मुख्य समाचार :


राज्य सरकार र मोर्चाबीचको बैठक निष्कर्षहीनःभोलि पनि वार्ता

मोर्चाले सातबुँदे माग राखेको दाबी

संवाद सूत्र
कलकत्ता 6 जून।

सबैले प्रतीक्षा गरेको राज्य सरकार र मोर्चाबीचको बैठक आज निष्कर्षहीन बन्यो। तृणमूल कंग्रेसकी नेतृ ममता व्यानर्जीले सरकार गठन गरेपछि पहाड़को समस्या लिएर कलकत्तामा पहिलोपल्ट राज्य सरकारका दुइ राज्य सचिव अनि मोर्चाका सात प्रतिनिधिहरूबीच बैठक गर्‍यो।

मोर्चाले नयॉं सरकारसित गोर्खाल्याण्ड बाहेक अन्य केही कुरा नगर्ने चुनाउको बेलादेखि अहिलेसम्म नै बताइरहेको भए पनि आजको बैठकमा गोर्खाल्याण्डको कुरा भएन। सूत्रले जनाए अनुसार मोर्चाले राज्य सरकारका प्रतिनिधिहरूलाई पहाड़को विकास सम्बन्धको सात बुँदे माग राखेको छ। यस सम्बन्धमा मोर्चा महासचिव रोशन गिरीसित सम्पर्क गर्दा आज बैठक निष्कर्षहीन बनेकोले नै भोली फेरि बैठक हुनेछ बताएका छन्‌।

तिनले मोर्चाले राखेका दाबीहरूबारे भोली नै अवगत गराउने जनाएका छन्‌। सूत्रले बताए अनुसार मोर्चाले सीमाङ्‌कन र चियाबगानको तौजी विभाग लगायत अन्य मुद्दाहरूनै उठान गरेको छ। ममता व्यानर्जी अघि पनि गोर्खाल्याण्डको पक्षमा थिइनन्‌ अनि अहिले पनि छैनन्‌।

ममता विकास मार्फत नै पहाड़को समस्या समाधान गर्न चहान्छिन्‌। तरै पनि ममतालाई गोर्खाल्याण्डको आवश्यकता अनि गोर्खाहरूको राष्ट्रिय समस्यालाई केन्द्रित गर्न सकियो भने तिनको मन फर्किन सकिन्छ भन्ने अनुमान राजनैतिक शिविरले लगाइरहेको छ। यस दिशामा अहिलेसम्म त मोर्चाले कुराकानी गर्न सकिरहेको छैन किन भने पहाड़को समस्यालाई लिएर नयॉं सरकारसित कुराकानीको शिलशिला नै आजदेखि शुरू भएको छ।

सूत्र अनुसार गोर्खाल्याण्डकै पूर्वाधारहरूको निर्माणमा सहयोगी हुने मुद्दाहरू नै मोर्चाद्वारा आज उठान गरियो। धेरैवटा कुराहरूमा सहमति हुन नसकेको कारण अनि बैठक भोली पनि हुने भनिएको छ। आजको बैठकमा मुख्यमन्त्री ममता व्यानर्जी उपस्थिति थिइनन्‌। सरकारीरूपले नै सचिवस्तरबाट बैठकको क्रम शुरू गरिएको छ। भोली मोर्चाले राखेकै दाबीहरूमाथि कुराकानी हुनसक्ने सूत्रको अनुमान छ। ममता व्यानर्जीले शुरूमा नै गोर्खाल्याण्डको मुद्दलाई अस्वीकार गर्दै विकास नै पहाड़ समस्याको समाधानको सूत्र रहेको जनाएकी थिइन्‌। उनी अनुसार विकास सम्बन्धमा कुराकानी गर्न नै ममताले वार्ताको ढोका खोलेकी हुन्‌। गोर्खा जनमुक्ति मोर्चालाई पनि ममता गोर्खाल्याण्डको पक्षमा नरहेको स्पष्ट छ।

यसैकारण ममतासित सम्बन्ध नबिगारी मोर्चाले ममताको उपहारलाई स्वीकार गर्ने लख काटिएको छ। ममताले पहाड़को निम्ति छुट्टै आर्थिक प्याकेज र स्वायत्ता प्रदान गर्ने सोंच बनाएको पनि राजनैतिक शिविरमा चलिरहेको हल्ला छ। यता मोर्चाले सीमाङ्‌कन र ताउजी विभागको कुरा गरेर गोर्खाल्याण्ड होइन अन्तरिम प्राधिकरणकै मुद्दालाई शिलशिलाबद्ध अघि बढाइरहेको अनुमान गरिएको छ। किन भने गोर्खाल्याण्डको कुरा हुनु हो भने सीमाङ्‌कन र विभागहरूको कुरा अघि आउँदैन। कुरा नै अघि आए पनि यसलाई पहिलो प्राथमिकता मानिँदैन। तर अहिले सीमाङ्‌कन र अन्य मुद्दाहरू नै अघि आइरहेकोले कुरा गोर्खाल्याण्डको होइन अन्तरिम प्राधिकरणको निम्ति बुझाएको प्रस्ताव अनुसार नै अघि बढिरहेको सबैले अनुमान गरिरहेका छन्‌।

यसै सम्बन्धमा मोर्चा प्रवक्ता डा।हर्कबहादुर छेत्रीले कालेबुङको एक स्थानीय च्यानलसितको कुराकानीमा भने अनुसार मोर्चाले अन्तरिम प्राधिकरणको कुरा उठाउने छैन। तर अन्तरिम प्राधिकरणको निम्ति बुझाएको प्रस्तावलाई नै अर्कै शीर्षक हालेर अघि ल्याइने छ। तिनले बताए अनुसार नै अहिले ठीक बैठक र दाबीको प्रकिया त्यस्तै गरी अघि बढिरहेको देखिएको छ।

0 comments: on "राज्य सरकार र मोर्चाबीचको बैठक निष्कर्षहीनःभोलि पनि वार्ता"