मुख्य समाचार :


जीटीए सूनको पिञ्जडा-आरबी

मनोज वोगटी
कालेबुङ, 14 अक्टोबर।
विधानसभा चुनाउको बेला भत्किएको विपक्षहरूको गणतान्त्रिक मञ्च फेरि सङ्गठित हुने सम्भावना बढेको छ। केहीदिन अघि गोर्खालीगले पनि यस्तै संकेत दिएको थियो भने आज क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि सही संकेत दिएको छ। क्रामाकपा अध्यक्ष आरबी राईसित यसबारे प्रश्न गर्दा तिनले भने, चलिरहेको दलीय एकताको कुरा ठीकै हो। यसबारे पार्टीको बैठक हुने छ अनि असङ्गठित शक्तिलाई एकिकरण गरिनेछ। तेलङ्गानाको कुरा इमान्दाररुपले अघि बढिरहेको बेला समस्त गोर्खाहरूको चिह्नारीसित जोडिएको गोर्खाहरूको छुट्टैराज्यको सवालसित किनबेच हुने काम भइरहेको छ। अब सङ्गठित बनेर छुट्टैराज्यको आन्दोलनलाई अघि बडाइनुपर्छ।
यसको निम्ति सबै दलबीच सरसल्लाह हुनेछ। तिनले मदन तामङको हत्यालाई अघि राखेर गोर्खाल्याण्डको मुद्दासित किनबेच भइरहेको आरोप लगाउँदै भने, जनाकांक्षा हो छुट्टैराज्य, त्यही छुट्टैराज्यको निम्ति बङ्गाल विभाजन नहुने घोषणा ममताले बारम्बार गरिरहेकी छन्‌। गोर्खाल्याण्ड राज्य विरोधी राज्य सरकारसित गोर्खा जनमुक्ति मोर्चाले बाध्यताको कारण मुद्दा बेचिसकेको छ। तिनले मोर्चा अहिले सूनको पिञ्जडामा पसेको बताउँदै भने, पिञ्जडा सूनको होस्‌, तर त्यो पिञ्जडा नै हो। जति नै करोडको कुरा गरेपनि आखिर त्यो छुट्टैराज्यको निम्ति होइन। तिनले भुइँचालोले गोर्खाल्याण्डको आवश्यकता अनुभव गरेको भन्ने नेताहरूले भुइँचालोलाई नै अघि राकेर पैसाको कुरा गर्नु दुर्भाग्यको कुरा रहेको पनि तिनले बताए। तिनले भने, अहिले मुद्दालाई छिन्नबिन्न पार्ने काम भइरहेको छ। मोर्चाले सोझै किनबेचको कुरा गरिरहेको छ। बङ्गालले दार्जीलिङ र डुवर्सलाई दासत्वमा राख्न करोडौंको चारो फ्यॉंकिरहेको छ अनि मोर्चा पनि चारोमा फँसेर सूनको पिञ्जडामा परिसकेको छ। भुइँचालोको निम्ति हजार सय करोडको कुरा गर्नु ठीकै होला तर आइलाले मोर्चाको आनिबानी देखाइसकेको छ।
मोर्चाले आइलाको पैसाले पार्टी चलाएको थियो अहिले भुइँचालोलाई अघि राखेर फेरि त्यस्तै दाउ हेरिरहेको छ। वास्तवमा भुइँचालो पीडितहरूलाई हेर्ने काम सरकारको हो। मोर्चाले मौका पायो कि मुद्दालाई होससेलमा बेच्ने काम गरिरहेको छ। तिनले ममता व्यनर्जीको रबैया पनि पहाडका जनतालाई विकास भन्दै गोर्खाल्याण्डको मुद्दा दबाउने नै रहेको बताउँदै भने, ममतालाई तलदेखि माथिसम्म नै स्वागत गरियो। मोर्चाले ममताको मुद्दा दबाउने चलखेललाई सहयोग गरिरहेको छ। ममता व्यानर्जीले प्याकेज फ्यॉंकेको होइन मुद्दा बेच्ने पैसाखोर र भोकमरी नेताहरूको भोक मेटिदिएका हुन्‌।
किन भने उनीहरूले तिनलाई गोर्खाल्याण्डको मुद्दा दबाउनमा भरपुर सहयोग गरिरहेका छन्‌। तिनले अझ भने, स्वीट्‌जरल्याण्ड विश्व कै सबैभन्दा ठूलो गणतन्त्र रहेको ठाउँ हो, तर ममताले दार्जीलिङमा कुन गणतन्त्रको कुरा गरिरहेको छ? जुन ठाउँमा ठूलो नेताको हत्या हुन्छ अनि हत्याराहरूसित मुख्यमन्त्रीले हात मिलाउँछ, यो कस्तो स्वीट्‌जरल्याण्ड हो? जहॉं उभेर पनि मदन तामङको हत्याराहरूको कुरै गर्दैनन्‌ मात्र होइन योबारे कुराकानी गर्नै पनि चहान्नन्‌। यस्तो गणतन्त्रवादीले कुन स्वीट्‌जरल्याण्डको कुरा गरिरहेको हो जनताले बुझ्नुपर्छ। तिनले पहाडको बुनियादी विकासको  कुनै कुरा नगरेर केवल काम टार्ने अनि जनतालाई झुक्याउने योजनाहरूको कुरा मात्र गरिरहेको बताउँदै भने, बाटो, बिजुली र पानी समेतको राम्रो व्यवस्था गर्न नसक्ने सरकारले कुन स्वीट्‌जरल्याण्डको कुरा गरेको हो? मोर्चा र राज्य सरकार मिलेर नै गोर्खाल्याण्डको मुद्दालाई पछिपार्ने जुक्ति गरिरहेको भए पनि सबै दलहरूको सहमति र कार्य योजनामा पहिले क्षेत्रीयस्तरमा आन्दोलन गर्ने अनि राष्ट्रिय कार्यसोंच र विचार रहेका सहयोगीहरूसित मिलेर राष्ट्रियस्तरमा नै आन्दोलन गर्ने दिशामा अहिले दलहरू रहेको समेत तिनले जनाएका छन्‌।

0 comments: on "जीटीए सूनको पिञ्जडा-आरबी"