मुख्य समाचार :


कालेबुङमा पनि छात्राद्वारा आत्महत्या


प्रज्ज्वल छेत्री
कालेबुङ, 22 अगस्त।
जिल्लामा अहिले विद्यार्थीहरूले भटाभट आत्महत्या गरिरहेको कुरा प्रकाशमा आइरहेको छ। खरसाङमा भर्खर नै दुइजना विद्यार्थीले पालैपालो आत्महत्या गरेपछि सबैलाई हतप्रभ पारिराखेको बेलामा कालेबुङमा पनि आत्महत्याको घटना देखापर्न थालेको छ। भर्खर नै एउटा विद्यालयका छात्राले आत्महत्या गरेकी थिइन्‌ भने त्यसको केही दिनमा नै अर्को विद्यालयका एउटी छात्राले आज बिहानै विद्यालयको युनिफर्ममा नै आत्महत्या गरिन्‌।

लाडेन भोटिया नाम गरेकी छात्राले विष सेवन गरेर आत्महत्या गरेकी छन्‌ भने तिनको आत्महत्याको कारण विद्यालयमा तिनको साथीहरूले गर्ने रेगिङ(यातना)रहेको खुलेको छ। लाडेन मामाको घरमा बसेर पढिरहेकी थिइन्‌। केहीदिन अघिमात्र लाडेनले अभिभावकलाई विद्यालयमा रेगिङ भइरहेको जसको कारण पढ्‌न जान मन नलागेको बताइरहेकी थिइन्‌।
अभिभावकपक्षले विद्यालयमा पनि यो कुरा राखेको थियो। लाडेनकी आमा र बाबा सम्झाउनको निम्ति आएका थिए। पढिरहेको विद्यालय नपढ्‌ने जिद गरेकी लाडेनलाई यसवर्ष दुःख गरेर पढ्‌ने अनि अर्को वर्ष विद्यालय सार्ने भनेर अभिभावकले सम्झाएको थियो। तर विहान युनिफर्म लगाएर विद्यालय जानै लागेकी लाडेन बाथरूमबाट निस्केर बाबालाई बाई भन्दाभन्दै ढलिन। तिनलाई अस्पताल हत्तपत्त पुर्‍याइए पनि बँचाउन सकिएन।

गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले विद्यालयमा हुने गरेको रेगिङ सम्बन्धमा बहस गर्न विद्यालयहरूसित बैठक गर्ने अनि रेगिङले उत्पन्न गर्ने समस्याहरूको समाधानको निम्ति सामुहिक पहलको बाटो निकाल्ने सम्बन्धमा कार्य गर्ने सहसचिव दीप थापाले बताएका छन्‌।

0 comments: on "कालेबुङमा पनि छात्राद्वारा आत्महत्या"