम्मेद्वारहरूले मात्र नगरपालिका चुनाउ लड्‌ने छन्‌। यस हिसाबले नगरपालिकामा केवल मोर्चाकै पार्षदहरूबीच बोर्ड गठन गरिने छ अनि नगरपालिकामा मोर्चाले शासन गर्ने छ। गोरामुमोले जस्तै गोजमुमोले पनि नगरपालिकालाई  कब्जा गर्ने देखिएको छ भने अब हुने सबै चुनाउमा मोर्चाले नै दखल गर्ने पनि विधानसभा अनि नगरपालिका चुनाउले स्पष्ट पारेको छ।

0 comments: on "फेरि गोरामुमो झैं गोजमुमोको अधीनमा नगरपालिका"