मुख्य समाचार :


बद्रीको पहिलो मुर्तिकार




मनोज वोगटी
कालेबुङ,8 अगस्त।

डुवर्सका साहित्यकार बद्रीनारायण प्रधानलाई थाहा थियो कि थिएन कि अमिरले तिनको मूर्ति बनाउने पहिलो किर्तिमान कायम गर्छ। बद्रीले सधैँ देख्ने केटो, जसको टाउको हातले मुसारिदिएर ‘तिमीले आफ्नो कलालाई शीखरमा पुर्‍याउनु’ भन्ने आशिर्वाद दिने तिनै बद्रीको मूर्ति बनाएर अमिरले बद्रीको सपनालाई पुरा गरिदिएका छन्‌।

‘तिनको शव लड़िरहेको थियो। उनी मेरो पिताका साथी हुन्‌, मेरा पनि। दुवै पुस्तालाई एकैसाथ बॉंधेर राख्न सक्ने प्रिय साहित्यकारको शव अघिल्तिर देख्दा मलाई लाग्यो, उनको निम्ति मैले गर्नुपर्ने केही छैन। मूर्ति जस्तो लड़िरहेको तिनको मुर्ति नै बनाउँछु, त्यसबेला यस्तो सोंच आयो’-अमिर सुन्दास भन्छन्‌। कालेबुङ महकुमाको सधैँ अवहेलित ठाउँ अनि डुवर्सको राजनैतिक गढ़ भए पनि उभो उक्लन नसकेको बाग्राकोटमा 8 मई 2010 को दिन साहित्यकार बद्रीनारायण प्रधानको देहान्त भएपछि मुख्यगरी त्यहॉंका युवा सर्जक र चिन्तकहरूको साहित्यिक आस्थाको घर नै भत्किएको थियो। केही समयपछि बद्रीको मृत्युलाई स्वीकार्दै बद्रीनारायण स्मृति प्रतिष्ठान गठन गरियो। सोही प्रतिष्ठानले बद्रीको मुर्ति बनाउने निर्णय गर्‍यो।

यता ‘कसलाई मूर्ति बनाउनुदिने?’ भन्ने कुराको बहस चल्दै गर्दा उता एकैदिनमा अमिर सुन्दासले बद्रीको माटोको मुर्ति बनाइसकेका थिए। चर्चित युवा चित्रकार अमिर सुन्दासलाई त्यही माटोको मुर्ति बनाइसकेपछि ठूलो आत्मसन्तुटि मिलेको थियो। तिनले भनेका थिए त्यसबेला-‘बद्री सरले मलाई मूर्तिकार बनाए।’ बद्रीको मात्र होइन अमिर सुन्दास सोहीदिनदेखि तिनको र दार्जीलिङकोे इतिहासमा नै पहिलो युवा मुर्तिकार बने।

माटोको मूर्ति बनाइसकपछि बाटो हिँड्‌नेहरू जतिलाई नै अमिरलाई सोधे-‘यो कसको मूर्ति हो?’ जससम्म सबैको जवाब ‘बद्री सर’ भन्ने आएन तबसम्म अमिरले काम गरिरहे अनि 10 दिनमा बद्रीको मुर्ति बनियो। 12 वर्ष अघि चार इञ्चको भानुभक्त बनाउने अमिरले पहिलोपल्ट पॉंच फुटको फाइबरको मूर्ति बनाइरहेका थिए। माटोमा बद्रीलाई उस्तै निकालेपछि मात्र अमिरले फाइबरको मूर्ति बनाए।
समय दैनिकले तिनलाई बिना पैसा नै बनाएको हो?भनेर प्रश्न गर्दा भने, होइन। 50 हजार यसको मूल्य तोकेको छु।
मूर्तिमा पनि भविष्य रहेको बताउँदै सुन्दार अझ भन्छन्‌, मूर्ति बनाउने संस्कार हामीमा छैन। हाम्रो समाजमा यसलाई भविष्यको रूपमा लिनु चुनौति समान हुनेछ। तर म कमर्सियल मुर्तिकार नै हुनेछु। कसैले पनि अर्डर गरे उनीहरूले चाहेजस्तो मुर्ति बनाउन सक्छु भन्ने विश्वास मलाई बद्री सरको मुर्तिले दिएको छ। अब अमिरसित भानुभक्तको मुर्ति बनाउने सपना छ। मुर्तिकारकोरूपमा आफूलाई स्थापित गर्ने संकल्प छ। बद्री गएर बाग्राकोटमा मुर्तिकार आयो। बद्री र बद्रीको सपना अमिरले त्यहॉं लुकाएर राखेको छ, जहॉंबाट कला प्रस्फुटन हुन्छ। प्रतिष्ठानका सदस्य अजय खड्‌काले भने, मुर्ति बनियो अब बद्री स्मृति ग्रन्थको निम्ति दौडधूप चलिरहेको छ। मुर्ति र ग्रन्थ एकैचोटी स्थापित र विमोचित गर्ने हाम्रो पहिलो लक्ष्य हो।

0 comments: on "बद्रीको पहिलो मुर्तिकार"