मुख्य समाचार :


मृग मारेर गोरखधन्धा चलाउने गोरखबहादुर खोरमा

मनोज वोगटी
कालेबुङ,20जून।

घरमा पालेर होइन, जङ्गलमा शिकार गरेर मासु बेच्ने कुरा पत्याउन नसकिने भए पनि यस्तो घटना देेखापरेको छ सामसिङमा। जङ्गल गयो, शिकार गर्‍यो नि त्यसको मासु गुँमा बेच्यो, यसो गरेर जङ्गली पशुहरूको गोरख धन्धा गर्ने गोरखबहादुर छेत्री बन विभागीय अधिकारीहरूले एसएपीको सहयोगमा चलाएको एक षड़यन्त्र अनुसार पक्रा परेका छन्‌। शिकार गरेर गाउँमा मासु बेच्ने तिनी प्रोफेसनल शिकारी मानिएको छ। धेरै दिनदेखि गरेको शंकाको आधारमा पक्रापरेका शिकारी नेउरा रेञ्ज अन्तर्गत पर्ने सामसिङ फारीका गोरखबहादुर छेत्री हुन्‌। 60 वर्षीय बताइएको छेत्रीसित पक्राउ परेकोबेला मासु बोक्ने झोला र रगत लागेको प्लास्टिक भेटिएको थियो। बीट अफिसर सुजाता गुरूङ अनुसार नेउरा रेञ्जमा जङ्गली पशुहरूको शिकार गर्ने गुट निक्कै सक्रिय छ। हिजो मात्र जङ्गलमा दुइवटा बन्दुक भेटिएको थियो। बन्दुक भेटिएपछि शंका रहेकाहरूको विरूद्धमा जलढका थानामा प्राथमिकी दर्ता पनि गरिएको छ।

मुख्य गरी मृग मारेर गोरख धन्धा चलाइरहेका गोरखबहादुर छेत्रीलाई पनि धेरै दिनदेखि शंका गरिएको थियो। अघिल्लो दिन मात्र तिनले मृग मारेर बेचेको शंका गरिएको छ। रेञ्ज अफिसर सहदेव एस। गिरीले भने, जुन रगत लागेको प्लास्टिक छेत्रीबाट बरामद् भएको छ, त्यो रगत मृगको हो कि होइन भनेर बुझ्न वाइल्ड लाइफ इन्स्टिट्यूट हरिद्वारमा जॉंच्न पठाइएको छ। छेत्री आफैले पनि मृगको रगत रहेको कुरा स्वीकार गरिसकेका छन्‌। तिनलाई वाइल्ड लाइफ प्रोटेक्ट एक्ट अनुसार मुद्दा लगाइएको छ। आज तिनलाई कोर्टमा पनि उभ्याइयो। तिनलाई एसएपीको सहयोगमा पक्राउ गरिएको पनि तिनले जनाएका छन्‌।

0 comments: on "मृग मारेर गोरखधन्धा चलाउने गोरखबहादुर खोरमा"