मुख्य समाचार :


रेमिका थापालाई भाइचन्द स्मृति पुरस्कार

मनोज वोगटी
कालेबुङ,13 जुलाई।
नेपाली साहित्य अध्ययन समितिले 197 औं भानु जयन्ती पालन गर्दै युवा पुस्ताका शसक्त कवयित्री रेमिका थापालाई यसवर्षको भाइचन्द स्मृति पुरस्कार प्रदान गर्‍यो। मङ्‌पूका वरिष्ट कवि मोहन ठकुरी कार्यक्रमका मुख्य अतिथि थिए भने तिनकै बाहुलीबाट मङ्‌पू कै शसक्त युवा कवि रेमिका थापालाई तिनको कविता कृति देश र अन्य कविताहरू-को निम्ति यो पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम अनि समितिका अध्यक्ष डा सरोजा राई अनि वरिष्ट कवयित्री सानुमति राईको उपस्थितिमा यो पुरस्कार थापाई प्रदान गरियो। पुरस्कारस्वरूप 12 हजार नगद राशि, स्मृति चिन्ह अनि प्रशस्ती पत्र प्रदान गरियो। कार्यक्रममा कवि सुधीर छेत्रीले साहित्यकार भाइचन्द प्रधानको परिचय राखे भने कथाकार शमशेर अलीले रेमिका थापाको परिचय राखे। पुरस्कार ग्रहणपछि कवयित्री रेमिका थापाले आजका नयॉं कविलाई यसरी पुरस्कार प्रदान गर्नु ठूलो प्रेरणा हुने बताउँदै आफू सचेतरूपले लेखनमा रहेको पनि जनाइन्‌।

तिनले भनिन्‌, केही दिन अघि मात्र नेपालका कवि मनु मञ्जिलले टिकटमा कविता भन्नको निम्ति टिकट छाप्न मलाई मैले पाएको पुरस्कार सोधेका थिए। मैले तिनलाई पुरस्कार नपाएको कुरा बताएको केही दिनमा नै मलाई यो पुरस्कार दिने घोषणा भयो। यसले मलाई लेखनमा इमान्दार बनाउने छ। तिनले आफू कथ्य र कथनलाई नयॉंदिशा दिँदै अहिले किनारीकृत लेखनमा अग्रसरित रहेको जनाउँदै भनिन्‌, देश र अन्य कविताहरूमा मूलधारामा रहेकाहरूको देशप्रेम र किनारूकृतहरूको देशप्रेमको भेद लेख्ने कोशिष गरिएको छ। एउटै देशको नागरिकहरूको देेशप्रेममा किन अन्तर हुन्छ? उनीहरू देशप्रेममा डुव्दा हामी किन गुनासो गर्छौं? यस प्रश्नलाई मैले निक्कै गम्भीर लिएँ र यो कृति आयो। तिनको दोस्रो कृति गाउँमा कविता-को सन्दर्भमा पनि गाउँलाई हेर्ने र रोमान्टिसिज्मभित्रको अतिवादबाट उम्केर ग्लोबल सरकम्टान्सेस-मा गाउँको सही अवस्थान खोज्ने कोशिश गरिएको जनाउँदै तिनले आफ्नो कृति वेदनाको पछिल्तिरबाट नै किनारीकृत लेखनको अवधारणा विकसित बनेका जनाए। आफ्नो लेखन किनारीकृत लेखनसम्म आइपुग्दाको अनुभूतिहरू बताउँदै थापाले किनारीकृत लेखन अहिले नेपाल र भारतमा नै सरोकारको विषय रहेको जनाइन्‌।

नेपाल र भारतमा भिन्नाभिन्नैरूपले लेखनमा किनारीकरण हेरिएको जनाउँदै तिनले भने, अहिले जुन डायस्पोरिक लेखन चलिरहेको छ। नेपालले भारतका नेपाली लेखनलाई पनि त्यसै दृष्टिले हेर्ने काम भइरहेको अवस्थामा यताका लेखन डायस्पोरिक होइन भनेर छुट्याउने यही किनारीकृत लेखन रहेको छ। मुख्य अतिथि मोहन ठकुरीले रेमिका थापालाई पुरस्कृत गर्नु अहिलेका युवा कविहरूलाई मान्यता प्रदान गर्नु रहेको जनाउँदै भने समिती अनि कालेबुङसित आभार व्यक्त गरे।

तिनले भने, रेमिकाले पाएको पुरस्कारले मङ्‌पू अनि त्यसपछि समस्त युवा सर्जकहरूलाई महिमित गरेको छ। युवा सर्जकहरूले अब नयॉं जिम्मेवारीलाई कॉंध हाल्ने उर्जा यसैबाट प्राप्त गर्नेछन्‌। यसै अवसरमा भुवन खनालले वार्ता राखेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरूले रामायण पाठ गरेका थिए।

0 comments: on "रेमिका थापालाई भाइचन्द स्मृति पुरस्कार"