मुख्य समाचार :


पार्टीबाट निकालिएको होइन, पदमुक्त मात्र गरिएको हो-खाती

मनोज वोगटी
कालेबुङ,26 अप्रेल।

मदन तामङको हत्यापछि गोर्खालिगमा साङ्गठानिक दुर्वलता शुरू भएको पर्यवेक्षकहरूले ठानेको छ। यता लीगलाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्ने घटनाहरू पनि देखापरेको छ। भर्खर मात्र गोरामुमो नेता छिरिङ शेर्पाले पहाड़ छिर्नको निम्ति गोर्खालीगको पुच्छर समातेका थिए। तिनलाई मोर्चाले कालेबुङबाट निर्वासित गरेको थियो। गोर्खाल्याण्डको नाममा छैटौं अनुसूचीको वकालती अनि दागोपापमा व्यापक भ्रष्टचारको कारण गोरामुमो नेताहरूलाई पहाड़बाट खेदाउने कार्य भएको थियो। तीनवर्षपछि गोरामुमो नेताहरूले पहाड़ छिर्न मानवाधिकार आयोग, गोर्खालीग र विधानसभा चुनाउको सहारा लिएका थिए। मानवाधिकार आयोगको आड़मा गोरामुमो नेता दावा पाखरिन पहाड़ छिरेका थिए, जो अर्कै दल खोलेर बसेका छन्‌। सुवास घिसिङ लगायत अन्य धेरै नेताहरू यसै विधानभा चुनाउलाई ताकमा पारेर पहाड़ छिरेका थिए भने छिरिङ शेर्पा लीगमा लागेर पहाड़ छिरेका थिए।

तिनले गोरामुमो नेताहरू चुनाउको सहारा पहाड़ छिर्ने वित्तिकै आफू लीगमा मन भुलाउनको निम्ति आएको बताएर लीगलाई आफ्नो स्वार्थको निम्ति दुरूपयोग गरेको स्पष्ट पारेका थिए। यसै पनि मदन तामङको हत्याको कारण लीगको दलीय धरातल निक्कै धरासयी बन्ने ठानिएको थियो तर मदन तामङसितै लीगमा डटेर बसेका कार्यकर्ताहरूले मदन तामङ कै पत्नीलाई पार्टीमा ल्याएर लीगको अस्तित्व कायम राखिएको छ। तर भर्खर नै चुनाउ सकेपछि लीगका कार्यकारी अध्यक्ष दावा शेर्पा अनि सचिव मनोज देवानलाई आफ्नो पदबाट हटाए पनि लीग फेरि चर्चामा आएको छ। लीगका केन्द्रिय सदस्य प्रताप खातीले भने, शेर्पा अनि देवानलाई पदमुक्त गर्दा धेरै कुराहरू भइरहेको छ। तर कुरा यो हो कि उनीहरूलाई पार्टीबाट निकालिएको होइन, पद मुक्त गरिएको हो। चुनाउ अवधी उनीहरूले पद अनुरूप कार्य गर्न नसकेकाले नै गणतान्त्रिक पार्टी लीगको केन्द्रिय समितिले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

पत्रकारहरूले दलको केन्द्रिय नेतृत्वमा आइरहेको यस्ता हेरफेरले दललाई हानी पुग्दैन भन्ने प्रश्न गर्दा तिनले भने,लीगलाई कुनै हानी पुग्दैन, किन भने मदन तामङसित नै लीगको आचार संहिता अनि मुद्दालाई हेरेर कटिबद्धरूपले कार्य गरिरहेका कार्यकर्ताहरूले डटेर नै कार्य गरिरहेका छन्‌। यस्ता कार्यकर्ताहरूलाई पदमुक्त गरिएको थियो भने हानी हुन सक्थ्यो तर अहिलेको परिस्थिति यस्तो होइन। तिनले लीगले मुद्दा नफेर्ने अनि केवल गोर्खाल्याण्डको कुरा गर्ने बताउँदै मुद्दा फेर्नेहरूले प्राधिकरणको विरोध गर्दा लीग नेता मदन तामङको हत्या गरेको भए पनि लीगले आफ्नो राजनैतिक धर्मलाई अक्षुण्ण राख्ने बताउँदै भने, यसपाली जति पनि मत लीगले पाउने छ, त्यो गोर्खाल्याण्ड चहानेहरूको हुनेछ। जनाताको चहाना गोर्खाल्याण्ड रहेछ कि प्राधिकरण यो पनि यसपल्ट स्पष्ट हुनेछ।

0 comments: on "पार्टीबाट निकालिएको होइन, पदमुक्त मात्र गरिएको हो-खाती"