मुख्य समाचार :


लेप्चाहरूले मनाए टेण्डोङ लोरूम फात पूजा



कालेबुङ,20 अगस्त।
स्थानीय बोङ गुम्पा गाउँ क्योङ सेजोङले लेप्चा सार्वजनिक भवनमा आज पारम्परिकरूपमा टेण्डोङ लोरूम फात पूजा पालन गर्‍यो। पूजामा दार्जीलिङ, कालेबुङ, खरसाङ लगायत 22 वटा क्षेत्रबाट लेप्चा प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथि इण्डिजिनस लेप्चा ट्राइबल एसोसिएसनका अध्यक्ष ल्याङसोङ तामसाङ रहेका थिए भने सचिव पीटी सिमिक विशिष्ट अतिथि थिए। कार्यक्रममा लेप्चा कलाकारहरूले पूजासंगै पौराणिक मुरली वादन धन्काउँदै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा मुख्य पुजारीकोरूपमा उपस्थित रहेका पद्मश्री पुरस्कारले सम्मानित पद्मश्री सोनाम छिरिङ लेप्चाले पूजाबारे जानकारी गराउँदै भने, पृथ्वीको सभ्यता अस्थिर छ। कुनै पनि प्राणीले एकपल्ट जन्म लिएपछि मृत्यु निश्चय छ। जब पृथ्वीमा प्रलय भएको थियो त्यसबेला लेप्चाहरू सिक्किममा अवस्थित टेण्डोङ पर्वतमा आश्रय लिएर बॉंचेका थिए। त्यसै काललाई पर्वकोरूपमा लेप्चाहरूले पालन गर्ने गर्छन्‌ अनि टेण्डोङ पर्वतलाई मुक्ति दाताकोरूपमा मानिलिएर पर्वतको पूजा गर्ने परम्परा हामीमा छ।

तिनले यही परम्परालाई पौराणिक कालदेखि नै पालन गर्दै आइरहेको बताउँदै भने, यो स्कारलाई लेप्चाहरूले गरगरमा सिमित गरिरहेका थिए अनि संस्कार लोपोन्मुख भइसकेको थियो। यसैले लेप्चाको संस्कारलाई संरक्षण गर्न 1993 मा मैले सिक्किममा लेप्चाहरूले आफ्नो परम्परालाई भुल्न नहुने अनि यसलाई सामुहिकरूपले पालन गर्नुपर्ने कुरा प्रचार गरेपछि यसरी सामुहिकरूपले पूजा गर्ने चलन बसेको छ।

0 comments: on "लेप्चाहरूले मनाए टेण्डोङ लोरूम फात पूजा"