कालेबुङ, 19 अगस्त
नेपालको ललितपुरमा भएको एनसेल नेपाल लिटरेचर फेस्टिभलमा दार्जीलिङबाट तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईले विशेषरूपले उपस्थिति दिए। तिनले यसै कार्यक्रममा आफ्नो लेखनीको राज पनि खोले।
तिनले आफ्नो सम्बोधनमा तेस्रो आयामेली लेखनको विषयमा प्रकाश पार्दै भने, घाम र वायुमण्डलजस्तै चेतना पनि एउटै हुन्छ भन्ने निष्कर्षमा त हामी पुग्यौं। तर, लेख्ने कसरी भन्ने विषयले समस्या पार्यो। बुकवर्मले आयोजना गरेको महोत्सवमा राईले अझ भने, पहिले लेख्नेे टेक्निकको तयारीमा लाग्यौं। सम्पूर्णता लेख्न के केले सघाउँला भन्ने धुनमा लाग्दा मिथकबाट लेख्नुपर्ने रहेछ भन्ने कुरा ईश्वरवल्लभ र बैरागी काइँलाले सुझाए।
चित्रकलामा घनवाद चलेको बेला लेखनीलाई पूर्णता दिन त्यही वाद अँगालेको पनि उनले स्वीकारे। क्रोध, आनन्द र हर्ष मनमा जसरी आउँछ त्यसैगरी लेख्नुपर्छ। पढ्नेलाई चिसो र तातोको अनुभूति दिन विवरण बनाएर लेखियो भने झुटो भइन्छ। झट्टै व्यक्त गर्ने जुक्ति चित्रकलाबाट पायौं र तेस्रो आयाम सुरु गर्यो- उनले स्पष्ट पारे। लेखन विधिको सीमा र कुन बाटो लागे कहॉं पुगिन्छ भन्ने थाहा नहुने आफ्नो अनुभव पनि तिनले सुनाए।
आफूले पढेका पुस्तकका प्रभावमा लेखेको बताउँदै उनले भने, पढ्दै जॉंदा आँखा खुल्छ, चेतना आउँछ। तर, समय धेरै नै बितिसकेको हुन्छ। राईसँगै आयामेली लेखनमा लागेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलालेे महोत्सव उद्घाटन गरेका थिए। महोत्सवको पहिलो दिन नै गोविन्द वर्तमान, महेशविक्रम शाह र कुमार नगरकोटीले ’क्राफ्ट एन्ड कन्टेन्ट’को बारेमा बोलेका थिए।
चार दिन चल्ने महोत्सव अन्तर्गत शनिबार ’रिपोर्टिङ साउथ एसिया’, उपन्यासमा आधारित फिल्म, लीला लेखन, समाज र साहित्य, सिर्जनात्मक लेखन र नारी, युवा लेखन विषयमा छलफल कार्यक्रम हुने आयोजकपक्षले बताएको छ।
0 comments: on "नेपालमा खोले इन्द्रबहादुर राइले आफ्नो लेखनीको राज"
Post a Comment