यूजीआरएफलाई यूएलएसँग जोड्नु आफूलाई फँसाउने षडयन्त्र मात्र हो-अजय दाहाल
प्रज्ज्वल वोगटी
कालेबुङ, 4 अगस्त।
‘यूजीआरएफ नाम फेरेर यूएलए भएको शंका’-भनी एक दैनिकमा सामाचार प्रकाशित भएपछि यूजीआरएफ प्रमुख अजय दाहालले उक्त कुराको घोर आपत्ति जनाएका छन्।तिनले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै यो आफूलाई फँसाउने षड्यन्त्र मात्र रहेको बताएका छन्।
कसैको स्वार्थको निम्ति यूएलएजस्तो अपरिपक्क राष्ट्रविरोधी दलसँग आफूलाई मुछ्ने प्रयास गरेकोमा घोर आपत्ति जनाउँदै भने, यहॉं मलाई फँसाउने षड्यन्त्र हुँदैछ।
यूजीआरएफ राष्ट्रविरोधी दल होइन, हामी क्रान्तिकारी दिशामा कार्य गरेर छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने दल हौं। क्रान्तिकारीहरूले बसमा बम राख्ने कुरा सोंच्न पनि सक्तैनन् अनि साधारण जनतालाई दुःख दिने कार्य क्रान्तिकारीहरूले कदापि गर्दैनन्।
उक्त समाचार प्रकाशित गर्ने दैनिकको माध्यमबाट कसैको स्वार्थको निम्ति छुट्टै राज्य माग्ने दलहरूप्रति षड्यन्त्र भइरहेको बताउँदै तिनले भने, कसको स्वार्थको निम्ति यूजीआरएफलाई वम बिस्फोट अनि यूएलएसँग जोड्दैछ? कसको स्वार्थमा, कसको भनाईमा, कसको निर्देशनमा, कसको प्रभावमा आफूलाई फँसाउन यस्तो कार्य गरिँदैछ? एकपल्ट होइन तर लगातार तीन दिनसम्म यस समाचारलाई स्थापित गर्नुको अर्थ के हो? तिनले प्रश्न गरे।
तिनले अझ बताए अनुसार जनताले जीटीएलाई पूर्ण रूपले समर्थन जनाएको छैन अनि मोर्चा भित्रमै पनि दुइ पक्ष देखिन थालेको छ।
यस्तो अवस्थामा छुट्टै राज्य माग्ने दलहरूलाई दमन गर्ने षड्यन्त्र पनि हुनसक्ने तिनले अनुमान लगाएका छन्। तिनले अझ भने-2006 सालमा एक दैनिकले म पल्टनमा छँदा पनि कन्धाहार प्लेन हाइजेकमा जोड़ेर गोरामुमोको आयु लम्बाउने प्रयास गरेको थियो भने आज भारतीय संविधानको आधारमा छुट्टै राज्य माग्ने क्रान्तिकारीलाई, बाबाको किरिया बारेर भर्खरै निस्केको अजय दाहाललाई पत्रिकाको माध्यमबाट सत्ताको सेवा गर्न अनापसनाप लेखेर बङ्गाल सरकार अनि पुलिसलाई वातावरण बनाइदिने कार्य गर्दैछन्।
यस पूर्वाग्रहित पित पत्रकारिता अनि सम्पादकको गैर जिम्मेवारीपूर्ण कार्यको विरोधमा प्रेस गिल्ड, प्रेस क्लब कालेबुङमा पनि गुनासो दर्ता गर्ने अनि पत्रिकाको विरोधमा मानहानी मुद्दा पनि दर्ता गर्ने बताएका छन्। तिनले पत्रकार सम्ेलनमा बम बिस्फोट गराइनुको केही सम्भावनाहरू पनि व्यक्त गरेका छन्। प्रथम यो स्टोभ बम नभएर ड्रग दुर्व्यसनी या साधारण नागरीकहरूद्वारा भएको दुर्घटना हो।
यूएलए नामक कुनै सङ्गठन छ जसले स्टोभ बम पड्काएर जीटीएको विरोध जनायो अनि 86 सालको आन्दोलनलाई 88 मा बेचेपछि जनविद्रोहलाई दमन गर्न जसरी सुवास घिसिङले विभिन्न मुद्दाहरूमा फँसाएर जेल हाल्ने कार्य गरे त्यसरी नै अहिले पनि जनतामा आतङ्क फैलाउन अनि इमान्दार आन्दोलनकारीहरूलाई थन्को लगाउन यो सम्पूर्ण नाटक सत्ता र व्यवस्थाकै उपज हो। थेगिम नाम भएको मानिसको कुनै अस्तित्व छैन।
यो विस्फोट पनि आजको सत्ता र व्यवस्थाको मिलिभगतमा भएको पुरानै इतिहासको पुनरावृत्ति हो, गोर्खा जातिको सङ्घर्षलाई दमन गर्ने तेस्रो अध्याय हो भन्ने सम्भावनाहरू व्यक्त गरेका छन्। कम भाड़ामा यात्रीहरूलाई सेवा पुर्याउने एनबीएसटीसी बसमा मात्र स्टोफ बम पड्काइनुमा तिनले व्यवसाय होड़बाजीको निम्ति यस्तो कार्य हुनसक्ने पनि सम्भावना व्यक्त गरेका छन्।
पग्ला कुकुर
12 years ago
0 comments: on "यूजीआरएफ राष्ट्रविरोधी दल होइन"
Post a Comment