मुख्य समाचार :


तेलङ्गनाले बल्झाउँदैछ गोर्खाल्याण्डलाई


कालेबुङ, 12 अक्टोबर।
विधायक हुनभन्दा अघि डा.हर्कबहादुर छेत्रीले भनेका थिए, तेलङ्गना जस्तो राज्य त गठन हुन सकेको छैन, गोर्खाल्याण्डको त कुरै आउँदैन किन भने गोर्खाल्याण्ड र तेलङ्गना आन्दोलनकोे आधारभूमि मिल्दैन। तिनले भारतमा कुनै पनि राज्य गठन नहुने देखेपछि नै मोर्चाले जीटीएको प्रस्तावलाई स्वीकार गरेको तिनको किटान थियो। तिनले जीटीएबाट नै गोर्खाल्याण्ड पुग्ने पनि जनाएका थिए तर उता तेलङ्गना राज्य गठन हुने प्रक्रियामा पुगिसक्दा पनि मोर्चाले हस्ताक्षर गरेको जीटीएको अत्तोपत्तो छैन।
 समीक्षकहरूले तेलङ्गना गठन हुनसाथ यता जीटीए गठनको प्रक्रिया चल्न सक्ने अनुमान गरेका छन्‌। अहिले गोर्खा जनमुक्ति मोर्चाले स्पष्ट पारेको छ कि मोर्चा बङ्गालबाट छुट्टिन चहॉंदैन। बङ्गालमा नै बसेर दार्जीलिङ जिल्लाको विकास गर्ने पक्षमा मोर्चा बसेको छ। उता तलङ्गाना होस्‌ कि नहोस्‌ मोर्चालाई पर्वाह छैन। ठीक गोरामुमोकालमा यस्तै स्थिति देखिएको थिया। उत्तराञ्चल, छत्तिसगढ अनि झारखण्ड त्यसबेला गठन भएको थियो जतिबेला गोरामुमो दागोपाप मुसारिरहेको थियो। यसपल्ट पनि तेलङ्गाना गठन हुने स्थितिमा छ अनि मोर्चा भने जीटीएलाई नै मुसारिरहेको छ। यदि तेलङ्गाना गठन भयो भने पहाडको राजनीतिमा व्यापक उत्तरचढाउ आउन सक्ने सम्भावना देखिएको छ किन भने मोर्चा बाहेक सबै दलहरू छुट्टै राज्यको पक्षमा छन्‌।  ती दलहरूले मोर्चाले नै गोर्खाल्याण्डको मुद्दालाई दबाउन केन्द्र र राज्यलाई प्रोत्साहित गरेको अनि विमल गुरूङलाई सुवास घिसिङ कै अवतारकोरूपमा लिइरहेका छन्‌। राज्यको निम्ति दबावी कार्यक्रम गर्नको साटो मोर्चाले दागोपाप जस्तै सहुलियत ग्रहण गरेर आन्दोलनलाई शिथिल गरेको अनि अहिले पैसाको बलमा आन्दोलनारीहरूलाई अन्यत्र व्यस्त राख्ने कुटनीति गरिरहेको पनि ती दलहरूको आरोप छ। आन्दोलन नै वास्तवमा छुट्टैराज्यको निम्ति नगरेर दागोपाप जस्तै व्यवस्थाको निम्ति गरेको आरोप लगाउने दलहरू पनि कम छैनन्‌। गोर्खालिग नेता मदन तामङले डा.हर्कबहादुर छेत्रीलाई विधायक हुनको निम्ति आन्दोलनलाई गलत दिशामा पुर्‍याइरहेको आरोप लगाएका थिए भने मोर्चाले गोर्खाल्याण्ड होइन अर्को दागोपाप थाप्न लागिरहेको भविष्यवाणी नै गरेका थिए। अहिले मदन तामङले मोर्चालाई लगाएका आरोपहरू जम्मै नै सही प्रमाणित भइरहेको पर्यवेक्षकहरूले अनुमान गरिरहेका छन्‌। मोर्चाले जीटीए नै थाप्ने भए पनि त्यसको सम्झौतामा यदि तेलङ्गाना राज्य हुन्छ भने पहिले प्राथमिकता गोर्खाल्याण्डलाई दिनुपर्छ भन्ने कुरा पनि उल्लेख गरिनुपर्छ भनेर धेरैवटा राजनैतिक दलहरूले सुझाव दिएपनि यस्तो भएन। त्यसबेला मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्री, तेलङ्गना गठन नहुने मात्र होइन तेलङ्गनाका आन्दोलनकारीहरूले दार्जीलिङ मोडललाई उपयुक्त मानेको समेत बताएका थिए। अहिले तेलङ्गना गठन हुनसक्ने स्थितिमा पुगेको छ। यसैकारण अहिले पहाडका गोर्खाल्याण्डपन्थी दलहरू  आन्तरिकरुपले चल्मलाउन थालेको छ। छत्र सुब्बा, अजय दाहाल, पिपल्स फोरम, गोर्खालीग, क्रामाकपा लगायत यस्ता धेरैवटा सङ्गठनहरू गोर्खाल्याण्ड आन्दोलनको कार्यनीति बुन्न व्यस्त रहेको अनुमान गरिएको छ। तेलङ्गाना गठन भए यता फेरि गोर्खाल्याण्डको आन्दोलन हुनसक्ने देखिएको छ।

0 comments: on "तेलङ्गनाले बल्झाउँदैछ गोर्खाल्याण्डलाई"