मनोज-प्रज्ज्वल वोगटी
दार्जीलिङ,14 जून।
धेरै दिनको मौनता विमल गुरूङले आखिर आज तोड़े। मौनता त तोड़े त विमलले फेरि पनि जनतामा बाचा नै राखे। तिनले भने, मोर्चाले व्यवस्था त स्वीकार्छ तर दाबी गरेको तराई र डुवर्सको भूभाग पसेन भने यसलाई स्वीकार्ने छैन।
गुरूङले बाचा त राखे तर तिनले दाबी गरे अनुसारको सजिलो भने कतैबाट पनि देखिएको छैन। यता छैटौं अनुसूचीको प्रस्तावमा नै तराई डुवर्सको 34 वटा मौजा पसेको गोरामुमोको दाबी छँदै छ, मोर्चालाई दिने व्यवस्थामा राज्य सरकारले तराई-डुवर्सको केवल 23वटा मौजा मात्र दिने तय भइसकेको सूत्रले जनाएको छ। यता मोर्चाले भने 302 वटा मौजाहरूको दाबी गरेको छ। 6 अनि 7 जूनको दिन कोलकातामा मोर्चाको दाबीमाथि भएको सहमतिमा गरेको चुक्ति अनुसार सीमाङ्कनको निम्ति केवल हाइपवर कमिटीले सीमाङ्कनको निम्ति रेखा मात्र कोर्दैन, त्यहॉंका बासिन्दाहरूको आकांक्षा पनि संग्रह गर्नेछ।
यता आविपले डुवर्समा छैटौं अनुसूचीको दाबी गर्दै सीमाङ्कनको निम्ति गरिरहेको विरोध अनि उता भूटान सरकारल राज्य सरकारलाई जनाउने कतिपय असुविधाको कारण मोर्चाको सीमाङ्कनको सपना केवल सपना नै रहने सम्भावना पनि व्यापक बनेको छ। यता विमल गुरूङले आज भने, सीमाङ्कनको निम्ति गठन गरिने हाइपवर कमिटीमा दार्जीलिङका प्रतिनिधिहरू रहने छैनन्। तराई अनि डुवर्सका मोठ चारजना प्रतिनिधिहरू कमिटीमा बस्नेछ। यता यसै कमिटीको निम्ति मोर्चा प्रवक्ता डा।हर्कबहादुर छेत्रीले कालेबुङका वृद्ध आइएएस एल.बी. परियार बस्ने तय भइसकेको किटान गरेका थिए।
वार्तामा जाने मोर्चा नेतृत्व अनि विमल गुरूङको टिप्पणीमा पनि आज आकाश पातालको फरक देखापरेको छ। आज विमल गुरूङले भने, यो व्यवस्था स्थायी होइन, किन भने यसको संवैधानिक ग्यारेण्टी हुनुपर्छ भनेर हामीले भनेका छैनौं। स्थायी नहुनु भनेको गोर्खाल्याण्डको निम्ति मोर्चा कटिबद्ध छ भनेको हो। विमल गुरूङ जो, ममतासित चुक्ति भएको बैठकमा गएनन्, तिनले यसो भने। डा.हर्कबहादुर छेत्री,जो चुक्तिको निम्ति गएका थिए, तिनले पत्रकारहरूले दोहोर्याइ तेहर्याई प्रश्न गर्दा पनि भनेका थिए, यही स्थायी व्यवस्था हो। छेत्री अनुसार जतिबेला अन्तरिमको कुरा थियो, त्यसबेला यो अस्थायी हुने कुरा थियो, तर अब अन्तरिमकोे सवाल आएन, यसकारण यो नितान्तै स्थायी व्यवस्था हो।
विमल गुरूङले आज मोर्चाले थाप्ने व्यवस्था स्थायी नरहेको मात्र होइन, संवैधानिक समेत नरहेको पनि स्पष्ट पारे। अर्कोतिर रोशन गिरी अनि डा।हर्कबहादुर छेत्रीले शीघ्र नै त्रिपक्षीय वार्ता हुने अनि सम्झौतापत्रमा हस्ताक्षर हुने बताए पनि विमल गुरूङले भने आज स्पष्ट पार्दै भने, म बङ्गालले बनाएको सम्झौताको खेस्रा हेर्छु। के छ के छैन, सबै हेर्छु। जनताको हीतमा छ कि छैन त्यो पनि हेर्छु।
म धोका दिन आएको होइन। मलाई धोका दियो भन्दैछ। तर यसो भन्नु अघि कुरा बुझ्नुपर्छ। ममतासित मिनटमा हस्ताक्षर भएको हो। व्यवस्थाको निम्ति हस्ताक्षर भएको होइन। अहिले फाइनल भएको छैन। बोल्नेले सबै कुरा बुझेर बोल्नुपर्छ। त्यसै आरोप लगाउनु हुँदैन। सम्झौता त्यति सजिलोसित हुँदैन। मैले सम्झौताको खेस्रा हेरेको छैन, त्यहॉं के छ, हेर्नुपर्छ। त्यो हेरेर हाम्रो पक्षबाट पनि सम्झौताको खेस्रा बनाइने छ। दुवै मिलाएर सहमति भयो, जनताले चाहेको कुरा पाइयो भने मात्र म ममता र चिदम्बरमबीच हस्ताक्षर हुनेछ अनि त्यही नै फाइनल हुनेछ।
तिनले महत्वपूर्ण कुरा के पनि बताए भने हस्ताक्षर हुन अघि जनताको सहमति लिइने छ। तिनले जनतालाई साक्षी राखेर नै हस्ताक्षर गर्ने वाचा पनि गरेका छन्। अहिले दार्जीलिङका जनता मौन छन्, किनभने दार्जीलिङका जनतालाई यो व्यवस्थामा फाइदा छ। आज पनि डुवर्स-तराईबाट आएका प्रतिनिधिहरूले मोर्चा र मोर्चाका शीर्षस्थ नेताहरूलाई स्पष्टै पारिदिए कि मोर्चाले तराई डुवर्सविना कुनै पनि सम्झौता गरिदिए त्यसलाई मान्य गर्नेछैन। चाहे यसको निम्ति विद्रोह नै किन गर्न नपरोस्।
तराई-डुवर्सका गोर्खाहरूले जे जति भोग्नुपर्छ त्यो दार्जीलिङका नेता र जनता दुवैलाई थाहा छैन। यसकारण आज जिमखाना दलबाट नै डुवर्सका प्रतिनिधिहरूले मोर्चालाई खबरदार गरेको छ। किनभने डुवर्स र तराईका जनतालाई थाहा छ, सीमाङ्कनको कुरा जति सजिलोसित ममता सरकार र मोर्चाले बताइरहेको छ, वास्तवमा तक्निकीयरूपले यति सजिलो छैन। किनभने सहमतिमा केवल सीमाङ्कन गर्ने कुरा मात्र छैन, सीमाङ्कन गरिने क्षेत्रका मानिसहरूको मन्तव्यलाई पनि महत्वपूर्ण मानिने उल्लेख गरिएको छ। यसैकारण नै पछिबाट तराई र डुवर्समा तक्निकीय परिस्थिति रहेको बहानामा मोर्चाले तराई र डुवर्सका केही मौजालाई मात्र लिएर व्यवस्थामा हस्ताक्षर गर्न बेर लगाउने छैन। यसको निम्ति आज नै तराई र डुवर्सका प्रतिनिधिहरूले स्पष्टसित मोर्चालाई आफ्नो कुरा राखेको छ।
आज विमल गुरूङले गोर्खाल्याण्डको आन्दोलन अहिले नै नसकिएको, केही बाध्यात्मक परिस्थितिहरूको कारण नै केही समयसम्मको निम्ति एउटा अस्थायी व्यवस्था थाप्न परिरहेको पनि जनाए। तिनले भने, गोर्खाल्याण्ड नभइञ्जेलसम्म मैले जनतालाई दिएको बचन पुरा हुँदैन। आन्दोलन जारी रहनेछ। छुट्टैराज्य नभइञ्जेलसम्म जनताले मलाई साथ दिने छ भन्ने विश्वास गरेको छु।
पग्ला कुकुर
12 years ago
0 comments: on "जनतालाई सोधेर नै हस्ताक्षर गर्नेछु-विमल गुरूङ"
Post a Comment