प्रज्ज्वल छेत्री कालेबुङ,19 अगस्त।
यस्तो अघि कहिल्यै भएको थिएन, कि साता दिनसम्म अँध्यारोमा बस्नुपरोस्, यसैपाली यस्तो भइरहेको छ।
अब साता दिनसम्म त के
महिनादिनसम्म पनि बिजुली गाउँमा बल्ने हो होइन पत्तो छैन, तिनदिनदेखि कालेबुङ बजारको मुटु ठाकुरबारीमा बिजुली अनियमितता भोगिरहेका एक उपभोक्ताले यसरी गुनासो गरेका छन्।
कालेबुङ बजारसित नै जोड़िएको ठाकुरबारीमा तीनदिनदेखि बिजुली नभएकोले इलेक्ट्रोनिक कामकाजनै चौपट बनेको छ। बजारसित नै जोडिएको ठाकुरबारीमा बिजुलीको यस्तो अवस्था छ भने ग्रामीण क्षेत्रमा कस्तो होला-भन्छन् एक उपभोक्ता। यसै पनि अहिले कालेबुङमा बिजुली अनियमित्ताले उपभोक्तालाई हैरान पारिसकेको छ।
कालेबुङका विधायक डा.हर्कबहादुर छेत्रीले बिजुली बाल्न मात्र कालेबुङको निम्ति मात्र 32 करोडको योजना बनाएको बताए पनि त्यो योजना आकाशको फल आँखा तरि मर भने जस्तो नै बन्ने हो कि भन्ने कुराको प्रशस्त सम्भावना रहेको छ। किन भने अहिले कालेबुङको बिजुलीको निम्ति कार्यनियन्त्रक कार्यालय सिलगढीमा नै छ।
कालेबुङ कार्यालयका सहायक अभियन्ता पी. शेर्पाले सिलगढीमा कार्यालय रहेको अनि नष्ट सामाग्रीहरूको माग गरिएको भए पनि अनुमोदन हुन समय लाग्ने बताएका छन्।
ठाकुरबारीमा ट्रान्सफर्मर पड्किएकोले बिजुलीको अनियमित्ता भइरहेको तिनको स्पष्टिकरण छ। तिनले एउटा तथ्य के पनि जारी गरेका छन् भने सधैँ एकवर्षमा 25 देखि 35 वटा सम्म ट्रान्सफर्मर नष्ट हुने गर्थ्यो तर अहिले महिनादिनमा नै 15 भन्दा धेर नष्ट हुनेगरेको छ। नष्ट भएपछि त्यसको भरपाई गर्न सिलगढी कार्यालयमा रिपोर्ट बुझाउँदै ट्रान्सफर्मर माग्नुपर्छ। जिल्लाभरि नै ट्रान्सफर्मर नष्ट हुने भएकोले आवेदनहरूको थाक हुने गरेकोले आवेदन गरिएको सामाग्री अनुमोदन भएर कालेबुङ आउन समय लाग्न सक्छ। समय लाग्ने नै भए पनि ठाकुरबारीमा सातदिनसम्ममा बिजुली बल्न सक्ने तिनले आश्वासन दिएका छन्।
तर कार्यालीय औपचारिकता र कार्य ढिलाईको कारण ठाकुरबारीमा सातादिनमा बिजुली बल्ने सम्भावना भने थोरै छ। यस क्षेत्रमा बिजुली नभएकोले त्यहॉंका व्यवसायीहरू, सप्तश्री ज्ञानपीठ विद्यालय, कम्प्युटर सेन्टर र साइबर क्यापेहरूको अहिले हरिबिजोक छ। इलेक्ट्रोनिक काम गर्नेहरूले जुन हानी बेहोर्नु परिरहेको छ, त्यसको भरपाइ कसले गर्ने? स्थानीयहरूले यो प्रश्न अहिले उठाउन थालेका छन्।
0 comments: on "कालेबुङमा लगातार बिजुली अनियमितता"
Post a Comment