मुख्य समाचार :


फोरमले गर्ने जीटीएको पोष्टमर्टम


मनोज वोगटी
कालेबुङ,21 अगस्त।
दार्जीलिङ डुवर्स पिपल्स फोरमले मोर्चाको जीटीएको पोष्टमर्टम गर्ने भएको छ। अराजनैतिक सङ्गठन फोरमका तदर्थ कमिटीका महासचिव प्रवीण गुरूङले समय दैनिकसित कुराकानी गर्दै भने, गोजमुमोले पहाड़मा जुन अर्को दागोपाप स्थापना गर्‍यो यसले जनतालाई कुनै फाइदा हुनेवाला छैन। वास्तवमा मोर्चामा अस्तित्व संकटको परिस्थिति थियो। आन्दोलनलाई लम्याएर उपलब्धीसम्म जाने धैर्यता मोर्चाका महत्वाकांक्षी नेताहरूमा नरहेकोले नै गोर्खाल्याण्डको इतिहासमा आन्दोलित दल सरकारसित मिलेर जनतालाई धोका दिने काम भयो। छुट्टै राज्य हुन समय लाग्छ, किन समय लाग्छ भने यसको निम्ति राष्ट्रिय सहमतिको आवश्यकता पर्छ। यो सहमति जुटाउने क्षमता नभएकोले नै मोर्चा पैसा कमाउने चोर बाटोमा लाग्यो। सासंदहरूको एक तिहाई मतको अनिवार्यतालाई आँखा चिम्लेर मोर्चाले त्यसै जीटीए ल्याउन परेको होइन।

गुरूङले मोर्चाको अवस्था मङ्गले आफ्नै ढङ्गले-को भएको कारण अनि सरकारले मोर्चाको रगतमा मिसिएको पानी देखिसकेकोले नै यो जीटीए नामको दागोपाप आउन परेको बताउँदै तिनले भने, खासाको जुत्तामा एडिडास लेखेर ल्याएको एक नम्बरको जुत्तालाई नौ नम्बरको भनेर जबरजस्ती गर्ने काम भएको छ। जनताले चाहेको नौ नम्बरको उनीहरूले ल्याएको छ एक नम्बरको। अब फोरमले यसको पोष्टमर्टम गर्ने छ। जब यसको बील विधानसभाले पारित गर्छ, त्यसबेला त्यसको रिपोर्ट सार्वजनिक गरिने छ। तिनले गोजमुमोले जनतालाई थकाएर अन्तमा जीटीए ल्याउने काम गरेको भन्दै मोर्चाको आन्दोलन गोर्खाल्याण्डको निम्ति नरहको पनि किटान गरे।

तिनले भने, गोर्खाल्याण्डको आन्दोलनमा जनतालाई हानी हुने कार्यक्रम भयो अनि जनताको खॉंचोलाई देखाइने काम भयो। आन्दोलनको वृत्तिले इमान्दारितालाई लक्ष गर्दैन। यसमा प्रायोजित र सुनियोजित षडयन्त्रको प्रचुरता देखिन्छ। अन्तमा विकास नै गोर्खाल्याण्ड हो भन्दैे इतिहासमा नै गलतरूपले आफ्नो नाम लेखाउँदै मोर्चाले जुन आत्मसमर्पण गर्‍यो, त्यसको लेखाजोखा आउने पुस्ताले गर्छ। अहिलेको घिसिङ त्यसबेला विमल हुनेछन्‌। तिनले फोरममा अहिले युवावर्गको सहमति बटुल्ने आन्तरिक कार्यपहल तीब्र रहेको जनाएका छन्‌। तिनले भने, मोर्चाको धोका बुझ्न सक्ने र विषयको छानबिन गर्न सक्ने शिक्षित युवाहरूसित अन्तरक्रिया गर्ने कार्य अहिले चलिरहेको छ। फोरम चहान्छ कि ममताले बङ्गभङ्ग होबेना भन्दा थप्पडी मार्दै नाच्नेहरूको भीड अब नहोस्‌। यसरी थप्पडी मार्ने र नाच्नेहरूकै आङमा चडेर उनीहरूकै भविष्य बेच्ने मौकाखोरहरूको षडयन्त्रको पर्दाफास गर्न, जीटीएको चिरफार गर्न अनि असली कुरा जनतामा राख्न फोरमले विषयको ज्ञान भएका युवाहरूसित पोष्टमर्टमको कार्यढॉंचा तयार पारिरहेको छ।

तिनले फोरमले गर्ने पोष्टमर्टमले नै आगामी युद्धको दिशा निर्देश गर्ने दाबी गर्दै अहिले राष्ट्रविरोेधी तत्वहरू पनि सल्बलाई रहेको बताउँदै भने, देशको अहित हुने कार्य गर्नेहरूलाई प्रसासनले कठोर दण्ड दिनुपर्छ।

0 comments: on "फोरमले गर्ने जीटीएको पोष्टमर्टम"