मुख्य समाचार :


भाषा प्रयोगको व्यवहारिकताको गुहार लगायो क्रामाकपाले



मनोज वोगटी
कालेबुङ,20अगस्त।
सिक्किमका सांसद दिलकुमारी भण्डारीले रोइकराई गरेपछि संविधानको आठौं अनुसूची अन्तर्गत मान्यता पाएको नेपाली भाषाको संरक्षणकोे निम्ति नेपाली भाषीहरूको कुनै उल्लेखनीय पहल अहिलेसम्म देखिएको छैन अर्कोतिर सरकारले पनि यो भाषाको संरक्षणको निम्ति कुनै पनि पहल गरेको देखिएको छैन। भाषाले मान्यता पाएको 19 वर्ष पुगिसक्दा पनि नेपाली भाषालाई सरकारले नै अवहेलना गरेको नेपाली भाषीहरूले अनुभव नगरेपनि पहाड़को दोस्रो बलियो राजनैतिक दल क्रामाकपाले गरेको छ।

36 वर्षको आन्दोलनपछि 20 अगस्त 1992मा मान्यता पाए पनि नेपाली भाषाको संरक्षणको निम्ति उल्लेख योग्य कार्य नभएको मान्दै आज क्रामाकपा प्रतिनिधिहरूले नगरमा भाषा संरक्षणको अपील गर्दै पर्चा बॉंडे। पश्चिम बङ्गालमा 1961 मा नै प्रतिष्टित भाषाकोरूपमा स्थापित भइसकेको नेपाली भाषालाई बङ्गाल सरकारले व्यवहारिकरूपले संरक्षण गर्ने काम त गरेन गरेन नेपाली भाषीहरूले नै पनि भाषा संरक्षणको निम्ति उचित कुनै पहल गर्न नसकेको बताउने क्रामाकपाले नेपाली भाषाको व्यावहारिक प्रयोगलाई जोड दिएको छ। क्रामाकपा आञ्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले भने, सन्‌ 1971 मा रतनलाल ब्राह्मणले 71 जना सांसदहरूलाई नेपाली भाषाले मान्यता पाउनुपर्छ भन्ने कुरामा सहमति जुटाउँदै हस्ताक्षर गराएका थिए, भाषाले मान्यता पाउनुको आधारशीला नै यही थियो।

36 वर्षको आन्दोलनपछि मान्यता पाएको भाषाको संरक्षण के कस्तो भइरहेको छ भन्ने चिन्ता कसैले गरेको देखिएको छैन, जो गम्भीर विषय बनेको छ। तिनले क्रामाकपाले गोरामुमोकालमा नेपाली भाषाको व्यवहारिक प्रयोगलाई लिएर पहल गरेको भए पनि गोरामुमोले पहल सफल हुन नदिएको पनि बताए। तिनले भने, बङ्गालमा बहुसंख्यकले अल्पसंख्यकलाई शासन गर्ने जुन संस्कार छ, यसैको चपेटमा नेपाली भाषा पनि परेको छ। यसैकारण नेपाली भाषालाई सरकारले व्यवहारिक प्रयोगमा ल्याएको छैन। तिनले भने अनुसार हरेक नेपाली भाषी क्षेत्रको पसल, कार्यालय, बहानको नम्बरप्लेट अनि सरकारी कार्यालयमा नेपाली भाषाको प्रयोग हुन पर्ने हो तर यस दिशामा सरकारले त काम गरेन नै नेपाली भाषीहरूमा पनि चासो देखिएन। तिनले भने, कालेबुङ महाविद्यालयमा संस्कृत पढाइन्छ जब कि संस्कृत पढ्‌ने विद्यार्थी नै छैनन्‌। यता नेपाली भाषा एक करोडले बोल्ने भाषा भए पनि बङ्गालको अन्य ठाउँमा नेपाली भाषाको पठनपाठन नै छैन।

तिनले अझ भने, हामीले पर्चामा सबै नेपाली भाषीलाई आफ्नो भाषाको संरक्षणको पहलमा अघि आइदिने अनुरोध गरेका छौं। यता भाषा मान्यता दिवसलाई नेपाली साहित्यिक संस्थाहरूले पनि महत्व दिएको देखिएन। बसिबिँयालोले भने पुस्तकालयमा औपचारिक भाषा मान्यता दिवस पालन गर्‍यो भने सप्तश्री ज्ञानपिठ विद्यालयले पनि भाषा मान्यता दिवस पालन गर्‍यो।

0 comments: on "भाषा प्रयोगको व्यवहारिकताको गुहार लगायो क्रामाकपाले"