मुख्य समाचार :


छत्रे सुब्बाहरूलाई राजनैतिक बन्दीको दर्जा दिइनुपर्छ-दास

अगस्तमा सुनवाई


मनोज वोगटी
कालेबुङ, 2 अगस्त।
ममता व्यानर्जीले बङ्गालमा सरकार गठन गरेपछि राजनैतिक बन्दीहरूलाई मुक्त गर्ने प्रक्रियालाई तीब्र गर्दै एउटा रिब्यु कमिटी गठन गरेको छ। जसको अध्ययन अनुसार अहिले 52 जना बन्दीहरूलाई मुक्त गर्ने प्रायः स्पष्ट भइसकेको छ। 52 जनामा 48 जना उत्तर बङ्गाल कै बन्दीहरू रहेका छन्‌ भने रहल 4 जना पूर्व बङ्गालका बन्दीहरू रहेका छन्‌।

पहिलो चरणमा ती बन्दीहरूलाई मुक्त गर्ने भएको छ तर यसमा छत्र सुब्बाहरू परेनन्‌। ममता व्यानर्जीले गठन गरेको रिब्यु कमिटीमा रहेको बन्दी मुक्ति कमिटीका छोटन दाससित यस सम्बन्धमा कुरा गर्दा तिनले 52 जना बन्दीहरू राजनैतिक बन्दी रहेकोले उनीहरूलाई पहिले चरणमा मुक्त गरिने बताए।

अहिलेसम्म बन्दीमुक्ति कमिटीलाई छत्र सुब्बाहरूले राजनैतिक बन्दीको मर्यादा प्राप्त गरेको छ कि छैन भन्ने कुरा अझसम्म स्पष्ट भएको छैन। तिनले भने, हामी छत्र सुब्बाहरूलाई दोस्रो चरणमा मुक्त गरिनुपर्ने मागमा रहेका छौं। यसको निम्ति कागजपत्रहरू बुझाइसकिएको छ। जसको जॉंच भइरहेको छ। तर छत्र सुब्बाहरू मुक्त हुनको निम्ति उनीहरूलाई राजनैतिक बन्दीको दर्जा दिइनुपर्छ। यस सम्बन्धमा कुनै खबर हामीलाई छैन।

यता बन्दी मुक्ति कमिटीका दार्जीलिङ जिल्ला उपाध्यक्ष अरूण घतानीसित बुझ्न चहॉंदा तिनले छत्र सुब्बाहरूको सजाय समाप्त भइसकेको जनाए। तिनले भने, छत्र सुब्बाहरूलाई जति पनि मुद्दा लगाइएको थियो त्यसैको आधारमा पनि उनीहरूको 10 वर्षको सजाय समाप्त भइसक्यो। अहिले उनीहरूलाई राजनैतिक बन्दीको मर्यादा दिइनुपर्ने माग गरिरहेका छौं। तर कोर्टमा उनीहरू सम्बन्धित कागजपत्रहरू हराएको कुरा आइरहेको छ। यो कतिको सत्य हो जॉंच गरिनुपर्छ। नत्र फेरि अर्को षड़यन्त्र ममता सरकारमा पनि भइरहेको स्पष्ट हुनेछ।

तिनी अनुसार गणतन्त्रको बहालीको कुरा गर्ने ममता व्यानर्जीको सरकारले कुन गणतन्त्रलाई बङ्गालमा स्थापित गर्ने हो त्यो यसै मुद्दाबाट पनि छर्लङ्ग हुने बताउँदै भने, अगस्त महिनामा छत्र सुब्बाहरूको सुनवाई हुने भएको छ। यो सुनवाई उनीहरूलाई मुक्त गर्नको निम्ति हुनुपर्ने छ तर हामीले फेरि कतै न कतै फेरि कुनै षड़यन्त्र मडारिरहेको आभाष पाउन थालेका छौं।

0 comments: on "छत्रे सुब्बाहरूलाई राजनैतिक बन्दीको दर्जा दिइनुपर्छ-दास"