छोरा सन्तोषको त्यागको मुल्याङ्कन भएन-गङ्गाप्रसाद
मनोज वोगटी
कालेबुङ,20 अगस्त।
मोरारजी देशाईले नेपालीहरूलाई विदेशीको संज्ञा दिएपछि नेपाली भाषीहरूलाई एउटा लडाई जित्नै पर्ने दायित्व आइपर्यो अनि 20 अगस्त 19
92 मा यो लडाईँ नेपाली भाषीहरूले जिते। यो लडाईँमा सबै दत्तचित्तले नलागेको भए नेपाली भाषाले मान्यता पाउने थिएन। भाषा आन्दोलनमा सबैले आफ्नोपक्षबाट योगदान त पुर्याएकै थिए तर कालेबुङका सन्तोष कार्कीले भने आफ्नो ज्यान नै दिएर आन्दोलनलाई जित्नै पर्ने युद्द बनाइदिएका थिए। 8 जुलाईको दिन कार्कीको हत्या गरिएको थियो अनि तिनको हत्याको ठीक 42 दिनमा भारतको आठौं अनुसूची अन्तर्गत नेपाली भाषाले मान्यता पाएको थियो।
भाषाले त मान्यता पायो तर ती नै नेपाली भाषीहरू अघि भाषा आन्दोलनका शहीद सन्तोषले भने मान्यता पाएन। कालेबुङका सन्तोष कार्की कम्युनिष्ट थिए। तिनले मान्यता नपाउनुको कारण यही थियो कि भन्ने शंका कालेबुङका बुद्धिजीवीहरूले बेलाबेला टेबल गफतिर मात्र गर्ने गरेका छन्। सीता कार्की र गङ्गाप्रसाद कार्कीका दस छोराछोरी मध्ये सन्तोष माइला थिए। कम्युनिष्ट पार्टीमा रहे पनि तिनी भाषा आन्दोलनका एक योद्धा रहेका थिए। भाषा बिरोधीहरूको जगजगीमा पनि निर्धक्कसित भाषाले मान्यता पाउनुपर्ने अडान राख्न सक्ने सन्तोषको हत्या 8 जुलाई 1992को दिन गरियो।
हत्या कसले गरेका थिए? यो प्रश्नको उत्तर 19 वर्षसम्म तिनको परिवारले पाएका छैनन्। 91 वसन्त पार गरिसकेका वृद्ध सन्तोषका पिता गङ्गाप्रसाद कार्कीले छोराको सम्झाना गर्दै भने, सन्तोषले जुन भाषाको निम्ति योगदान दियो त्यही भाषा बोल्ने समाजले सन्तोषको योगदानको कदर गरेन। तिनलाई छोराको मृत्यु अनाहकमा भएको बेलाबेला लाग्ने गरे पनि नेपाली बोल्नेहरूको सामु छोराको त्यागले गौरव अनुभव गराउने बताउने गङ्गाले अझ भने, भाषाले मान्यता त पायो तर नेपालीहरूले नै नेपाली भाषाको प्रयोग नगरे पनि एमए तहसम्म पढाइन्छ। अन्य भाषाको तुलनामा हाम्रो भाषा पनि हाराहारीमा रहेकोले म खुशी छु। तिनले नेपाली भाषीहरूले नै नेपाली भाषा नबुझ्ने संस्कृति बड्दै गइरहेकोमा चिन्ता पनि व्यक्त गरे। गङ्गाप्रसादले आफू सुत्ने पलङकै माथि ठूलो गरी सन्तोषको पोष्टर टॉंसेका छन्।
तिनी भन्छन्, सन्तोषको अनुहारले मलाई उर्जाशील बनाउँछ, किन भने उ शान्त र आँटिला थिए। गरिबको पक्षमा थियो उ। उसको फोटोले मलाई सधैँ केही न केही भनिरहेकै हुन्छ। तिनले सोझै भने, मान्यता पाएर पनि यसको प्रयोग हाम्रैहरूले गर्न सकेनन् भने अरूलाई किन दोष्याउनु?म त हाम्रैहरूको दोष देख्छु। कार्यालयमा चलाउन सक्छ भन्ने सरकारी निर्देश भए पनि हाम्रा मान्छेले यसलाई प्रयोगमा ल्याउनु पर्ने सम्बन्धमा केही गर्न नसकेको तिनी बताउँछन्। तिनी भन्छन्, यसदिशामा बरू सरकारले बेलाबेला चासो देखाउँछ तर पहाड़का कुनै पनि राजनैतिक दलहरूले चासो देखाएको जस्तो मलाई लाग्दैन।
तिनीसित आफ्नो छोरोको हत्या सम्बन्धमा पनि बलियो विचार छ। तिनी भन्छन्, मेरो छोराको मृत्युमा जति दुःख लाग्यो त्यो भन्दा धेर दुख मेरो छोराको हत्या नेपाली भाषीले नै गरेकोमा लागेको छ। जसको म बॉंचिञ्जेल भर्त्सना गर्छु। अर्कोतिर एक छोरा अनि दुइ नातानातिनीसित बसेकी सन्तोषकी स्वास्नी पेमिला कार्कीले पनि आफ्नो लोग्नेको मृत्युलाई गॉंठो पारेर भाषाको निम्ति सहिदिएकी छन्। लोग्ने राजनैतिक सचेत रहेको अनि आफ्नो भाषाको निम्ति मरिमेट्ने प्रवृतिको रहेको स्मरण गर्दै भन्छिन, नेपाली भाषाको निम्ति नै अन्तमा तिनले ज्यान पनि दिए। मान्यता पायो तर मलाई नेपाली भाषाको प्रयोग उचितसित भएको लाग्दैन। तिनी भन्छिन, प्राथमिक तहदेखि नै नेपाली भाषाप्रति आकर्षित गराइनुपर्छ। कार्यालयमा यो भाषाको प्रयोगको निम्ति कसैले पनि चासो देखाएको जस्तो लाग्दैन।
सन्तोषको परिवारले स्पष्ट के भन्यो भने ज्यानसमेत गुमाएर पाएको भाषाको कदर आखिरमा नेपाली भाषीहरूले नै गर्न सकेको छैन। भाषाको निम्ति शहीद भएको सन्तोषको परिवारलाई सन्तोषको मृत्युलाई नेपाली भाषी समाजले नै अवहेलना गरेको अनुभव रहेको छ। परिवारलाई सन्तोषको त्यागको निम्ति एकपल्ट कालेबुङ महाविद्यालय अनि माकपा पार्टी कार्यालयमा खदा लगाइदिएको मात्र थाहा छ। यसैले स्पष्ट पार्छ सन्तोषले ज्यान दिएर नेपाली भाषाले मान्यता त पायो तर मान्यता पछि उनै सन्तोषको त्यागले भने नेपाली भाषीहरूबीच नै मान्यता पाएन।
0 comments: on "भाषाले मान्यता पाए पनि पाएन सहीद सन्तोषले"
Post a Comment