- - छुल्याहा माइलो
- कालेबुङका चर्चित व्यङ्ग्य लेखक छुल्याहा माइलाको रसिलो व्यङ्ग्य। पढेर प्रतिक्रिया गर्नुहोला।-सम्पादक-सरोकार
जोकतन्त्र हो कि लोकतन्त्रका चारटा खॉंबाहरू हुन् मनी, मस्सल, मिडिया र मार्तोल। एत्ती कुरा पनि नबुझे जस्तै गरी बुझ पचाउनेहरू चै नि बरु राजनीतितिरै लाग्या बेस होला। हन बल्लबल्ल एसो दुइचार पैसो हुन्छ कि भनेर पत्रुकारिताको पेसामा ट्राई दिइ हेर्या त थत् . . मोराहरूलाई के सारो आरिस लाग्या हौ आ. मा.मा. . । कमाउने चै उनीहरूको मात्रै पेवा भन्याजस्तो नि . .। अब एसो मसालादार सम्चार दिन पाइएन भने त के पत्रुकारिता पनि गर्नु हौ आजको दुनियॉंमा। सियालदहको कुरा नगरे पनि अलइलि हाउड़ाको कुरा गर्न त पाइन्छ नि। घाम र जूनको जन्मदिन छ्यातछ्याती बताइदिने अगुवाहरूलाई त सतुवा जस्तो पचाइदिनेहरूले एसपालि पत्रुकारहरूको कानो देखी हाललाई किन पत्यार दिएनन् कोनि . . यो रहस्से ममता दिदी नै जानून्। दिनभरि चै स्कुलमा ढॉंट्नु पाप हो भन्दै छात्रहरूलाई पढ़ाउने सर-गुरामाहरू डम्बरचोकमा पार्टीको भोट माग्दा नढॉंटी बक्न सक्छन्? राजनीति गर्या कि ढॉंटनीति? अन्त उनीहरूले चै ढॉंट्न पाउने। पत्रुकारहरूले चै अलिलि मसाला पनि चाट्न नपाउने? यो त तातोतातोमै लिपापोती गर्ने बातचितको नीति अथवा ता.लि.बा.नी भएन र? पत्रुकारलाई पुरा हक छ अलिलि बढ़ाएर कुरा गर्ने। अलिलि मतलप 144 धारालाई 188 -सम्म भन्दा हुन्छ - किनभने त्यो धारामा पानी आउने त हैन। सुक्खिम सर्खारले गोर्खाल्यान्डको बील ल्यायो भन्न पाउँछ प्रस्ताव नभनेर - किनभने बील नतिर्ने त आन्दोलन नै चल्या हो तेतिखेर।
आर्टिकल 3 भित्रै युनियन टेरिटोरी हुन्छ भन्न पनि पाइन्छ, यॉं आफ्नै टेरिटोरी त छुट्टिसक्या छैन। कालेबुङमा प्लास्टिक ब्यान्ड भयो भन्दा पनि हुन्छ - किनकि पोलिथिन ब्यान नभए पनि सम्चारको प्रचार त ब्यान्डजत्तिकै बज्या हो। तेतीसम्म त पिरेस काउंसिलले पनि छुट दिएको छ नि हौ कुरा तन्काउनलाई। तर यॉं त आफ्नै काउंसिलको प्रेस्सरले पो सारो पारो त. .। अब एसरी नै त सिकिन्छ नि फत्रक फत्रक पर्ने फत्रुकारिता। भबिस्सेमा कथंकाल आफ्नै जिटिए भैगो भने तालिम केन्द्र खोलेर सिक्दा भैगो त...। अब पत्रकार भन्या नै देख्या कुरा नलेख्ने अनि लेख्या कुरा नदेख्नेहरू हुन्। अलिलि गल्ती त हुन्छ नि हौ। मान्छेले त गल्ती गर्छ नि . . नेताले थोरै गर्छ। नेताहरू त मान्छे भा पो गल्ती गर्ने..। उनीहरू त मान्छे भन्दा पनि माथिको के भन्छ अँ... होस् है ऐले फेरि मार्तोल बज्रिन बेर छैन।
सॉंच्चै यो मिडियामाथिको पाबन्दी चै पच्नै सकेन हौ एसपालि...।
अर्कोपालि चै पच्नसक्छ भन्या चै हैन नि फेरि. . । हैन. . गैर कानुनी धन्दामै चल्या भा पनि त कताकता त सप्पैको हितमै थ्यो हैन र? कालेबुङका सप्पैजना समाज र जातिको हितकै लागि त अघि सर्छन् नि। माछावालाले त जॉंड़ दोकान खोलेर गोर्खा समाजको स्वास्थ्यको हितको लागि भनेर उद्घाटन गर्छ भने। अन्त एसरी समाजलाई बिगार्ने रक्सी जताततै बेच्न पाइने, उच्च प्रज्ज्वलनशील पेत्रोल खुल्लमखुल्ला बेच्न पाइने, राजमार्ग नै ढाक्दै ग्यारेज खोलेर पैसो कमाउन पाइने, हप्तादिनको ताजा माछा ढाकछोप नगरी बेच्न पाइने, विश्वशान्तिको नाममा रातभरि माइक बजाएर गाउँघर र परिच्छाको मुखमा पर्या स्कुलेहरूलाई डिस्टर्ब गर्न पाइने, चारजना आँट्ने नैनो गाड़ीमा बसगाड़ी जस्तो यात्री खॉंदेर खेप्न पाइने, सर्कारी ड्युटीमा मातेर हिँड्न पाइने, केकको लाइसिनमा डेक बेच्न पाइने, रायाको सागभित्र ड्रग्स सप्लाई गर्न पाइने, धार्मिक खोलमा निर्वस्त्रहरूको सिडी बेच्न पाइने, फार्मेसीको हिज्जे नजान्नेले डाक्टरी राइटिङको दबाई बेच्न पाउने, मान्छे हिँड्ने सड़क किनारमा दिनभरि गिटी, बालुवा, ढुङ्गा थुपारेर मानव अधिकार मिच्न पाइने, स्टिकर टॉंसेर खाताकिताप बेच्न पाइने, दॉंतै नउम्री ट्याक्सी खेप्न पाइने, यौटै घरमा दसोटा सिलिन्नर र बिसोटा रासिन काठ थुपार्न पाइने, सर्खारी जग्गामा हुटेल ठड्याउन पाइने। एस्ता घिनलाग्दा कुराहरूलाई उदाङ्गो बनाउने सम्चार त देखाउने गर्या थेन नि हौ. . अन्त किन गैरकानुनी भन्या हुन्? फेरि गैरकानुनी हो कि हैन खुट्याउने डिपाटको मालिकाना चै कस्ले दियो? अब च्यानललाई कानुनविरोधी भन्नसक्ने क्षमताधारी अधिकारीहरू आफै चै लाइभ टेलिकास्टमा डाइभ दिन्थे।
फेरि गैर-कानुनी चै न्युज मात्रै? आरती गाउनु चै कानुनी? उइलेदेखिको परम्परामा चलेर आउने अरूजस्ता मान्यताप्राप्त गैर-कानुनी धन्दाको तुलनामा एत्ती नाथे डर्टी च्यानल भी-लाई एकछिन् बिरेक दिएर दैनन्दिनीमा प्रतिदिन घट्ने हिमाली पिपल्सको हालखबर के टिभीतिर सुनाउन चै नपाइने? कैले एसडीओ सापले अचानक पसलतिर छापा मार्या देखाउँथ्यो - दोकानेलाई भन्दा बेसी डर दर्शकलाई लाग्थ्यो। कैले सहर सफ्फा राख्नलाई नदी मैला पार्या काण्ड देखाउँथ्यो - अब झाड़ापिसाप र मैला गर्नै नपाइने हो कि भन्ने तरास हुन्थ्यो। कोईकोई बेला चियादोकानले गुइये पानीमा पञ्चामृत ख्वाको न्युज हुन्थ्यो - धन्य! दाम चै अमृतको पनि जोड्दैन थिएछ भन्ने लाग्थ्यो। कैलेकतै आफ्नै संस्थाले आफ्नै सदस्यलाई अभिनन्दन गर्दै प्रशस्ति पत्र दिँदा अन्योल हुन्थ्यो - आफू पनि एस्तो संस्थाको सदस्से हुन कति खर्च लाग्दो हो भन्ने जिज्ञासा जाग्थ्यो। न्युज रिडरलाई रोजगारी नदिए पनि कैलेकैले रोजगार सम्चार दिन्थ्यो - काम दिए पनि नदिए पनि तेति सूचना दिने काम त दिन्थ्यो।
घरझगड़ा मिलाइदिनेहरूलाई समाजसेवकको पगरी गुथाइँदिने काम गरेर सम्मान दिलाउँथ्यो। घरि तारा चम्किन्थ्यो, घरि प्रताप चर्किन्थ्यो। घरि हर्कबढ़ाइ गर्दै कल्याणकारी शुभ कुराहरू सामेल हुन्थे। कैले सिके आउँथ्यो, कैले डीके धाउँथ्यो। घर्घरै नेताहरू जन्माउने काममा पनि त यो च्यानलले कति गतिलो सयोग गर्याथ्यो। आजु यौटा स्थानीय पार्टीले दुइ शब्द बोल्यो भने भोलि राष्ट्रिय स्तरको सङ्गठनले लोक्कल टिप्पणीमा के भन्छ भनेर सप्पैजना अपिस भागेर छिट्छिटो घर पुगी खाना पकाएर सोफामाथि पलैंटी कसी रिमोट लुकाउँथे। युवा दर्सकहरूलाई मात्रै त भी च्यानल काटिँदा अलिक नियास्रो लाग्थ्यो र तेसको तिर्सना थ्रिजी सेलफोनबाट मेट्नुपर्थ्यो।
कालेबुङका दर्शकहरूलाई पनि त कम्ती मनोरञ्जन हुँदैनथ्यो नि। आफ्नोआफ्नो समयअनुसार संवाद सुर्ने (हेर्ने र सुन्ने क्रियाको संयुक्त रुप) मौका पाउँथे। कोई छ बजी हेर्थे इभनिङ शो, कोई नाइट शो। आखेरी सिन त यौटे त हो नि...। कोई बेला चै राम्रा-राम्रा विज्ञापनहरू आइरहेको बेला सम्चार स्वाट्टै पसिदिन्थ्यो र खल्लो हुन्थ्यो। नत्र त फूल इन्टरटेनमेन्ट थ्यो नि। सामाजिक कार्जेकर्ताहरूले मेलाटारमा जुवैजुवाले भर्या मीनाबजार लगाएजस्तै रमाइलो हुन्थ्यो। घरमा आउने अतिथिहरूलाई पनि गर्भको साथ पो देखाइन्थ्यो त . .। इ हाम्रो कालेबुङमा एस्तो हुन्छ..। तिमार्को दार्जिलिङमा इ... हुन्छ? गान्तोकमा त भए पनि एकपाटे मात्रै हुन्छ. . । कालेबुङेहरू त भए भए अरू ठाउँका नेताहरू पनि पो इंसुरेंसको एजेन्ट धाएजस्तै कालेबुङ धाउँथे त विज्ञप्ति जारी गर्न र भँड़ासपोख्न। एसरी रमाइलो गर्दै, हॉंस्दै-नाच्दै भोकतन्त्र ए सरी लोकतन्त्रको उपभोग गर्न पाइन्थ्यो. .। तर सल्ला गरेर, हल्ला चै नगरी अचानक मनोरञ्जनविरोधी काम गर्या हुनाले एस कार्जेको कड़ाभन्दा खड़ा शब्दमा भस् तर् ना गर्नुपर्छ. .। हैन भर् सत् ना गर्नुपर्छ . .। हैन, खै यो हिज्जे पनि कत्ति सारो हौ. . । अँ ..अँ . . खन्डन गर्नुपर्छ..। कन्डेम पनि गर्दा हुन्छ..। हैन भने दुवैै मिलेर खन्डेम
गर्दा झन् राम्रो हुन्छ।
एकछिन् सॉंच्चिकै सिरेस कुरा. . .
पातलेबॉंसदेखि गान्धीमैदानसम्मका घटनालाई धारावाहिक पर्चार गरेर देसको राजधानीमा पाइला टेकाउनमा मिडियाकै भूमिका छ भनेर फुर्किनु त जुरिस्ट आफैले अवार्ड नपाएर गन्गन गर्याजस्तो हुन्छ होला। तर मिडियाले पुरस्कारको साटो तिरस्कार मात्रै पाए पनि आफ्नु ढ्याङ्ग्रो आफै पिट्न त पाइन्छ होला नि हौ..। उइलेकोलाई खेद्न र ऐलेकोलाई राख्नमा पनि कलम र क्यामेराको योगदान छ भनेर तेत्ती बेसी चै नभनूँ होला. .। तर ढॉंट्या कुरा पत्याउनु हुन्छ भने यो कुरामा कताकता दम चै छ है - आलुदम।
मिडिया भन्ने चीज सत्ताधारीहरूलाई सतर्क गराउने र उनीहरूको नीति प्रचार गर्ने साधन हो भन्ने महाबानी जिद्दीजीवीहरूले पनि बुझ्दा हुन् तर के गर्ने बुझेर पनि बुझ्न नपाइने दीन छ। आजका दाइनेहरू उइले देब्रेमा हुँदा मिडिया भन्या विपक्षीहरूको आवाज हो भन्थे। तर मनभित्रबाट चै हामी सत्तामा नपुगुञ्जेल मात्रै भन्या चै सुनिएन रैछ। न्युज च्यानल बन्द हुँदा कुनकुन दुलाको च्यानल बन्द हुनसक्छ सो पनि त बुझ्नुपर्छ। भोलि फेरि सॉंच्चि नै आन्दोलन गरिहाल्नुपर्ने परिस्थिति कसैले उपहारस्वरुप चढ़ाइदिइहाले। तेतीखेर भाती संगठनहरूलाई निम्तो चै कताबाट दिने? अन्त न्युजमा देखाउँदैन भनेर अनसनकारीहरू नै आइदिएनन् भने चै?जुलुस नै भैदेन भने चै नि. .। अरू त के कुरा अन्तेष्टि किर्याको सूचना आउँदैन भनेर मान्छेहरू स्वर्गारोहण हुनै छाड़े भने चै...?
अरु कुरा त क्यै हैन यो छुल्याको अरूजस्तो धेर डिमान्ड पनि छैन. .। रोजीरोटीको मेलोमेसो नगरिदिए पनि, वैकल्पिक बेवस्था नमिलाइदिए पनि, राहत नदिएर आहत बनाए पनि . . केई न केई त गर्नैपर्छ। तर कल्ले गर्ने? उताबाट हाम्ले बन्द गर्या हैन भन्छ, एताबाट पनि तेसै भन्छ। छुल्याको चै यौटै डिमान्ड भने पनि रिक्वेस्टजस्तो अनुरोध भने पनि नालिस के छ भने झट्टैभन्दा झट्टै यौटा प्यानल गठन गरी च्यानल चलाउने काम गरिदिनु होला नत्र भने कार्टुन नेटवर्क र पोको च्यानल बिर्सिसक्या नानीहरूलाई सॉंझ बिताउनु गारो पर्नेछ। तेसको खतिपुर्तिको रुपमा घर्घरै धाएर केटाकेटी फुस्ल्याउने काम गर्नुपर्ला नि. . ।
पोहोर साल टेलिफिल्म रोक्यौ जतन गरी च्यानलले टार्यौं
तेही साल पेपर च्यात्यौ तेसलाई पनि च्यानलले टार्यौं
एसपालि त च्यानल नै फार्यौ केले टार्ने, केले पेट पाल्ने हो?
0 comments: on "मिड्यासित किन भिड्या?"
Post a Comment