मुख्य समाचार :


गोर्खाल्याण्डको निम्ति दलहरू एक हुने -गोर्खालीग दलीय सहमति जुटाउँदै


कालेबुङ, 12 अक्टोबर।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दा पैसासित साटेर भात खॉंदैछ- गोर्खालीगका केन्द्रिय नेता प्रताप खातीले आज भने। तेलङ्गना र विदर्भ राज्य यसपल्ट गठन हुने सम्भावना लीगले प्रकट गरेको छ। उता तेलङ्गाना हुँदा यता जीटीए थाप्ने? मोर्चाले जुन संविधानबाट गोर्खाल्याण्ड राज्य हुँदैन भनिरहेको छ अनि त्यसको साटो जीटीए थापिरहेको छ, त्यही संविधानबाट विदर्भ र तेलङ्गाना राज्य गठन हुनेछ-तिनले भने। तेलङ्गाना गठन हुँदा मोर्चाको झुटहरू प्रमाणित हुने दाबी गर्दै तिनले भने, तेलङ्गाना हुँदा जनता गोर्खाल्याण्डको निम्ति अघि आउनुपर्छ। केही दिनमा नै पहाडका जम्मैदललाई गोर्खाल्याण्डको निम्ति एक गर्दै सामुहिकरूपले आन्दोलन गर्ने कार्यरूप बनिँदैछ। खातीले लीगले जम्मै गोर्खाल्याण्डवादी दल, बुद्धिजीवी, सङ्घसंस्था अनि सचेतहरूलाई छुट्टैप्रारूपको आन्दोलनको निम्ति सहमतिमा ल्याउने पहल शुरू गरिसकेको पनि  जनाए। तिनले भने, मदन तामङले गरेका जम्मै भविष्यबाणी पुरा भयो। गोर्खाल्याण्डले मात्र गोर्खाहरूको राजनैतिक सुरक्षा हुने अनि छुट्टैराज्य गठन गरेर नै छोड्‌ने भनेर गरेको प्रतीज्ञा पनि पुरा हुनेछ। तिनी अनुसार वास्तवमा मदन तामङको यही प्रतिबद्धतासित डराएर राज्य सरकारले विमल गुरूङलाई काउण्टर लिडरकोरूपमा स्थापित गर्‍यो। खातीले भने, घिसिङको छैटौं अनुसूचीको विरोध गरेर जनतालाई गोर्खाल्याण्ड आन्दोलनको निम्ति तयारी गरिरहेको कुरासित डराएर सुवास घिसिङकै घरबाट विमल गुरूङलाई झिकेर मुद्दा दबाउन काउण्टर लिडरकोरूपमा स्थापित गरिएको हो। यसै कारण विमल गुरूङ, रोशन गिरी अनि अरू नेताहरूले मदन तामङको हत्या गरेका हुन्‌। त्यसको फोन ट्यापिङको फाइल मुख्यमन्त्रीसित छ। तिनले ममता व्यनर्जी छुट्टैराज्यको विरोधमा रहेको अनि हत्यारालाई बचाउँदै पैसा र पावर दिएको पनि बताए। तिनले भने, संविधानले दिनसक्ने छुट्टैराज्य मोर्चाले कसरी हुनसक्दैन भनिरहेको छ? तेलङ्गाना गठन हुँदा गोर्खाल्याण्ड किन हुनसक्दैन? मोर्चाले किन मुद्दा पैसामा साटिरहेको छ? किन भने ती लिडरहरू केवल काउण्टर हुन्‌। उनीहरूको उद्देश्य नै मुद्दा दबाउनु हो। जो अहिले गरिरहेको छ। रोशन गिरीले हिजो मात्र राष्ट्रिय मीडियामा मोर्चा छुट्टैराज्य चहॉंदैन भनेर वयान किन दिए? छुट्टैराज्य हुँदैन भने किन सिब्सुमा गोर्खाहरू मारियो? किन भूतपूर्व सैनिकहरूले धुलाइ खाए? अब जनताले आफै सोंचनुपर्छ। तेलङ्गाना हुँदा गोर्खाल्याण्ड किन हुनसक्दैन भन्ने कुरा मोर्चालाई जनताले सोध्नपर्छ। तिनले जीटीएमा संवैधानिक ग्यारण्टी नभएकोले यसको हरहिसाब नहुने अनि व्यापक भ्रष्टचार हुने बताउँदै भने, दागोपाप पनि यस्तै थियो यसकारण भ्रष्टचार भयो। भ्रष्टचार गर्नैको निम्ति मोर्चाको गठन भएको हो। नत्र चप्पल लगाएर हिँड्‌नेहरूले कसरी स्कोर्पियो किने? आन्दोलन गर्नेहरू गरीब हुन्छन्‌ उनीहरू कसरी धनी भए? किन भने आन्दोलन गोर्खाल्याण्डको निम्ति थिएन। ममता व्यानर्जीले हत्याराहरुसित हात मिलाएर गोर्खाल्याण्डको आवाज दबाइरहेको बताउँदै तिनले भने, हत्याराहरूलाई पैसा दिँदैमा गोर्खाल्याण्डको आवाज दब्दैन। तिनले ममता व्यानर्जीले मदन तामङका हत्याराहरूको फोन ट्यापिङको फाइल सीबीआईलाई नदिएको कारण पनि गोर्खाल्याण्डको आवाज दबाउन रहेको तिनले जनाएका छन्‌।

0 comments: on "गोर्खाल्याण्डको निम्ति दलहरू एक हुने -गोर्खालीग दलीय सहमति जुटाउँदै"