सुरक्षाबीच दोस्रो सेमिफाइन सम्पन्न
मनोज वोगटी
कालेबुङ,13 अगस्त।
फुटबलले नै कमाएको कालेबुङको नाम फुटबलले नै बदनाम गर्यो। हिजो स्वाधिनता कपको पहिलो सेमिफाइनलमा झारखण्ड रेलवेका खेलाडीहरूलाई रेफरीहरूले पिटेपछि आज सबैको मुखमा कालेबुङले कमाएको नाम रेफरीहरूले बदनाम गरेको चर्चा थियो। कालेबुङ स्पोट्र्स एसोसिएसनले रेफरीहरू विरूद्ध थानामा प्राथमिकी दर्ता गरेको छ। थाना सूत्रले दोषी रेफरी र लाइन्स म्यानहरूलाई कार्वाही गर्ने भएको बताएको छ। पुलिस सूत्रले नै दोषीहरू फरार रहेको पनि बताएको छ। हिजोको घटना कालेबुङको फुटबल इतिहासमा मात्र होइन विश्वकै फुटबल इतिहासमा पहिलो रहेको सबैले बताएका छन्। कालेबुङलाई फुटबल क्षेत्रमा नाम कमाउन शताब्दी लागेको थियो तर कमाएको नामलाई बद्नाम गर्न एक घण्टा पनि लागेन।
कालेबुङको मुटु मानिने मेलाटार, जो पहिले खेल मैदान थिएन, त्यसबेला मेलाटारबाट देशका शीर्ष नेताहरू जवहारलाल नेहरू अनि इन्दिरा गान्धीले उभिएर भाषण गरेका थिए। यो त्यही मेलाटार हो जहॉं फुटबल सिकेर हिस्से वासी जस्ता चर्चित खेलाडीले एशियन गेम्समा खेलेका थिए। पुराना दिनहरूमा दिल्लीको सुब्रतो कप खेल्ने रनबहादुर बस्नेत, गोपाल परियार, सन्तोष प्रधान, डोगेल लेप्चा जस्ता खेलाडीहरूले फुटबल खेल्ने मन्त्र यही मेलटारबाट टिपेका थिए। त्यहीँ हिजो कालेबुङका रेफरीहरूले पहुना खेलाडीहरूलाई पिटिरहेका थिए। कालेबुङले कालेबुङका चर्चित खेलाडीहरूलाई नै देखाएर राष्ट्रिय खेलाडीहरूलाई कालेबुङ जस्तो सानो महकुमामा खेल्न बोलाउँथे।
कालेबुङका खेलाडीहरूले देशलाई देखाएको खेल कौशलको कारण नै उनीहरू पनि कालेबुङ आउँथे। कालेबुङ आउन उनीहरूले गर्व गर्थे। कालेबुङमा फुटबलको क्रेज थियो, दर्शकहरूको भीड लाग्थ्यो। कालेबुङ स्पोट्र्स एसोसिएसन पुरानो संस्था रहेकोले वर्षेनी धेरै खेलहरूको आयोजना गर्ने गरेको छ। यसैक्रममा यसपल्ट पनि स्वाधिनता दिवसको अवसर पारेर यो स्वाधिनता कप खेलाइरहेको थियो। निर्णायककोरूपमा रहेका रेफरीहरू खेल सकिएपछि पहलवान होलान् भनेर कसैले पनि सोंचेका थिएनन्।
हिजोको झड़प देख्ने एक दर्शकले आज बताए, खेलमा जे पनि हुन सक्छ, त्यसलाई नियन्त्रण गर्नु निर्णायकको धर्म हो। खेलअवधी भरि मात्र उनीहरूको क्षमता हुन्छ, तर खेलभित्रको कुरालाई लिएर खेल सकिएपछि उठाउँदै खेलाडीहरूलाई पिट्नुले कालेबुङलाई नै बद्नाम गर्नेे काम गरेको छ। यस्ता रेफरीहरूको सर्टिफिकेट खारेज हुन पर्छ अनि उनीहरूलाई कार्वाही हुनपर्छ। आज दर्शकहरू फुटबल होइन लडाईँ हेर्न जानुपर्छ भन्दै खिल्ली उडाइरहेको पनि देखियो। हिजोको घटनाले बाहिरका खेलाडीहरूलाई असुरक्षित पारेको धेरैले अनुभव गरिरहेको थियो। यसै कुरालाई ध्यानमा राख्दै आज गोर्खा जनमुक्ति युवामोर्चाका प्रतिनिधिहरू खेलाडीको सुरक्षाको निम्ति डटेका थिए भने पुलिस प्रशासनको दलबल पनि मैदान उत्रिएका थिए।
0 comments: on "खेलाडी पिट्ने रेफरीहरूलाई पुलिस प्रशासनले कार्वाही गर्ने"
Post a Comment