मुख्य समाचार :


छत्र सुब्बा र साथीहरूको मुक्तिको निम्ति

गोर्खा जनमुक्ति मोर्चाले पनि बोल्नुपर्छ-क्रामाकपा
मनोज वोगटी
कालेबुङ,13 जुलाई।
14 जुलाईको दिन कलकत्तामा राजनैतिक बन्दीहरूको उन्मुक्तिको निम्ति बन्दीमुक्ति कमिटीले अधिवेशन गर्ने भएको छ। जसलाई कमिटीको जिल्ला शाखाका उपाध्यक्ष तथा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको युवा सङ्गठन गणतान्त्रिक युवा मोर्चाका सचिव अरूण घतानीले पनि अंशग्रहण गर्ने भएको क्रामाकपा आञ्चलिक समिटीका सचिव किशोर प्रधानले दिएका छन्‌। मुख्यमन्त्री ममता व्यानर्जीले राजनैतिक बन्दीहरूको मुक्तिको निम्ति समिती गठन गरेर 46 जनालाई मुक्त गर्ने बताएको भए पनि यसमा छत्र सुब्बाहरूको नाम छैन। यद्धपि क्रामाकपाले दोस्रो चरणको मुक्तिमा छत्र सुब्बाहरूको नाम आउन सक्ने आशा गरेको पनि आज प्रधानले जनाएका छन्‌। ममताले राजनैतिक बन्दीहरूलाई मुक्त गर्ने कुरा गरेपछि क्रामाकपाले बन्दी मुक्ति कमिटीलाई छत्र सुब्बाहरूको मुद्दाबारे दस्तावेज बनाएर बुझाइसकेको छ भने कमिटीले त्यसलाई राज्य सरकार समक्ष दिइसकेको छ। प्रधानले भने, हामीलाई आशा छ छत्र सुब्बाहरूको मुद्दालाई राजनैतिक कारण मान्दै उनीहरूको मुक्तिको पहल हुनेछ। अधिवेशनको उद्देश्य पनि सॉंचोरूपमा राजनैतिक बन्दीहरूलाई मुक्त गर्नुपर्ने सम्बन्धमा निष्कर्ष निकाल्नु रहेको बताउँदै प्रधानले यस कार्यक्रममा चर्चित लेखिका महास्वेता देवी लगायत वरिष्ट चिन्तक विभाष चक्रवर्ती, जय गोस्वामी, छोटनदास, बसु रोय, नव दत्त, अतुल मुखोपाध्याय तथा अन्यको उपस्थिति रहने छन्‌। प्रधानले भने, क्रामाकपा छत्र सुब्बाहरूको मुक्तिको निम्ति अझ पनि डटेर लागिपरेको छ। बन्दी मुक्ति कमिटीसित मिलेर धेरै पहल गरिरहेको छ। तर यस्तोबेला गोर्खा जनमुक्ति मोर्चाले कुनै शब्द नबोल्दा हामीलाई अचम्म लागेको छ। तिनले मोर्चाले छत्र सुब्बाहरूको मुद्दालाई कानूनी बताउँदै उन्मुक्तिको निम्ति उकिलहरू लगाएको तर अहिलेको सन्दर्भमा मोर्चामा मौनता छाएको बताए। तिनले भने, मोर्चाले विकासमा सम्झौता गरिरहेको छ। सरकारसित पनि राम्रो सॉंठगॉंठ छ। मोर्चाले बोलेको राज्यले सुन्छ भनेर मोर्चाले भनि रहेको छ। तर 10 वर्षदेखि गोर्खाल्याण्डका योद्धाहरू जेलमा छन्‌ अनि राज्य सरकारले राजनैतिक बन्दीहरूलाई मुक्ति गर्ने कुरा चलिरहेको बेला समेत कुनै कुरा मोर्चाले गरेको छैन। उनलाई मुक्त गर्दा कसलाई नोक्सान छ? राजनैतिक कुरा छोड़ौ मानवताको नाममा पनि मोर्चा अब बोल्नुपर्छ। मोर्चा किन बोल्दैन? तिनले अझ के पनि भनेका छन्‌ भने वामफ्रण्ट अनि गोरामुमोको विरूद्धमा लड्ने मोर्चाले वामफ्रण्ट अनि गोरामुमोको राजनैतिक षड़यन्त्रको कारण 10 वर्षदेखि छत्र सुब्बाहरू जेलमा बिनादोष षड़िरहेको बेला मोर्चा नबोल्नु उचित होइन। स्मरणीय कुरा के छ भने छत्र सुब्बाहरूलाई गोर्खाल्याण्ड माग्नेलाई यसरी सड़ाउँछौं भन्ने उदाहरणकोरूपमा राज्य सरकारले नै जेलमा राखिरहेको कुरा राजनीतिज्ञहरूले जनाएका छन्‌। आखिर किन छत्र सुब्बाहरूको निम्ति पहाड़को बलियो राजनैतिक दल बोल्दैन? यसै पनि निक्कै अचम्म लाग्दो प्रश्न उठिरहेकै छ।

छत्र बारे मलाई केही थाहा छैन। तिनको विरूद्धमा मैले प्राथमिकी पनि दर्ता गरेको छैन-कठघरामा उभिएर सुबास घिसिङले यसो भनिदिएपछि स्पष्ट भइसकेको थियो कि छत्र सुब्बाहरू निर्दोष छन्‌। तरै पनि उनीहरूलाई जलपाइगुढी जेलमा राखियो। 10 वर्षदेखि छत्र सुब्बा अनि तिनका छ जना साथीहरूले विनादोष जेलयातना भोगिरहेका छन्‌। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष सुबास घिसिङमाथि प्राण घातक आक्रमण गरेको आरोपमा तिनलाई भारत नेपालको सीमाक्षेत्रबाट पक्राउ गरिएको थियो। वामफ्रण्टको सरकार कालमा पक्रापरेका छत्र सुब्बाहरू बङ्गालमा ममताको सरकार आउँदा पनि जेलमा नै छन्‌। मुख्यमन्त्रीको आशन सम्हाल्ने बित्तिकै मुख्यमन्त्री ममता व्यानर्जीले बन्दीहरूको मुक्तिको कुरा गरेको भए पनि छत्र सुब्बाहरूको मुक्तिको कुरा अझ धमिलो नै छ।

0 comments: on "छत्र सुब्बा र साथीहरूको मुक्तिको निम्ति"