कालेबुङ, 12 अक्टोबर।
महिनादिनदेखि अव्यवस्थित रहेको पिउने पानीको समस्यालाई एक हप्ताभित्रमा नै व्यवस्थित गर्ने भएको छ। कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले शुक्रबारसम्म टालटुले व्यवस्थामा नै चल्दै गर्ने भए पनि शनिबारदेखि भने पानी सर्वराहलाई व्यवस्थित गर्ने मतो मिलेको जनाएका छन्। नगरमा पिउने पानी सर्वराहलाई व्यवस्थित गर्नको निम्ति सर्किट हाउसमा प्रशासनिकस्तरको एक महत्वपूर्ण बैठक भएको थियो। सोही बैठकपछि डा.हर्कबहादुर छेत्रीले भने, बैठकमा सहमति भए अनुसार शुक्रबारसम्म पाइपहरू मरम्मति गरिसक्ने अनि शनिवारदेखि निरन्तर पानी सर्वराह गरिने छ। तिनले बताए अनुसार भत्किएका पाइपहरूलाई स्थायीरूपमा बनाउनु 10 करोड 14 लाख खर्च लाग्ने प्रशासनिक रिपोर्ट छ। 45 लाख भित्रको काम शुक्रबारभित्र भइसक्नेछ। आपातकालीन समाधानको निम्ति 2 करोड 40 लाखको योजना तयार गर्ने अनि यसबारे शीघ्र नै पीएचई मन्त्रीसित भेट गर्ने पनि छेत्रीले जनाएका छन्। छेत्रीले कालेबुङको पानीको समस्याबारे मुख्यमन्त्री समेतलाई अवगत गराएको बताउँदै दागोपाप प्रशासक अनिल वर्माले पनि आफूलाई शनिबारसम्ममा अस्थायी समाधान गरिने आश्वासन दिएको जनाएका छन्। तिनले पानीको समस्या हुनुमा वितरण प्रणालीमा नै समस्या रहेको बताउँदै भने, विभागले ठीकसित काम गरेको छैन। नेउरादेखि अलगढासम्म नै जताततै ट्यापिङ गरिएको छ। नेउराबाट जति पानी छोड्छ त्यति पानी डेलो पानी संग्रहालयसम्म आइपुग्दैन। ट्यापिङ गर्नेहरूको जडानलाई आवश्यकपरे पुलिस लगाएर पनि साताभित्रमा नै हटाउनुपर्ने विभागीय अधिकारीहरूलाई निर्देश दिइसकेको छु। सम्भव भए म पनि त्यसबेला साथमा नै हुनेछु। तिनले ट्यापिङ हटाउने मात्र होइन उनीहरूको निम्ति उपयुक्त स्रोत हेरेर पाइप जडान गर्ने पनि जनाएका छन्। प्रशासनिक बैठकले अस्थायी समाधानको बाटो त खोल्यो तर स्थायी समाधान कहिले हुने यसको टुङ्गो छैन।
0 comments: on "सातादिनमा गर्ने पानी व्यवस्थित"
Post a Comment