मुख्य समाचार :


एम थेगिम नै सन्तोष?

उठ्‌दैछ राष्ट्रिय सुरक्षाको सवाल
मनोज वोगटी
कालेबुङ, 2 अगस्त।
सन्तोष सुब्बालाई केरकार गर्न सिलगढ़ीबाट आज सीआईडी अनि आईबी टोली कालेबुङ आइपुग्यो। सुब्बालाई हिजो एडिसनल चिफ जुडिसियल म्याजिस्ट्रेडको कोर्टमा उभ्याएर पुलिसले सातदिनको निम्ति हिरासतमा लिएको थियो। यता सन्तोषसित संलग्न रहेको आशंकामा सोधखोजको निम्ति पक्राउ गरिएका तोपखानाको राजु दूतराजलाई कालेबुङ पुलिसले मुक्त गर्‍यो। सन्तोषलाई सीआईडीको दुइ सदस्यीय टोली अनि आईबीको तीन सदस्यीय टोलीले थानामा लगभग तीन घण्टा केरकार गर्‍यो। सीआईडी प्रतिनिधिहरूसित जान्न खोज्दा उनीरूले यस मामिलामा केही बताउन चाहेनन्‌। अहिलेसम्म नै मीडियालाई सन्तोष सुब्बा अनि स्टोभ बम विस्फोटबारे पुलिसले आधिकारिकरूपले केही बताइरहेको छैन। अहिलेसम्म मीडियाले पुलिस सूत्रलाई नै प्रयोग गर्दै धेरैवटा कुरा अघि ल्याइरहेको छ। मीडियाले प्रकाशमा ल्याइरहेका कुराहरू कति सॉंचो हुन्‌ पुलिसले अहिलेसम्म कुनै पनि टिप्पणी खुलेर नदिएकोले यसको पुष्टि हुन सकिरहेको छैन।

केही प्रिन्ट मीडियाले सरकारी बसमा स्टोभ बम पड्‌किएको अनि सार्वभौम राष्ट्रको माग गर्दै बम विस्फोटको जिम्मेवारी लिने कथाकथित यूएलए अनि यसको चिफ एम. थेगिमको टिप्पणीलाई आधार गरेर नेपालमा भइरहेको लिम्बुवानको दाबी अनि ग्रेटर नेपालसित पनि जोड़ेर हेरिरहेको छ। नेपालमा टिस्टादेखि सतलजसम्मको भूभाग नेपालमा फिर्ता हुनुपर्ने भन्दै ग्रेटर नेपालको आन्दोलन गर्ने सङ्गठनहरू निक्कै सक्रिय नै छ। माओवादीहरूले पनि नेपालबाट गुमेको 55 वटा राज्यहरू पुन प्राप्त हुनुपर्ने कुरामा आन्दोलन चलाएको राष्ट्रिय मीडियाले प्रकाशमा ल्याइसकेको छ। यता एम. थेगिमले सार्वभौम राष्ट्रको कुरा गरेर ग्रेटर नेपाल अथवा लिम्बुवान कै संकेत गरेको हुन सक्ने अनुमान पनि भारतका गुप्तचर विभागले गरिरहेको सूत्रद्वारा थाहा लागेको छ।

गोर्खाल्याण्डको आन्दोलनमा जब सिब्सुकाण्डको इतिहास जोड़ियो त्यसबेला बङ्गाल सरकारप्रति जनताको रोष चुलिमा पुगेको थियो। त्यसबेला कालेबुङ कै मोटर स्ट्याण्डमा बसहरू जलाउने काम भएको थियो। त्यसकाण्डको धेरै महिनापछि जब सोही ठाउँमा सरकारी बस उडाउन स्टोभ बम पड्‌काइयो तब बङ्गाल पुलिसले घटनालाई सामान्य मानेन। यसकारण सेन्ट्रल फोरेन्सिक साइन्स लेबोराटोरीका सदस्यहरू विस्फोटले क्षतिपारेका भागहरूको जॉंच गर्न कालेबुङ आए। सीआईडीका सदस्यहरूले पनि रौचिरा उपस्थिति कालेबुङलाई दिइरहेको छ। बम विस्फोट गरेको दुइदिनपछि एम.थेगिमले विस्फोटको जिम्मेवारी लिँदै गोर्खा जनमुक्ति मोर्चाले जीटीए थापेर जनतालाई धोका दिएको अनि अब छुट्टै राज्य होइन यूएलएले सार्वभौम राष्ट्रको दाबी गर्ने चुनौति दिएपछि घटनाले नयॉं मोड़ लिएको थियो। थेगिमबाट यस्ताखाले टिप्पणी र चुनौती आए पनि पुलिसले गम्भीर नलिएको विस्फोट काण्डको जॉंच गर्न आएका आइजी रणबीर कुमारले बताएका थिए।

यता पुलिसले आधिकारिकरूपले कुन्नै टिप्पणी नदिए पनि पुलिस सूत्रले भने एम.थेगिमले जुन मोबाइल फोेन र सिम प्रयोग गरेका थिए त्यो सन्तोषबाट उद्वार गरेको समेत बताइसकेको अनि पुलिसले फोनको आईएमई नम्बरसितै सीम फेला पारेको समाचार केही प्रिन्ट मीडियाले प्रकाशित गरेपछि एम.थेगिम सन्तोष सुब्बा नै हो भन्ने कुरा प्रमाणित हुने देखिएको छ। एम. थेगिमले सार्वभौम राष्ट्रको कुरा गरेकोले राष्ट्रिय सुरक्षाको सवाल उठिरहेको छ। यसै पनि गोर्खाल्याण्डको आन्दोलनलाई ग्रेटर नेपालसित जोड़ेर गोर्खाहरू राष्ट्र विरोधी हो भन्ने प्रमाण गर्न बङ्गालका गोर्खा विरोधी सङ्गठनहरूले थुप्रै प्रदर्शन गरिसकेको छ। यस्तोे अवस्थामा सन्तोषको मुद्दाले गम्भीररूप लिने देखिएको छ। तर यता सन्तोष सुब्बाले भने मीडियालाई आफू निर्दोष रहेको अनि आफ्नो पिता छत्रे सुब्बाको रिहाई हुन लागेको बेला षड़यन्त्र गरेर पक्रिएको स्पष्ट जनाइसकेका छन्‌। छत्रे सुब्बाको रिहाइ हुने बेला तिनको छोरालाई यो मुद्दामा पक्राउ गर्नुले पनि रोटक शंकाहरू उपार्जन गरिरहेको सबैले अनुमान गरिरहेको छ।

0 comments: on "एम थेगिम नै सन्तोष?"