मुख्य समाचार :


पुरस्कार र सम्मानमा होम्मिनेहरू.....


छड्‌केदृष्टि-1

- मिस्टर जीटीए 'छद्मश्री'

समाजमा उ बॉंच्छ जो आफूलाई बचाउन सक्छ। विज्ञानअनुसार सर्भाइभल अफ द फिट्टेस्ट। जिसकी लाठी उसकी भैंस - हरू बॉंच्छन्‌। अझ अङ्‌ग्रेजीमा भनिने माइट इज राइट पनि कता-कता हुन्छ फिट। बट वाट इज इट?

कुरा गरूँ - पुरस्कार र सम्मानहरूको जो हाम्रा साहित्यकार र कलाकारहरूले बङ्‌गाल सरकारबाट थाप्न थालेका छन्‌ वा त भविष्यमा थाप्नेवाला छन्‌।

पुरस्कार र सम्मानको परिप्रेक्ष्यमा साहित्यकार वा कलाकारहरू चार प्रकारका हुन्छन्‌। पहिलो - पुरस्कार र सम्मानका लागि काम गर्ने, दोस्रो काम गरिरहने तर पुरस्कार र सम्मानको आशा नराख्ने। तेस्रो वर्गका हुन्छन्‌ काम गर्ने अनि पुरस्कार कतै पाइहाले थाप्ने, नपाए सन्तोक गरेर बस्ने अनि चौथो जातिका हुन्छन्‌ काम पनि भनेजस्तो नगर्ने तर पुरस्कार र सम्मान पाएन भने धुरुधुरु रुने, ममेरो मूल्याङ्‌कन भएनफ भनेर कम्प्लेन ठोक्ने। नेपाली साहित्यका एकजना मूर्धन्य साहित्यकार एकपल्ट अकादमी पुरस्कार नपाएकोमा अथवा आफ्नो उचित मूल्याङ्‌कन नभएकोमा डॉंको छोड़ेरै रुएको खबर थियो। पछि उनले पुरस्कार पाए। कोही कलाकार र साहित्यकार कस्ता हुन्छन्‌ भने पुरस्कार र सम्मान चाहिँ उनीहरूको हक र अधिकार नै हो ठान्छन्‌।

फेरि आजकल फेशन निस्केको छ आ... मा... मा... पुरस्कार, अभिनन्दन, अभ्यर्थना, संवर्द्धना, सम्मान खै के-के हो के-के। दार्जीलिङमा कुनि कुन सम्मान पायो भनेर कालेबुङमा अभिनन्दन हुन्छ। गान्तोकमा कुनि कसले अभिनन्दन गर्‍यो भनेर दार्जीलिङमा सम्मान जनाउने काम हुन्छ। कुनै यस्तो परिवार छैन जहॉंको कुनै एउटा सदस्य अभिनन्दित नभएको होस्‌। हरेक घरको सिटिङ रुममा आजभोलि टिभी, होम थेटर भएजस्तै सम्मानपत्र पनि सजिएकै हुनुपर्छ। जय हो तकनिकी क्रान्ति! जसले मुद्रण व्यवस्थालाई यति सस्तो बनाइदिएको छ कि आज एउटा सम्मान वा प्रशस्ति पत्र छाप्नुपरे 15 रुपियॉं पनि खर्च पर्दैन। साहित्यकार, सामाजिक कार्यकर्ता, कलाकारहरूको घरको गेटदेखि नै देखिन्छन्‌ यस्ता एफोर, एथ्री आकारका लेमिनेटेड वा त फ्रेममा सजाइएका मल्टीकलर प्रमाण-पत्रहरू। कतिजना त आफै छापेर .... होस्‌ त्यो कुरा अहिले नगरूँ... विषय भँगालिन्छ....।

अब मूल कुरा गरूँ न ममता दिदीको ममताको।

कुरा के भने - ममताको सरकार क्षमतामा आउने बित्तिकै पुरानो सरकारको समयमा भताभुङ्‌गै भएका साहित्य अकादमी, कला अकादमी अरू के-के सबै-सबै बौरेर उठ्‌न खोज्दैछन्‌। कत्ति राम्रो। यहॉंसम्म कि यसपालि त भानुजयन्ती पनि सरकारी पो भयो। धन्य हाजिरी लगाउने बही चाहिँ देखिएन। यसपालि हत्तार-हत्तार भयो अरे अर्कोपालिदेखि त महँगी भत्ता र यात्राभत्ताको पनि मेलोमेसो हुने होहल्ला छ। सरकारले यसरी नेपालीभाषीहरूलाई ममता देखाएको राम्रै हो भन्ने लाग्छ एकप्रकार सोंच्दा। आफ्नो सरकार भए त झन्‌ कत्ति राम्रो हुनेथियो। अब कान्छा बाबु भए पनि बाबु नै त भन्नुपर्‍यो।

तर पहाड़का तथाकथित कलाकार, साहित्यकार, सर्जक अथवा के-के विषेशण दिइन्छ नि यस्ताहरूलाई ती सबैलाई एकदुइ कुरा सुनाउन मन के लागेको छ भने नि...

सुवास घिसिङको समयमा पनि यस्तै हुन्थ्यो। नेपाली भाषाको अकादमी, कलाको अकादमी सबै थिए। यहॉंसम्म कि पुरानो सरकारले त आफ्नो राजनीतिक दलका हितैषीहरूलाई मात्रै यस्ता अकादमीमा विराजमान गराएको अथवा पुरस्कार र सम्मान प्रदान गरेको लाञ्छना पनि लाग्थ्यो। जसले पुरस्कार थाप्थे उ सीपीएम-को मान्छे भनिन्थ्यो। भानु पुरस्कार थाप्ने, संगीत नाटक अकादमी पुरस्कार गुटुमुट्याउने ती साहित्यकार र कलाकारहरू आज पनि धेरैजना जिँउदै छन्‌। पुरस्कार थाप्ने त भए नै साथै ती पुरस्कार प्रदान गर्ने संस्था, बोर्ड, अकादमी, गुठीतिर पनि सरकारले मनले खाएको मान्छेलाई मनोनित गर्ने गर्थ्यो। तर हजूरहरूलाई थाहै हुनुपर्ने समयकालमा घिसिङ र बसुको हनिमुन फ्लप हुँदा त्यो पुरस्कार र सम्मान फेरि गलामा अड़्‌केको माछाको कॉंड़ा भएको थियो ती साहित्यका महान्‌ हस्तीहरूलाई, कलाका पारंगतहरूलाई। ती पद र ओहोदाहरू पनि घॉंड़ो भएको थियो। डा. जी. एस. योञ्जनलाई राम्ररी अनुभव छ यसको। स्कूल सर्भिस कमिसनको कुरा गरेको नि ... बङ्‌गाल सरकारको एस.एस.सी.। त्यतिखेर बङ्‌गालको पुरस्कार चाहिँदैन भनेर घिसिङले पुरस्कार समारोह बहिष्कार त गरेकै थिए साथसाथै जतिले थापेर सिटिङ रुममा झुण्ड्याएका थिए उनीहरू पनि घिसिङका प्यारा बन्नका लागि त्यसलाई फर्काउन तम्सिएका थिए। घिसिङको प्यारा बन्नकै लागि त हो कुरा सीधै गर्नु हो भने। जातिको लागि हो भने के उनीहरूले घिसिङको आदेश पर्खिरहनुपर्ने थियो होला र? अझै भन्नु हो भने बङ्‌गाल सरकारले दिएको थाप्ने कुनै कारण पनि थियो होला र? तर भन्नेहरूले भने साहित्य, कला, सिर्जना जस्ता विषयमा राजनीति गर्नु हुँदैन। यसो भन्दै थापेका थिए थाप्नेहरूले, आफैलाई सान्त्वना दिँदै बराहरू!

हेर्नुहोस्‌, कलाकारहरू! साहित्यकारहरू! सर्जकहरू! संसारमा जत्ति पनि क्रान्तिको बिगुल फुक्ने काम भएको छ कसले गरेको छ? अब यति पनि बताइरहनुपर्छ? र पनि सुन्नुहोस्‌, सबै यस्तै स्रष्टाहरूले गरेका हुन्‌। किनभने स्रष्टाहरू द्रष्टा हुन्छन्‌। देख्छन्‌ उनीहरू। सुँघ्न सक्छन्‌ उनीहरू भोलि-पर्सि, आगुँ, आगामी साल, आउने सयौं वर्षमा के हुनसक्छ उनीहरूले देखिसकेका हुन्छन्‌। यसैले उनीहरूलाई विशेष दर्जा दिइन्छ, सम्मान दिइन्छ, मान-मर्यादासित राखिन्छ। यहॉंसम्म कि भारत सरकारले त संसदमा 12 -वटा आसनमा यस्ता स्रष्टाहरूलाई मनोनयन प्रक्रियाद्वारा अथवा कुनै चुनाउ बिनै ससम्मान बिराजमान गराउनुपर्छ संविधानको प्रावधानअनुसार। यस्ता व्यक्तित्वहरूले बोलेको हरेक विषयलाई उद्धृत गरिन्छ। उनीहरूको वाक्यलाई महावाणी मानिन्छ। उनीहरूको टिप्पणी देशको र समाजको हितको लागि मान्य हुँदछ अनि सरकारले पनि एकपल्ट उनीहरूले गरेको पर्यवेक्षणलाई ध्यान दिएर सोच्ने काम गर्छ कुनै महत्त्वपूर्ण कामको पहल गर्नअघि।
अब एकछिन्‌ यस्ता पुरुषहरू हाम्रो समाजमा को-को छन्‌ खोज्ने काम गरिहेरूँ त...? सबैभन्दा पहिला नाम आउँछ .... हजुर... हजुर... ठिक सोच्नुभयो.... डा. इन्द्रबहादुर राई। उहॉंको विषयमा धेरै बोल्नु दिउँसै मोमबत्ती बाल्नु जस्तै हुन्छ। उनले यस्ता पदक, तकमा, पुरस्कार, उपहार, प्रशस्ति, प्रमाण त कति पाएका छन्‌-छन्‌ त्यसको लेखाजोखा गर्नै मुश्किल पर्छ। यस्तै व्यक्तिहरूमा त्यसपछि आउनेहरूको नाम लिँदा अलिक बेर घोर्रिनुपर्ने अवस्था आउँछ...। अनि एकछिन्‌मा अर्को नाम आउँछ होइन.... होइन.... डा. कुमार प्रधान। कुमार प्रधानले पनि बङ्‌गाल सरकारको सम्मान मनग्गे थापेका छन्‌। त्यसपछि सानातिना साहित्यकार, कलाकारहरूको नाम थुप्रिन सक्छ। कतिजना आज पनि छन्‌, कति बितेर गए, कति जान लाग्दैछन्‌। बिचरा उनीहरूले बङ्‌गाल सरकारको विरोधमा मज्जाले कहिल्यै बोल्न पाएनन्‌। अब सर्जक भएर प्रतिक्रिया व्यक्त गर्न पाएनन्‌, समालोचना गर्न सकेनन्‌, समीक्षा गर्नमा अवरोध लाग्यो भने कस्तो हुन्छ? एकपल्ट सोच्नुहोस्‌ न कुकुर भएर भुक्नु पाएन भने कस्तो जुनी हुन्छ त्यो कुकुरको? तर उनीहरूले नराम्रोलाई नराम्रो भन्न सकेनन्‌ किनभने पुरस्कारको भारीले थिचेको जो थियो। कतिजनाले त घिसिङको करकापमा आएर मनले नमानी-नमानी फर्काए है तर! राशी फिर्ता नगरे पनि त्यो पदक र के-के चाहिँ फर्काएको निक्कै चर्चा भयो। पछि घिसिङ राज बन्द भएपछि वा बङ्‌गाल सरकार र घिसिङमाझ फेरि सुमधुर सम्बन्ध गॉंसिएपछि लुतो लागेको अकादमीलाई फेरि तङ्‌र्‍याउने काम भयो अनि पुनः शुरु भयो पुरस्कारको सिलसिला। यतिखेर घिसिङ डाउन भएको मौका छोपी फेरि घरि बुद्धदेवको हातबाट, घरि अशोक बाबुको बाहुलीबाट पुरस्कार थाप्न पुगे हाम्रा साहित्यकार, कलाकार, द्रष्टाहरू।

अब यसपालि यस्तै हुँदैछ। नेपाली अकादमी शुरु हुँदैछ नयॉं सरकारको प्रायोजनामा। लेखक-कविहरूको किताब धमाधम छाप्पिन्छन्‌ अब। कलाकारहरूले मौलिने मौका पाउँछन्‌। सरकारी मान्यता पाउँछन्‌। नर्तकहरू कम्मर मर्काई-मर्काई नाच्नेछन्‌। सांस्कृतिक झॉंकीहरू निस्किनेछ। बङ्‌गला भाषामा भानुजयन्ती पनि मनाइन्छ शायद। कत्ति राम्रो कुरा। तर अब यसमा राजनीति छैन भन्नु हुन्छ भने तपाईँ द्रष्टा होइन भनेर ठोकुवा दिनसकिन्छ। कलामा केको राजनीति भन्नु हुन्छ भने नि नोबेल पुरस्कारको चयन प्रक्रियाको इतिहास मात्रै इन्टरनेटतिर ब्राउज गर्नुभयो भने पाउनुहुनेछ त्यहॉं कस्तो राजनीति हुन्छ। अब इन्टरनेट चलाउन आउँदैन चाहिँ नभन्नुहोस्‌ है द्रष्टाहरू भएपछि, अरूको अगाड़ि लाज हुन्छ नि। फेसबुकमा नानाथरिको कुरा गर्न भ्याउने सर्जकहरूले यस्तो कुरा गर्नु पाप पो लाग्छ त।

आजकल सिद्धान्तहरू, उखानहरू उल्टा भएका छन्‌। अघइघि एउटा कोटेसन निक्कै प्रख्यात थियो - मकुनै एउटा जातिलाई नास्नु छ भने त्यसको संस्कृति, साहित्य र कलालाई मास्नुपर्छफ भन्ने। किनभने संस्कृति, साहित्य र कला बिनाको जाति पुच्छर बिनाको कुकुर जस्तै हुन्छ कि के-के भनिन्थ्यो। आजभोलि त्यस्तो छैन। कलियुग हो, सरापहरू आशिर्वाद बन्छन्‌। यसैले मकसैलाई जरैदेखि उखेल्नु छ भने त्यसलाई यति धेरै लोलोपोतोमा राख कि उ लाचार भएर पाल्तु कुकुर बन्नेछफ भन्ने सिद्धान्त निक्कै चल्न थालेको छ। अब नेपालीभाषीहरू भन्दा आठ पुस्ता अघि रहेको जातिलाई यस्तो कुरा थाहा छैन होला? यसैले शुरु गर्‍यो बङ्‌गाल सरकारले अकादमीको पुनर्स्थापना। हामीहरू चाहिँ दार्जीलिङमा हुनुपर्छ र मङ्‌पुमा हुनुहुँदैन भनेर हानाथाप। वाह! यो त मआ बैल मुझे मार्‌फ भनेको हो नि तर यति कुरा पनि बुझ्न नसक्ने, आँकलन गर्न नसक्ने, एसेसमेण्ट गर्न नसक्ने द्रष्टाहरू कसरी द्रष्टाको पगरी गुथेर बॉंचिरहेका छन्‌ त्यो एउटा अनौठो प्रश्न भएको छ। बङ्‌गालको स्लो पोइजन पिइरहेका छौं भन्ने स्वाद थाहा पाउन नसक्नेहरूले कसरी आफूलाई सर्जक र द्रष्टा कहलाउने काम गर्नु?

भोलिको दिनमा अहिलेको सर्वशक्तिसम्पन्न राजनीतिक पार्टीको हनिमुन तृणमूल सरकारसित बिग्रेर गयो भने अनि पार्टी हाइकमानज्यूले बङ्‌गालको दयामाया चाहिँदैन भन्नुभयो भने पुरस्कार थाप्नेहरू के गर्नुहुन्छ? एउटा सानो प्रश्न तपाईँहरूलाई। साहित्य अकादमीका भवनहरूमा उत्तेजित जनताद्वारा आगो ताप्ने काम भयो भने के गर्नुहुन्छ? पुरस्कार थाप्नेहरूको घरबारमाथि आक्रमण भयो भने कसो गर्नुहुन्छ? अनि यस्तो हुँदैन भनेर तपाईँ द्रष्टाहरू के ग्यारेण्टी दिनसक्नुहुन्छ?

उसै पनि त सौतेनी आमाले पिलाएको दूधमा बिख हालेको छैन भनेर कसरी पत्याउनु? जबसम्म आफ्नै आमाले, आफ्नै सरकारले सम्मान र मर्यादा दिँदैन तबसम्म यो अर्काकी आमाको बाट माया-ममता थाप्नु के सॉंच्चै कलाकार, साहित्यकार, समाजसेवी, खेलाड़ीहरूलाई सुहाउँछ। यदि स्वाभिमानी हुनुहुन्छ भने कदापि सुहाउँदैन। फेरि आफ्नो सिर्जनाशक्तिको लागि त यस्ता पुरस्कार-सम्मानहरू पाउनैपर्छ, थाप्नैपर्छ भन्ने कुनै अनिवार्य योग्यता पनि त छैन होइन। भोलिको दिनमा तपाईँले कतिवटा पुरस्कार पाउनुभएको थियो भन्ने कुराको गन्ती हुन्छ कि तपाईँले के काम गर्नुभएको थियो भन्ने कुराको चर्चा हुन्छ?

यसरी पुरस्कार र सम्मान पाउँदा प्रतिभाहरूले प्रेरणा र प्रोत्साहन पाउँछन्‌ भन्ने ठान्नुहुन्छ भने तपाईँहरू कलाकार होइन भन्न सकिन्छ। किनभने प्रेरणा र प्रोत्साहनको लागि पुरस्कार प्राथमिक आवश्यकता कदापि होइन। बाल्मीकिले कुन पुरस्कार पाए? सुकरातलाई कुन संस्थाले अभिनन्दन गर्‍यो? कालिदासले संस्कृत अकादमी पुरस्कार कुन साल पाएका थिए? बाबा फाल्केले फिल्मफेयर पुरस्कार पाएका थिए?

हामीले आफ्नै आँखाले नेपालीभाषी यस्ता प्रतिभावान्‌ साहित्यकार, कलाकार, सर्जकहरू देख्ने मौका पाएका छौं जसले कहिल्यै कुनै पुरस्कार र सम्मान पाएका छैनन्‌, आशा पनि गरेनन्‌ तर उनीहरूको योगदान मरुञ्जेलसम्म रहिरहेको छ।

अब सर्जकहरू एकपल्ट सोच्नुहोस्‌। अरूले दिएको पूर्वाधारमा साहित्य सिर्जिन सकिन्छ भन्ने तपाईँहरूलाई लाग्छ भने छिमेकी राज्य सिक्किमको साहित्य अकादमीको उदाहरण हेर्नुहोस्‌। सिँगै राज्य नै नेपालीभाषी भएको ठाउँमा नेपाली भाषाको प्रगति कत्तिको भइरहेको छ सो त्यहॉंको अन द स्पट भिजिट गर्दा मात्रै थाहा हुन्छ। सारा भारतमा आज सिक्किम नेपाली साहित्य र कलाको अगुवा बन्नुपर्ने होइन? किन बन्न सकेको छैन? सिर्जनाको लागि सरकारी संरक्षणको आवश्यकता प्रथम आवश्यकता कहिल्यै पनि हुनसक्तैन। सङ्‌गठनको दरकार पर्दैन प्रतिभाको लागि। काला वर्णको जातिले कसको संरक्षण पाएको थियो र आज ब्रेक डांस विश्वविख्यात भयो? कुन पुरस्कार पाएका थिए र खेलकुदमा सदैव अघि छन्‌ उनीहरू? विश्वका थुप्रै महान्‌ पुरस्कारहरूको चयन गरिँदा चीनी र अन्य एसियालीहरूलाई छुट्याउने काम गरिन्छ। तब के उनीहरूले पुरस्कार पाएनन्‌ भनेर आफ्नो काम गर्न छाड़ेका छन्‌? अझ दोब्बर काम गरेर देखाइरहेका छन्‌।

स्रष्टाहरूलाई त यस्ता पुरस्कार थाप्दै गर्दा कुरीकुरी लाग्नुपर्ने। सर्जकहरूले त पुरस्कारतिर ध्यानै नदिनुपर्ने। मपुरस्कार पाएपछि मेरो कॉंधमा अझै धेर जिम्मेवारी बढ़ेर गएको छफ भन्ने दुइशब्द भाषण दिन लाज लाग्नुपर्ने सर्जकहरूलाई, स्रष्टाहरूलाई। उसो भए पुरस्कार नपाएको भए चाहिँ आफ्नो जिम्मेवारी होइन त्यो? पुरस्कार प्रदान गरेर त परोक्ष रुपमा मअब भयो, थान्को लागेर बस्‌फ भनेजस्तो पो लाग्नुपर्ने होइन? लाइफटाइम एचिभमेन्ट भनेर पुरस्कार दिन्छन्‌। मतिमीले सब गरिसक्यौ, अब बिसाऊफ भनेको हो। मरेको माथि कात्रो हो यो। सर्जकहरू कहिल्यै पनि थाक्दैनन्‌। मप्रतिभाहरूलाई जिउँदैमा सम्मान र कदर गरिनुपर्छ नत्र उनीहरूको मूल्याङ्‌कन हुँदैन र उनीहरू मुर्झाएर जान्छन्‌फ भन्ने गफ धेरैले हॉंक्ने गर्छन्‌। प्रतिभा कहिल्यै पनि मुर्झाउँदैन। उ कहिल्यै पनि मूल्याङ्‌कनको पछाड़ि दौड़ँदैन। खुशवन्त सिंहले धेरै सम्मान र पुरस्कार पाए तर उनको लेखनको जिम्मेवारी सधैँ एकनासे नै रहेको छ। पुरस्कार पाउनअघि पनि उनले त्यही जिम्मेवारी निर्वाह गरेर लेखे जुन पुरस्कार पाएपछि गर्दैछन्‌। आफ्नो जीवनको अन्तिम श्वास फेरिरहेको समयमा पनि उनी आफ्नो शारीरिक ताकतले भ्याएजत्ति लेख्ने काम गरिरहेका छन्‌।

हाम्राहरूले कहिले सिक्ने यस्ता कुराहरू? हामी त अहिले पनि पुरस्कारकै लागि लेख्छौं, आफ्नो सम्मान भएन भनेर गनगन गर्छौं। आफ्नो प्रतिभाको सही मूल्याङ्‌कन भएन भनेर रिसाउँछौं। अनि कुन दिन कसले कुन स्वार्थपूर्ण उद्देश्यले 15 रुपियॉंमा पाउने सम्मान-पत्र चड़ाउँछ त्यो थाप्न पुग्छौं 15 सय खर्च गरेर। यहॉंसम्म कि कतिजना त पैसा तिरेर पनि पुरस्कार थाप्छन्‌ भन्ने सुनिएको छ ... यसबारे आउने अङ्‌कमा है...।

1 comments: on "पुरस्कार र सम्मानमा होम्मिनेहरू....."

RAJESH PRADHAN said...

kuro 1 dam sahi ho...neta haru gorkhaland khojna gayo ko Bangal ko arko bawasta liyera aaucha,sahitakar bhanaw da haru bangal le Aanya gareko 6 bhandai purasakar thapdai 6an....janta astai kura thapari mardai .....sabai eutai dayan ka mula haru hun, bhannda galat nahola.