मुख्य समाचार :


नगरपालिका धेर लामो नजाने विमल गुरूङको घोषणा

कालेबुङ, 11 नोभेम्बर।
मोर्चाले जिल्लाका चारैवटा नगरपालिका समष्टीमा बिजयको पताका हल्लाउने प्रक्रिया शुरू गरिसकेको छ। आज कालेबुङमा  उम्मेद्वारहरूको छनोट गर्ने प्रक्रिया  समाप्त गरेको छ। मोर्चाले नगरपालिकामा विकासको कामलाई पारदर्शी अनि प्रभावकारी बनाउन नै उम्मेद्वारहरूको छनौटलाई गणतान्त्रिकरुप दिएको छ। सबैको सम्मतिमा नै मोर्चा अध्यक्ष विमल गुरूङले कालेबुङमा उम्मेद्वारहरूको छनौट गरे। तिनले उम्मेद्वार छनौट अवधी नगरपालिकामा अहिले मोर्चाले उम्मेद्वारहरू खडा गरेर नगरपालिका बोर्ड मोर्चाको पक्षमा गठन गर्ने भए पनि नगरपालिका कुनै पनि बेला खारेज गर्न सकिने संकेत पनि दिए। तिनले भने,नगरपालिका चुनाउ छ महिना पनि जान्छ जॉंदैन, म भन्न सक्दिन। धेर गयो भने डेडवर्षसम्म नगरपालिका चल्ला। म कुनै पनि समय नगरपालिका विघटन गर्न सक्छु। किनभने मोर्चाको आन्दोलन सकिएको छैन। तिनले मोर्चाको अन्तिम लक्ष्य छुट्टैराज्य रहेको बताउँदै भने, जीटीएमा पनि मैले हस्ताक्षर गरेको छैन। सचिव रोशन गिरीले गरेका छन्‌। बङ्गाललाई मैले हात काटेर दिएको छैन। सचिवलाई हात काट्‌न लगाएको छु। कुनै पनि अप्ठ्यारो परेमा सचिवलाई पर्ने छ तर बँचाउने पनि म नै हुने छु।
 तिनले नगरपालिका चुनाउ लड्‌न तैछाड मैछाड गर्ने प्रतिद्वन्दीहरूको भीडलाई सम्बोधन गर्दै अझ भने, यो सानो चुनाउमा तानातानी भएको देख्दा जीटीए पनि व्यर्थै ग्रहण गरेछु जस्तो लाग्यो। चुनाउको निम्ति उम्मेद्वारहरूको छनौट गर्ने अनि वार्डका मोर्चा समर्थक लगायत उम्मेद्वारहरूलाई सम्बोधन गर्दै विमल गुरूङले घरिघरि सिब्सु काण्डको सम्झना सबैलाई गराइरहेका थिए। आन्दोलनको पहिलो उपहार जीटीए रहेको अनि त्यसपछि नगरपालिका चुनाउ रहेको भए पनि तराई डुवर्सको अन्तरभुक्तिपछि मात्र जीटीएको चुनाउ हुने तिनले बताए। जीटीएको चुनाउपछि नै त्रिस्तरीय ग्रामपञ्चायत चुनाउको पालो रहेको पनि तिनले बताए। अघि गोरामुमोले जसरी नगरपालिकालाई दूषित गर्ने कार्य गरे त्यो मोर्चाले दोहोर्‍याउन नहुने कुरा मात्र गुरूङले गरेनन्‌ गोरामुमोका पार्षदहरूले झैं भ्रष्टचारसमेत गर्न नहुने पनि बताए। तिनले गोरामुमोकालमा जसरी छत्र सुब्बा र सीके प्रधानलाई मिल्न दिएन, जसरी घिसिङले डिक्टेटरशीप देखाएको थियो मोर्चाले त्यस्तो कदापी गर्दैन। नगरपालिका चुनाउमा खडा हुन आएकाहरूलाई पनि तिनले भने, कसैको पनि सीट अजम्बरी छैन। गलत काम गरेको खण्डमा घर घेराउ हुन सक्छ। त्यसबेला मैले सीट छोड भन्दा छोड्‌नुपर्छ। नगरपालिका पार्षदहरूले भ्रष्टचार नगरोस्‌ भनेर नै प्रत्येक वार्डमा रहेका शाखाहरूबाट दुइदुइजनाका प्रतिनिधिहरू लिएर बोर्ड गठन गर्ने पनि गुरूङले बताए। तिनले भने, बोर्डले कुनै पनि गुनासो गरे पार्षदको पद् खारेज हुने छ अनि त्यहॉं अन्यलाई नै राखिने छ। तिनले भने, विकास गरेर देखाउनुपर्ने चुनौति मोर्चालाई छ। सबैले नै इमान्दाररुपले काम गरेको हुनुपर्छ। तिनले भाइबन्दीलाई कसैले पश्रय दिन नहुने बताउँदै दार्जीलिङमा आफन्तले टिकट माग्दा पनि यही दाग नलागोस्‌ भनेर टिकट नदिएको बताए। मोर्चाले नगरपालिकामा महिलाहरूलाई धेर प्राथमिकता दिएको छ। मोर्चापक्षबाट बताइए अनुसार 60 प्रतिशत सीट महिलाहरूको निम्ति आरक्षित गरिएको छ। यसपालि नगरपालिका चुनाउमा धेरै नै नयॉं अनुहारहरू देखापरेका छन्‌। गुरूङले कालेबुङ नगरपालिकाको क्षेत्र सानो रहेकोले यसलाई वृद्धि गरेर अझ तीनवटा वार्ड थप्ने योजना रहेको भए पनि अचानक चुनाउ गर्नु परेकोले सम्भव नभएको बताए। अर्कोतिर जतिले पनि टिकट पाए उनीहरूलाई नै जनताले समर्थन गर्नुपर्ने बताउँदै गुरूङले भने, यदि कुनै पनि उम्मेद्वारले टिकट नपाएपछि स्वतन्त्र लड्‌न चहान्छ भने पनि त्यो तिनको इच्छा हो तर जसले पनि यसो गर्छन्‌ तिनलाई पार्टीबाट निलम्बित गरिने छ अनि नगरपालिकाको बोर्डले पनि स्वीकार गर्ने छैन। मोर्चाको यस्तो निर्णयले के स्पष्ट पार्छ भने कुनै पनि उम्मेद्वार मोर्चामा नै बस्न चहान्छ उ चुप लागेर बस्न बाहेक अर्को विकल्प छैन यदि चुनाउ लडेर जिते पनि स्वतन्त्र उम्मेद्वार मात्र रहने छन्‌, जसलाई मोर्चाले पार्टी बाहिर गर्ने छ।

0 comments: on "नगरपालिका धेर लामो नजाने विमल गुरूङको घोषणा"