व्यवस्थाको खेस्रामा शुरूमा नै यसले आन्दोलनलाई प्रभाव पार्दैन भनेर लेखिनेछ-डा.हर्कबहादुर छेत्री
मनोज वोगटी
कालेबुङ,20जून।
मोर्चा प्रवक्ता डा। हर्कबहादुर छेत्रीले राज्य सरकारसित चुक्ति भएपछि कालेबुङमा आएर दिएका विवादास्पद् टिप्पणीहरू अहिले चारैतिर चर्चाको विषय त बनिरहेकै छ, त्यसैलाई केन्द्र गर्दै मोर्चाको निर्णयप्रति असन्तुष्टी जनाउनेहरू पनि बढ्दै गइरहेका छन्। तिनले कालेबुङको एक च्यानलमा नै मोर्चा विधायक डा.हर्कबहादुर छेत्रीले सुवास घिसिङले यस्तो अवस्था निर्माण गरेको छ कि अहिले गोर्खाल्याण्ड त के नगरपालिका चलाउने क्षमता पनि गोर्खाहरूमा छैन भनेका थिए भने आज फेरि अर्को एक च्यानलसित कुराकानी गर्दै आफूले भनेको कुराको आशयलाई मिडियाले बङ्ग्याएर प्रचार गरेको सोझो आरोप लगाएका छन्।
तिनले गोर्खाहरूले गोर्खाल्याण्ड चलाउन नसक्ने कुरा भन्दै नभनेको कुरा पनि सजिलै भने। यति मात्र मोर्चाको दिल्ली र डुवर्स शाखाहरूले जुन विरोध गरिरहेका छन् त्यसमाथि पनि टिप्पणी गर्दै भनेका छन्, यदि विरोध गर्नेहरू मोर्चाको हो भने, मोर्चाको केन्द्रिय समिति छ, त्यहॉं सोध्नुपर्छ। नसोधी यदि विरोध गर्दैछ भने उनीहरू मोर्चाको होइन। मोर्चालाई कसरी, कहॉंबाट बद्नाम गर्न सकिन्छ भनेर मौका हेर्नेहरू हुन्।
तिनले जसले दार्जीलिङ बाहिर जसले पनि विरोध गरिरहेका छन्, उनीहरूले कुरै नबुझी विरोध गरिरहेको बताउँदै भने, अनुशासनबाहिर रहेर टिप्पणी गर्नेहरूलाई अध्यक्षले अनुशासनात्मक कार्वाही गरिसकेका छन्। दिल्लीको गोजमुमो आन्दोलन हुँदा जन्तरमन्तरमा धर्ना दिने मात्र हो, उनीहरूलाई आन्दोलन कहॉं पुग्यो थाहा छैन। तिनले 16 जूनको दिन राज्यपालको सम्भाषणको जवाबमा राज्यपालले हुन गइरहेको व्यवस्थालाई टेन्टेटिभ सोल्यूसन भनेकोले आफूले जोरदार स्वागत गरेको जनाउँदै तिनले भने, मैले भनेको छु, यो फाइनल होइन। फाइनल त जब गोर्खाहरूको चिन्हारी बन्छ, तब हुन्छ। यसलाई विधानसभामा सबैले करतल ध्वनीले स्वागत जनाएका छन्।
अर्कोतिर डुवर्सबाट भइरहेको विरोेधमाथि पनि तिनले टिप्पणी राख्दै जसले विरोध गरिरहेका छन्, तिनी आन्दोलन हुँदा नरहेको अनि फरवरीमा मात्र मोर्चामा आएको बताउँदै भने, विरोध गर्न अघि कुरा बुझ्नुपर्छ।
केन्द्रिय कमिटीलाई सोध्नुपर्छ। यसरी विरोध हुनुमा मिडियाले पनि भूमिका खेलेको छ। मैले भनेका कुराहरूलाई कॉंटछॉंट गरेर देखाइयो। कानून, प्रशासन केही पनि नबुझ्नेहरूले मात्र टिप्पणी गरेको तिनले ठोकुवा पनि गरे। च्यानललाई तिनले बारम्बार नै बताए, मोर्चाले जुन व्यवस्था थाप्छ, त्यो नै अन्तिम होइन।
अहिलेसम्म जुन जुन कुरामा कुरा मिलेको थिएन, त्यसमाथि सहमति भएको बताउँदै भने, घिसिङले दागोपापमा आन्दोलन ड्रप गरे अनि छैटौं अनुसूचीले फुल एण्ड फाइनल। मोर्चाको सम्झौताको शुरूमा नै लेखिनेछ, यो सम्झौताले आन्दोलनलाई कुनै बाधा गर्ने छैन। यो संवैधानिक व्यवस्था होइन। संवैधानिक भनेको फुल एण्ड फाइन हो। मोर्चा गोर्खाल्याण्डको निम्ति प्रतिबद्ध छ, यसकारण संवैधानिक व्यवस्था नथापेको हो। तिनले यो व्यवस्थाको मियादबारे कुरा नभएको अनि अब त्यसबारे कुरा हुने जनाए।
तिनले भने, यो व्यवस्था समयबद्ध हुनेछ। सीमाना पहिले तय हुन्छ। अहिले दुवैपक्षबाट खेस्रा बनाउने काम हुँदैछ। हिजो केन्द्रिय समितिले यसै विषयमा चर्चा गर्यो। हामीले जुन खेस्रा बनाएका छौं, त्यो तर्कसंगत हुनेछ। यदि सरकारले बनाएको खेस्रा दागोपाप जस्तै हामीलाई भुलाउने छ भने थाप्दैनौं। केस्राहरू हेर्ने काम हुन्छ, यदि जनताले चाहेको कुरा भएन भने थाप्दैनौं। हामीसित जनमत छँदैछ, त्यसैलाई प्रयोग गरेर आन्दोलन गर्नेछौं। अर्कोतिर बङ्गालले मोर्चाको कुनै विधायकलाई मन्त्रीमण्डलमा सामेल गर्नेबारे गरेको अफरबारे तिनले भने, यस सम्बन्धमा अध्यक्षले नै निर्णय गर्नेछन्। लिने हो होइन, अध्यक्षले जे भन्छन् त्यही हुनेछ। आविपको सन्दर्भमा तिनले भने, आविप सम्पूर्ण आदिवासीहरूको होइन, केही झुण्ड मात्र हो।
विरसा तिर्कीलाई अशोक भट्टाचार्यले चलाइरहेका छन्। आविपले विरोध गरेपनि आविप अथोरिटी होइन। सीमाङ्कनबारे केन्द्र र राज्यले तय गर्छ। आदिवासीहरू अध्यक्षकोमा आइरहेका छन्, हामी पनि सीमानामा पस्न चहान्छौं भनिरहेका छन्। आविपले भनेर केही हुँदैन।
पग्ला कुकुर
12 years ago
0 comments: on "दार्जीलिङ बाहिरबाट विरोध हुनुमा मिडियाको भूमिका रहेको आरोप"
Post a Comment