कालेबुङका युवा फोटोग्राफरहरूले गरे प्राकृतिक अभिव्यक्तिको प्रदर्शन
मनोज वोगटी
कालेबुङ,19 अगस्त।
फोटोग्राफी कलात्मक अभिव्यक्ति हो,प्राकृति सौन्दर्यलाई एक फोटोग्राफरले जुनरूपले पस्किन्छ, पारखीलाई त्यहॉंभित्र फोटोग्राफरले देखाएको कलाले प्रभावित पार्छ। दर्शक प्रभावित भयो भने त्यो फोटोग्राफरको सफलता हुन्छ-एकवर्षदेखि फोटोग्राफीमा मनोयोग दिएर लागिपरेका युवा फोटोग्राफटर लवाङ लेप्चाले हर्षित मुद्रामा पत्रकारहरूलाई भनिरहेका थिए। आज रामकृषण रङ्गमञ्चको अम्बेदकार सभागृहको चारभित्ता मोठ 44 वटा फोटोहरूले सजिएको थियो।
आज वर्ल्ड फोटोग्रफी डे-लाई बहाना बनाएर हामी स्थानीय 8 जना फोटोग्राफरहरूले आजदेखि दुइदिने फोटो प्रदर्शनी गरेका हौं-प्रदर्शनीबारे स्थानीय चर्चित फोटोग्राफर सामतेन काबोले भने। केटीभीका निर्देशक नरेन्द्र तामङले प्रदर्शनीको उद्घाटनीमा भने, युवा फोटोग्राफरहरूले आफ्नो प्रयासमा गरेको यो फोटो प्रदर्शनी नयॉंहरूको निम्ति सिँडी हो।
कालेबुङकी डिप्युटी म्याजिस्ट्रेट डिछेन ओङ्मुले रिबन काटेर प्रदर्शनीको उद्घाटन गरिदिइन्। आठ-बाह्र साइजको फ्रेममा सजाइएका फोटोहरू हेर्दै कार्यक्रमका अतिथि हेमकुमार राईले सबैलाई सुनाए, कलाका अन्यतम अभिव्यक्तिहरू दिने यी फोटाहरू भोलीका भविष्य हुन्।
अन्तराष्ट्रियस्तरका फोटोपत्रिका, अन्तराष्ट्रिय, राष्ट्रिय फोटो प्रतियोगिताहरूमा सहभागी भनेर कालेबुङको फोेटोकलालाई उकाल्दै आइरहेका फोटोपत्रकार चिन्लोप फुदोङ, सामतेन काबो,नृपेन घतानीहरूदेखि लिएर व्ल्याक एण्ड वाइट क्यामेरा हुँदैदेखि फोटोग्रापी गर्दै आइरहेका वरिष्ट फोटोग्राफर गणेशमणि प्रधानसम्मका फोटोहरू सजिएको प्रदर्शनीमा नयॉं अनि प्रतिभावान फोेटोग्राफरहरू लोवाङ लेप्चा, प्रवीण छेत्री लाडेन लेप्चा अनि विमल दियालीसमेतले मौका पाएका छन्। वेटर फोटोग्राफी, स्मार्ट फोटोग्राफी अनि टक सिक्किम जस्तो अन्तराष्ट्रिय, राष्ट्रिय पत्रिकाहरूमा फोेटो छपाउँदै नाम कमाइरहेका फोटोपत्रकार चिन्लोप फुदोङले भने, नयॉं फोटोग्राफरहरूमा जुन उर्जा र कला देखियो, यसलाई हेर्दा अर्को पुस्ता पनि हामीसित तयार भइरहेको प्रमाणित गरेको छ। नयॉं फोटोग्राफरहरूले कालेबुङमा पहिलोपल्ट प्रदर्शनी गरिरहेका थिए।
यी फोटोग्रफरहरूलाई मुख्य गरी इन्टरनेटले नै जोड़ेका हुन्। अनलाईन फोटोपत्रिकाहरू फोटोफ्लक डट कम, आईफेच डट कम, डिभियन आर्ट डट कमहरूमा फोटो प्रकाशित गर्नेहरू अनि आफ्नै रुचीले निरन्तर पोटोग्राफी गर्दै आइरहेकाहरूले सरसल्लाह गरेर यो प्रदर्शनी गरेको सामतेम काबोले बताए। कुनै सङ्गठनले होइन, फोेटोग्राफरहरूले नै मिलेर प्रदर्शनी गरेका हौं-तिनी भन्छन्।
कालेबुङमा फोटोकला कहिलेदेखि शुरू भयो भन्ने निश्चित इतिहास थाह नभएपनि विशवभरी नै फोटोग्राफीमा क्षेत्र रहेकोले आ-आफ्नै रुचीले यो क्षेत्रमा लागेकाहरू अहिले सङ्गठित भइरहेका छन्। दुइदिने फोटो प्रदर्शनीमा राखिएका फोटोहरूको मूल्य 15 सय तोकिएको छ।
यस सम्बन्धमा प्रश्न गर्दा नृपेन घतानीले भने, यसै त यो कलात्मक कार्य हो, पारखीहरूले मन पराएर लैजान चाहे, उनीहरूको निम्ति यो मूल्य तोकिएको हो। किन भने फोटोग्राफी व्यवसाय पनि हो। यसैलाई करियर बनाउनको निम्ति फोटोग्राफरहरूलाई व्यवसायिक पनि हुनुपर्छ भन्ने कुरा बुझाउन पनि यो मूल्य तोकिएको हो। कलकत्तामा प्रदर्शनी गरिसकेका अनि कालेबुङमा पहिलोपल्ट प्रदर्शनी गरिरहेका प्रवीण छेत्री र लोवाङ लेप्चाले फोटोग्रापीलाई नै प्रोफेसन बनाउने सोचेका छन्। फेसन, वेडिङ, जर्नलिज्म, वाइल्ड लाइफ यस्ता धेरै क्षेत्रहरू छन् जसबाट फोटोग्राफरहरूले आफ्नो केरियर बनाउन सक्छन्-लोवाङ भन्छन्। हामीलाई कसैले बताइदिएनन् कि फोेटोग्राफी पनि करियरको क्षेत्र हो। हामी प्रदर्शनीबाट यही कुरा भन्न चहान्छौं-तिनले भने। प्रवीणले पनि भने, हामी युवा फोटोग्राफरहरू मिलेर फोटो ग्यालेरी बनाउने सोंचमा छौं। कालेबुङका दृश्यहरूलाई लिएर पोष्टकार्ड बनाउने योजना पनि छौं। हामी चहान्छौं पर्यटनलाई बढाउनको निम्ति फोटोग्राफीलाई पनि मुख्य आधारस्रोतकोरूपमा निर्माण गर्न सकौं।
युवाजोशले म पनि उचालिएँ-प्रधान
सबैभन्दा पाको फोटोग्राफर गणेशमणि प्रधान,जसले पहिलो फोटो एउटा व्ल्याक एण्ड वाइट 120 फिल्म साइज क्यामेराले खिचेका थिए, तिनी भन्छन्, अहिलेका युवा फोटोग्राफरहरूले कर गरेको कारण नै मैले पहिलो प्रदर्शनी गरिरहेको छु। किन भने उनीहरूको जोशले म उचालिएको छु। यस क्षेत्रमा अहिले प्रतियोगितात्मक परिस्थिति रहेको तिनी मान्छन्। अहिले डिजिटल क्यामेरा सबैसित त छन् तर उनीहरूसित कलात्मकता छैन। यसकारण प्रोफेशनल फोटोग्राफरहरको निम्ति आफ्नो क्षेत्र खुल्ला नै छ-तिनी भन्छन्। बुवा शेषमणि प्रधान, काका पुष्पमणि प्रधानको स्टुडियो भएकोले फोटोमा चासो बढेेको बताउने प्रधानको फूल नर्सरी पनि छ। छोरा महेन्द्रलाई जिम्मा दिएर तिनीले त्यसबाट पनि अवकास लिए।
अहिले तिनी फोटोग्राफी नै गरिरहेका छन्। अन्तराष्ट्रिय पत्रिका अर्किड रिव्यु, अमेरिकन अर्किड सोसाइटी बुलेटिन, अर्किड डाइजेस्ट(युएसए)मा अर्किडमाथि लेख लेख्दालेक्दै फोटोमा पनि चस्को लागेको प्रधानले 1962 को भारत चीन युद्धअघि कालेबुङमा फोटोग्राफीको अन्तराष्ट्रिय महत्व रहेको बताउँदै त्यसैबेला कालेबुङमा नामी स्टुडियोहरू स्थापित भएको बताउँछन्। अहिले इन्टरनेटले संसारलाई गाउँमा रुपान्तर गरेपछि भने कालेबुङ जस्तो ठाउँबाट पनि युवा फोटोग्राफरहरूले प्रतियोगितामा सहभागी बनिरहेका छन्, यसैबाट फोेटोग्रापीको भविष्य छुट्याउन सकिन्छ-तिनी भन्छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "विश्व फोटोग्रापी दिवसको अवसरमा"
Post a Comment