मुख्य समाचार :


खहरेसित हार्‍यो भस्मे




मनोज वोगटी
कालेबुङ,13 अगस्त।
मोठ तीसवटा घर भएको 3 माइलको भस्मे गाउँको सम्बन्ध शहरसित हिजोदेखि विच्छेद भएको छ। अनवरत परेको झरीले शहर र भस्मेलाई जोडेर राखेको पुल नै भत्किएपछि यस्तो स्थिति उत्पन्न भएको हो। 75 प्रतिशत ग्रामीण क्षेत्र भएको भारत देशको योजना नीतिले यस्तै ग्रामीण क्षेत्रलाई सम्बोधन गर्न नसक्नु अहिले राष्ट्रिय विडम्बना बनेको छ।

अझ पनि देशको मूल स्रोतबाट ग्रामीण क्षेत्र किनारीकृत नै बनेका छन्‌। यसै त सरकारले ग्रामीण क्षेत्रको विकासको निम्ति सैकड़ौ योजनाहरू तयार पारेको छ तर त्यस्ता योजनाहरू ग्रामीण क्षेत्र पुग्दैन भन्ने प्रमाण पनि वर्षौंदेखि पुलको समस्या भोग्दै आइरहेको भस्मले दिएको छ। अझ पनि सरकारी नीतिमा उपनिवेशवाद हावी रहेको यी नै कारणहरूले पुष्टि गर्ने गरेको छ। राजधानी वा शहर मुखी कार्यालय स्थापना अनि अधिकारीहरूको नियुक्तिले पनि यसै कुरालाई प्रमाणित गरिरहेको छ कि देशको नीति ग्रामीण समस्या निदानको निम्ति तयार पारिएको होइन।

भस्मेले शहरमा रहेका यस्ता धेरै निकायलाई गुनासो गरिसकेको छ, यस्ता धेरै सम्बन्धित कार्यालयमा पुगी पुल बनाइदेउ भनेर गुहार लगाइसकेको छ तर अहिलेसम्म कसैले पनि सुनिदिएन। यद्धपि यो बस्तीको सबैभन्दा ठूलो समस्या भनेको नै पुल रहेको छ, जो छैन भने उनीहरूको जीवन नै चल्दैन। पारि शहर अनि वारि गाउँ, बीचमा यो पुल छ तर पोस्योर जस्तो ठाड़ो खोलाले वर्खामा जहिले पनि पुल बगाइदिन्छ। यसकारण बर्खा लाग्यो कि यो बस्तीको सातो नै जाने गर्छ।

पोस्योर खोला जस्तो खहरेले कुन दिन आतङ्‌क मच्चाउँछ अनि भस्मेवासीलाई हुनसम्मको दुःख दिन्छ कसैलाई थाहा छैन। भस्मेका पीडित लक्ष्मण राईले भने, बस्तीमा धेरै दुःख छ। हामी सबै बीपीएल परिवार हौं। बीपीएलले पाउनुपर्ने सहुलियतहरू पाएका छैनौं। सुतिखोती गरिखान्छौं। नानीहरू पढाउँछौं। जीविकोपार्जनको निम्ति जतिनै दुःख होस्‌, तर पाखुरामा हामीलाई विश्वास छ, यसकारण ती दुःखहरूको सामना गर्न सक्छौं तर यो पुललाई बगाइदियो भने हामी केही गर्न सक्दैनौं। हामी बर्वाद हुन्छौं। न खोलासित लड्‌ने क्षमता हामीसित छ न त खोलाले बिगार गर्न नसक्ने पुल बनाउने नै ताकत छ। सरकार, जसकोमा यो ताकत छ उ चुपचाप हाम्रो रमिता हेरिरहेको छ। तिनी अनुसार जुन पुल थियो त्यो गोर्खा जनमुक्ति मोर्चाका नेता सुनिल प्रधानले पोहोर मात्र केही खर्च गरेर बनाइदिएका हुन्‌।

हिजो रातीको झरीले त्यो पनि बगाइदिएपछि भस्मेको सम्बन्ध नै बजारदेखि विच्छेद भएको छ। राईले भने, यही पुल भएर तीस घरका नानीहरू शहर पढ्‌न जान्छन्‌। यही पुलबाट हामी दानापानी ओसार्छौं। बिरामीलाई तार्छौं। भस्मेको जीवन रेखा जस्तो रहेको यो पुल बगाइदिएकोले उनीहरू चिन्चित छन्‌। पुल निर्माता सुनिल प्रधान पनि घटनास्थलमा पुगेका थिए। तिनले भस्मेको दुःखलाई आत्मसात गर्दै सक्दो कोशिश गरिदिने बताएका छन्‌। वरिपरि भीर छ, जहॉंबाट विकल्प बाटो बनाइन पनि सकिँदैन। जतैबाट बाटो बनाए पनि पोस्योर खोला नै बीचमा आउने गर्छ। जहिँबाट पनि पुल बनाउनै पर्ने हुन्छ। लक्ष्मण राईले भने, यहॉं स्थायी पुल निर्माण गरिदिए हाम्रो कल्याण हुनेछ। तिनले जबसम्म पुल बनिँदैन तबसम्म कसरी र कुनबाटो राशिन पानी ल्याउनु केही बुझ्न नसकिरहेको बताए। तिनले भने, यी केटाकेटीहरू अब स्कूल पो जान पाउने हुन्‌ कि होइनन्‌।

0 comments: on "खहरेसित हार्‍यो भस्मे"