मुख्य समाचार :


खुफिया विभागका उच्च अधिकारीहरूद्वारा पनि सन्तोष सुब्बालाई केरकार

प्रज्ज्वल वोगटी
कालेबुङ, 3 अगस्त।
उत्तर बङ्गाल परिवहन निगम वम विस्फोटकाण्डमा पक्राउ गरिएको छत्रे सुब्बाका छोरा सन्तोष सुब्बालाई पुलिस प्रशासन, सीआइडी अनि खुफिया विभागका अधिकारीहरूले दिनहुँ केरकार गरिरहेको छ।

बसमा भएको विस्फोट, भूमिगत बताइने यूएलए र त्यसका प्रमुख एम. थेगिमबारे ठोस प्रमाण निकाल्न सात दिनको निम्ति पुलिस रिमाण्डमा राखिएको सुब्बाबाट भरसक मुख खोलाउने प्रयास प्रशासनले गरिरहेको छ।

आज पनि सुब्बालाई केरकार गर्न खुफिया विभागका अधिकारी एसएसआइबी सी.एस. लेप्चा कालेबुङ आइपुगेकी थिइन्‌। सीआइडी अधिकारीहरू अनि कालेबुङ थाना प्रभारीको उपस्थितिमा सिलगड़ीबाट आएकी एसएसआइबी सी.एस. लेप्चाले घटनाबारे सन्तोष सुब्बालाई लगभग तीन घण्टासम्म केरकार गरिन्‌।

प्रशासनले अहिलेसम्म सुब्बालाई दिनहुँ केरकार गरिरहेको भएपनि केरकार गर्दा के-कस्तो तथ्य फेला पर्दैछ सो विषयमा अहिलेसम्म प्रशासनले स्पष्टरूपमा मुख खोलेको छैन। विस्फोटलाई प्रशासनले त्यति सजिलोसित लिएको छैन। घटनासित सम्बन्धित संदिग्ध व्यक्तिहरूलाई केरकार गर्ने कार्य यथावत राखेको छ।

विस्फोटमा प्रयोग गरिएका समानहरूलाई फोरेन्सिक जॉंजको निम्ति पठाइएको छ। अब चॉंड़ै नै फोरेन्सिक जॉंचको रिपोर्ट निस्कने अनि रिपोर्टकै आधारमा प्रशासनले ठोस पहल गर्नसक्ने सुत्रले बताएको छ।

स्मरण रहोस्‌, गत 26 जुलाई विहान यहॉंको मोटर स्ट्याण्डमा उत्तर बङ्गाल परिवहन निगमको एउटा बसमा विस्फोट भएको थियो। पछिबाट यूएलए नामक भूमिगत भनिने सङ्गठनका प्रमुख एम थेगिमले घटनाको जिम्मेवारी लिँदै जीटीएको प्रतिवाद अनि सार्वभौम राष्ट्र गोर्खाल्याण्डको माग गरेपछि शंकाको आधारमा सन्तोष सुब्बालाई प्रशासनले गत आइतवार पक्राउ गरेको थियो।
सात दिनको निम्ति पुलिस रिमाण्डमा रहेका सुब्बालाई विभागीय अधिकारीहरूले हाल केरकार गर्ने कार्य गरिरहेको छ भने सुब्बालाई आगामी 8 अगस्तको दिन पुनः अदालतमा उभ्याइने भएको छ।

0 comments: on "खुफिया विभागका उच्च अधिकारीहरूद्वारा पनि सन्तोष सुब्बालाई केरकार"