मुख्य समाचार :


जनताको मतको जवाब मोर्चाले धोकाले दियो-गुरूङ

मनोज वोगटी
कालेबुङ,14 जून।


जनताले गोर्खा जनमुक्ति मोर्चालाई जुन मत दियो, त्यसको जवाब मोर्चाले धोका दिएर फर्काएको दार्जीलिङ, तराई, डुवर्स गोर्खा-आदिवासी वेलफेयर सोसाइटीले आरोप लगाएको छ। जनताले गोर्खाल्याण्डको निम्ति मोर्चालाई मत दिएको भए पनि जनताको मतलाई मोर्चाले आफ्नो स्वार्थ पुरा गर्नमा प्रयोग गरेको सोसाइटीका सटिव प्रवीण गुरूङले जनाएका छन्‌।

जनतासित पनि प्रश्न उठाउँदै भने, जनता तिनै हुन्‌, जो सुवास घिसिङले धोका दिएकोले फेरि छुट्टैराज्यको निम्ति आन्दोलित बने, ती नै जनता हुन्‌ जुन दलले धोका दिने कुरा बारम्बार बताए पनि भारी मतले जितायो। जनताको मतको जवाब मोर्चाले धोकाले दिएको छ। यसलाई पनि अब जनताले मनन गरेन भने भविष्य विगार्नेहरूको इतिहासमा दार्जीलिङका जनताको उल्लेख हुने छ।

तिनले गोर्खा जनमुक्ति मोर्चाले परिषद् थाप्नुमा पहाड़का विपक्ष अनि राष्ट्रिय अराजनैतिक सङ्गठनहरूको ठूलो भूमिका रहेको पनि तिनले दाबी गरेका छन्‌। गुरूङले बताए अनुसार विपक्षको गनेउले प्रवृतिको कारण नै मोर्चाले फाइदा उठाएको जनाए। तिनले भने, मोर्चाले शुरूदेखि नै यही व्यवस्था थाप्छु भनिरहेको छ। यो व्यवस्थाको निम्ति नै गुप्ती रिपोर्ट पनि पठायो।

अहिले आएर मात्र मोर्चाले गोर्खाल्याण्डको नाममा अर्को दागोपाप नै थापेको स्पष्ट भएको होइन। मदन तामङले त बताइदिएकै हुन्‌, मोर्चाले धोका दिने योजना तयार पारेको स्पष्ट पारेकै हुन्‌। मोर्चाले यही थाप्न नै आन्दोलन गरिरहेको थियो। तर कुनै पनि विपक्षले आफ्नो दायित्वलाई इमान्दारितापूर्वक वहन गरेन। मुख्यतः विपक्षमा एकता देखिएन, एकता तोड्ने मोर्चाको षड़यन्त्रमा पर्‍यो।

मोर्चाले गरेको गलतकामको कसैले पनि विरोध गर्न सकेन। धेरैवटा गनेउले विपक्ष अनि मुख्यगरी राष्ट्रिय सङ्गठन भनेर गर्व गर्ने सङ्गठनको चापलुसीपन अनि विमल गुरूङ अघि साकिलो हुने कामको कारण अन्योलता आयो। जनतालाई सही कुरा बुझाउने दायित्वलाई निर्वाह गर्नु त परै जाओस्‌, क्षेत्रीय दल अघि घुँड़ासमेत टेकेर हदैसम्मको गंगटे प्रवृति देखाएको कारण नै मोर्चालाई आफ्नो जाल बुन्न सुयोग मिलेको हो।

तिनले अझ बताए अनुसार ती सङ्गठनले संवैधानिक, प्रशासनिक, आर्थिकसम्पन्न व्यवस्थाको विरोध गर्न मोर्चा नै खोलेको अनि सफल नै बनेको भए पनि घिसिङको छैटौं अनुसूची भन्दा धेरै अर्थमा सानो रहेको व्यवस्थालाई भने स्वीकार योग्य बताउनुले ती सङ्गठनको मानसिकता स्पष्ट भएको पनि जनाए। तिनले भने, छैटौं अनुसूची धारा 244 अनुसार जति सम्पन्न हो, मोर्चाको असंवैधानिक परिषद् धेरै अर्थमा तुलनामा समेत आउन सक्दैन। यो व्यवस्था केवल दागोपापको केही ठूलोरूप मात्र हो। यसलाई चॉंही समर्थन अनि संवैधानिक व्यवस्थाको चॉंही विरोधले के स्पष्ट पार्छ? संविधानको धारा 244 अनुसारको व्यवस्था कालान्तरमा गएर राज्य बनेको छ, यसको उदाहरण मोजोराम, नागाल्याण्ड छँदैछ।

यस्तो बलियो कुरा ल्याउँछु भन्नेलाई चॉंही विरोध गर्‍यो अनि संवैधानिक नै नरहेको अनि राज्य हुने कतैबाट पनि सम्भव नरहेको व्यवस्थालाई चॉंही समर्थन गर्नु ती सङ्गठन र दल इमान्दार नरहेको प्रमाण हो। तिनले दलहरू अनि सङ्गठनहरूमा इमान्दारिता नभएको कारण नै घिसिङको पालामा पनि जनता ठगिएको अनि विमलबाट पनि ठगिएको तिनले बताए।

तिनले दल अनि सङ्गठनहरूमाथि प्रश्न उठाउँदै भने, जब सरकार संवैधानिक व्यवस्था दिन तयार थियो, तब विरोध गर्‍यो, जब मोर्चाले असंवैधानिक व्यवस्था ल्याउँदै छ, जसलाई समर्थन गर्ने हो भने जनताले ती सङ्गठन र दलहरूलाई कन्सिरीमा समातेर डॉंड़ा कटाउनुपर्छ।

0 comments: on "जनताको मतको जवाब मोर्चाले धोकाले दियो-गुरूङ"