मुख्य समाचार :


26 जनवरी हेलिकप्टरमा टुप्पीले झुण्डेर उड्‌ने

गिनिज बुक वर्ल्ड रेकर्ड बनाउने होमगार्ड


मनोज वोगटी
कालेबुङ, 1 अगस्त।
जसरी भए पनि नाम नै कमाउनु हो, मैले रमाइलो गर्दै नाम कमाएँ-2007मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाउने सिलगढी देशबन्धु पाडाका होमगार्ड शेलेन्द्रनाथ रोयले कालेबुङमा भने।

तिनी होमगार्डको नोकरी गर्छन्‌। ट्राफिक डीएसपीको वाहन चलाएर आफ्नो सर-लाई कालेबुङ लिएर आउँदा कालेबुङको मीडियासित तिनको जम्काभेट भयो। कि त असम्भव काम गरेर कित असामान्य काम गरेर मात्र गिनिज बुकमा वर्ल्ड रेकर्ड बनाउन सकिन्छ।

शैलेन्द्रले टुप्पीले धेरै अग्लो तारमा 270 फिट झुण्डिएर यो रेकर्ड बनाएका हुन्‌‌‌। घिर्लिङ हिँड्‌ने जस्तो अग्लो तारमा टुप्पीमा तुर्लुङ्ग झुण्डिएर वारिदेखि पारि पुग्नु लरतरो काम थिएन। शैलेन्द्रले भने, 2001 मा मैले जुङ्गाले 20 किलोको ढक उचालेर सबैलाई देखाइदिँदा सबैले उस्काए। तैले त वर्ल्ड रेकर्ड बनाउन सक्छस्‌ भन्नेहरू निस्किए। सॉंच्चि नै मैले त्यो रेकर्ड भारतको पक्षमा बनाएँ।

शैलेन्द्र विहान बेलुकी 1 घण्टा योगा गर्छन्‌। 20 किलोमिटर कुद्‌छन्‌। आफूलाई फिट राख्छन्‌। परर नेपाली बोल्न सक्ने शैलेन्द्रले भने, ढक जुङ्गाले उचालेपछि म टुप्पीतिर लागेँ। मैले टुप्पीले पहिले ट्रक ताने अनि बसहरू। टुप्पीले नै मैले रेल पनि ताने। हेलिकप्टरमा टुप्पीले नै झुण्डिएर देखाइसकेको छु। यसै कारण भारत सरकारले 26 जनवरीको दिन दिल्लीमा मनाउने गणतन्त्र दिवसको दिन भारतको झण्डा बोकेर म हेलिकप्टरमा झुुण्डिएर मेरो कला देखाउनेवाला छु। शुरू शुरूमा समाजमा इमेज बनाउन शैलेन्द्रलाई निक्कै गाह्रो पर्‍यो। अभ्यास गर्दै गएपछि 20 किलोको ढक जुङ्गाले नै उचाल्न सकेपछि तिनलाई केही गर्न सक्छु भन्ने साहस आयो। यसपछि टुप्पीले तिनले यति खेला देखाइदिए कि गिनिज बुक अफ वर्ल्ड रेकर्ड नै कायम गरे। तिनले भने, अहिले म जुङ्गाले 50 कलोको ढक उचाल्न सक्छु अनि टुप्पीले रेल त तानी सके अब तान्नुपर्ने कुनै कुरा छ भने त्यो तान्ने छु। तिनलाई सबैले आफ्नो कलालाई रमाएर हेरेको मनपर्छ।

तिनी भन्छन्‌, मानिसहरू खुशी बन्छन्‌, अनि म पनि खुशी बन्छु। तिनलाई जुङ्गाले 50 किलोको ढक उचाल्दा , टुप्पीले हेलिकप्टरमा तुर्लुङ्ग झुण्डिँदा दुख्छ तर अभ्यास गरेपछि सबै काम गर्न सकिन्छ भन्ने धारणा शैलेन्द्रको छ। तिनको टुप्पी लगभग एक फुटको छ। टुप्पीमा डोरीले बॉंधेपछि तिनी रेल पनि तान्न सक्छन्‌। तिनी भन्छन्‌, बल गरेर यत्रो ठूलो कुरा एउटा मान्छेले तान्न सकिन्न। यसको निम्ति कला हुनु अनिवार्य छ। ममा त्यो अभ्यास छ।

0 comments: on "26 जनवरी हेलिकप्टरमा टुप्पीले झुण्डेर उड्‌ने"