मुख्य समाचार :


अन्नाको निम्ति एक हुन सक्छ भने पहाड़को भ्रष्टचारको विरोेधमा किन हुन सक्दैन?

प्रश्न उठ्‌न थाल्यो

मनोज वोगटी
कालेबुङ,19 अगस्त।
जनलोकपाल बीलको निम्ति अन्ना हजारेले गरेको पहलले राष्ट्रिय समर्थन प्राप्त गरेको छ। हजारेलाई प्राप्त समर्थनबाट पहाड़ पनि अछुत रहेन तर कसैले पनि बलियोरूपले दागापोप भ्रष्टचारबारे आवाज बुलन्द गरेन। आज कालेबुङमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले अन्ना हजारेको समर्थनमा जुन जुलूस निकाल्यो यसबाट पहाड़को भ्रष्टचारमाथि पनि विरोध गर्ने उर्जाको विकास गर्नुपर्ने भुतपूर्वसैनिक मोर्चाका अध्यक्ष कर्णल रमेश आलेले बताएका छन्‌।

अन्ना हजारेले भ्रष्टचारको अन्त्य हुनुपर्ने सम्बन्धमा राष्ट्रभरिका जनताको ध्यान खिँचे। भ्रष्टचारको विरूद्ध अन्नाको युद्ध देशभरि फैलिरहेको बेला दागोपापको भ्रष्टचारको कुरा उठ्‌नुपर्ने हो तर अहिलेसम्म नै कुनै पनि सङ्गठनले यसबारे आवाज उठाएको छैन।
अन्ना हजारेले अपाइरहेको सफलताबाट प्रेरणा लिएर दागोपापमा भएको भ्रष्टचारको निम्ति लड्न पनि जिल्लाका जनता सड़कमा आउन पर्ने सबैले अनुभव गरिरहेका छन्‌ तर कसैसित पनि दागोपाप भ्रष्टचारको हिसाबकिताब छैन। गोरामुमो सीका अध्यक्ष कर्णल डीके प्रधानले बोक्रे विरोध र सतहीरूपले आन्दोलित रहने संस्कारबाट मुक्त बन्न नसकेको कारणले नै पहाड़मा भ्रष्टचारको विरोध हुन नसकेको बताएका छन्‌। तिनले भने, आइलाको निम्ति आएको 60 करोड कहॉं पुग्यो? घिसिङले छोड़ेको दागोपापको 1 सय 21 करोड कहॉं पुग्यो? यसबारे कसले आवाज उठाइरहेको छ? अन्ना हजारेले भ्रष्टचारको विरोध गर्दा एक हुनसक्छ भने पहाड़को भ्रष्टचारको विरोधको निम्ति किन एक हुन सक्दैन? के पहाड़मा भ्रष्टचार गर्नेहरूलाई स्वतन्त्र छोडिदिनुपर्ने हो त? आँगनमा नै भ्रष्टचार भइरहेको छ। न त पानीको व्यवस्था छ न त बाटोको।

न त विजुलीको व्यवस्था राम्रो छ न त शिक्षाको। यसैको निम्ति सरकारले राशि अनुमोदन गरेको छ, ती राशिहरू ठीकसितले प्रयोग भयो कि भएन कसले हेर्ने? तिनले पहाड़ले अन्ना हजारेबाट पनि सही शिक्षा लिन नसक्नु लाजमर्दो कुरा रहेको बताएका छन्‌।
अन्ना हजारेले भ्रष्टचार विरूद्ध जनलोकपाल बील ल्याइनुपर्ने माग गरेपछि दार्जीलिङ जिल्लाका यस्ता कोही मानिस छैनन्‌ जसले दागोपापको भ्रष्टचारको रहस्यको पर्दाफास होनुपर्ने सम्बन्धमा आन्दोलन होस्‌ भनेर नसोंचेको होस्‌। फेसबुकदेखि एसएमएससम्म, फोनदेखि भेटघाटसम्म अन्नासित नै पहाड़मा भइरहेका भ्रष्टचारहरूको चर्चा चलिरहेको छ।
तर अहिलेसम्म दागोपापमा कति राशि आयो र कति सरकारीरूपमा प्रयोग गरियो? यसको हिसाब किताब कहॉं छ? मिड डे मिलदेखि साक्षारता अभियानसम्म, पञ्चायतदेखि नगरपालिकासम्मको भ्रष्टचारको हिसाब किताब कसले खोज्ने हो? फेसबुक वालमा जलढकाका प्रकाश छेत्रीले पनि यस्तै प्रश्न उठाउँदै लेखेका छन्‌। अन्नाको समर्थनमा फेसबुकको वाल भरिएको भए पनि पहाड़को भ्रष्टचारबारे जिज्ञासा राख्नेहरू भने तर थोरै छन्‌। माकपादेखि गोरामुमोसम्म, गोरामुमोदेखि गोजमुमोसम्मले दागोपापमा आएका राशिहरूको दुरूपयोग गरेका छन्‌ तर यसको विरूद्ध आवाज उठाउने जनताको निम्ति सही ठाउँ नरहेको केही नेताहरूले भन्ने त गरेका छन्‌ तर उनीहरूसित पनि भ्रष्टचारको सही तथ्याङ्‌क हातमा छैन।
करोड़ौको घोटला चलिरहेको छ, तर घोटालाबाजहरू खुल्लमखुल्ला छाती फुकाएर हिँड़िरहेका छन्‌। हजारेबाट प्रेरणा लिएर जनता सड़कमा आए मात्र जनताको पैसा दुरुपयोग गर्नेहरूले सही दण्ड पाउन सक्छन-भ्रष्टचारको विरोधमा रहेको तर खुलेर बोल्न नसक्ने एक वरिष्ट नागरिकको कुरा यस्तो छ। यता कर्णल डीके प्रधानले गोरामुमोले गरेको भ्रष्टचारको पर्दाफास गर्छु भन्ने गोजमुमोले सबै कार्यालयहरूको घोटला सम्बन्धित सरकारी कागज हात पारिसकेपछि चुपचाप बसेको अनि आफुले पनि गोरामुमो कै राग अलापेको कुरा गर्दै के भनेका छन्‌ भने जति नै भ्रष्टचार भए पनि बङ्गाललाई भने कुनै मतलब छैन। घोटला गर्न दिन्छ अनि त्यसैलाई कमजोरी बनाएर छुट्टैराज्यको निम्ति लड़िरहेका आन्दोलनकारीहरूलाई दुर्बल बनाउँछ।

यसै पनि पहाड़मा विभिन्न प्रश्नहरू उठिरहेका छन्‌ जस्तैः- गोरामुमोले गरेको भ्रष्टचारको के कुनै खोजतलास हुँदैन? बीएल मिनाले खुलासा गरेको घोटलाबारे कसैले चासो नलिने? चुपचाप बसेर जुन दल आउँछ उसलाई भ्रष्टचार गर्न प्रेरित गर्ने? भ्रष्टचार गर्दै पार्टी चलाउनेहरूको टुप्पी उखेल्न सचेत र शिक्षित समाज अघि आउन पर्छ।
यता विमल गुरूङले पनि भनिसकेका छन्‌, दागोपापमा प्रशस्त भ्रष्टचार भएको छ, यसको खुलासा हुनपर्छ। दोषीहरूले दण्ड पाउनपर्छ। दागोपापमा रहेको भ्रष्टचार मात्र होइन, विभिन्न सरकारी निकायहरूमा चलेको भ्रष्टचारहरूको पनि खुलासा गर्न बुद्धिजीवीहरूले कार्य गर्नुपर्ने कालेबुङका युवावर्ग पनि बताउँछन्‌। एक युवक दिवाकर छेत्रीले पनि भने, भ्रष्टचार भनेको जनताको अधिकारमा अवरोध ल्याइने अपराध हो। यस्ता अपराधीहरूलाई दण्ड दिलाउनको निम्ति युवाशक्तिको प्रयोग गरिनुपर्छ।

माकपा नेता तारा सुन्दासले पनि हजारेबाट पाठ सिकेर पहाड़का भ्रष्टचारी नेतामात्र होइनन्‌, कन्ट्राक्टर, विभिन्न विभागका अधिकारीलाई दण्ड दिलाउन सबै अघि आउनुपर्ने बताउँदै भने, अन्ना हजारेले जुन भ्रष्टचारबाट स्वाधिन हुनुपर्ने आन्दोलन गरेको छ, त्यो क्षेत्रीयस्तरबाट नै व्यवहारिकरूपले गरिनुपर्छ। यसो गरे मात्र हजारे सपल बन्ने छन्‌।

0 comments: on "अन्नाको निम्ति एक हुन सक्छ भने पहाड़को भ्रष्टचारको विरोेधमा किन हुन सक्दैन?"