मुख्य समाचार :


मैले 18 दिनभित्रमा नै गोर्खाल्याण्डको मुद्दा स्थायीरूपमा समाधान गरिदिएँ-ममता

मनोज-प्रज्ज्वल वोगटी
कालेबुङ, 7 जून।
  • दागोपाप खारेज
  • नयॉं स्वायत्त प्रशासनिक व्यवस्था लागू गरिने
  • सीमाङ्‌कनको निम्ति दुइदिनभित्रमा संयुक्त समिति बनिने
  • .ब. सरकार अनि गोजमुमोबीच नयॉं व्यवस्थाको निम्ति सम्झौता
  • रोशन गिरीले गरे हस्ताक्षर
  • भएन वार्तामा गोर्खाल्याण्डको कुरा

मुख्यमन्त्री ममता व्यानर्जीले दाबी गरे अनुसार गोर्खाल्याण्डको मुद्दा स्थायीरूपमा समाधान भयो। वार्तापछि राइटर्स भवनमा पत्रकारहरूसित कुराकानी गर्दै ममता व्यनर्जीले भनिन्‌, म सबैैलाई यो सूचित गर्न चहान्छु कि दार्जीलिङको मुद्दा अब स्थायीरूपमा समाधान भयो। हामी धेरै खुशी छौं। सबैलाई थाहा छ कि आधिकारिकरूपले वार्ता चलिरहेको छ। एग्रिमेन्ट साइन गरिएको छ।

मुख्य मन्त्रीले जनाए अनुसार अब दागोपाप खारेज गरिने छ अनि त्यसको साटो नयॉंरूपको स्वायत्त प्रशासनिक परिषद्(अटोनमस एडमिनिष्ट्रेटिभ काउन्सिल) राज्य कै अधिनमा स्थापित गरिने छ। यसैको निम्ति मोर्चासित सम्झौतापत्रमा हस्ताक्षर भएको छ। काउन्सिल प्रशासनिक, कानूनी अनि आर्थिकरूपले क्षमतावान हुने छ।
मोर्चाले माग गरे अनुसार गठन हुने भनिएको नयॉं व्यवस्थाको सीमाङ्‌कनको निम्ति संयुक्त समिति बनाउन राज्य सरकार राजी भएको छ। जसको निम्ति दुइ दिन भित्रमा संयुक्त समिति बनिनेछ अनि यस समितिले सीमाङ्‌कनको रिपोर्ट 6 महीनाभित्रमा बुझाउनुपर्ने छ।

ममता व्यानर्जीले सरकार गठन भएको तीन महीनामा नै पहाड़को समस्या समाधान गर्ने भनिसकेकी थिइन्‌, जसलाई स्मरण गराउँदै आज तिनले हर्षित मुद्रामा भनिन्‌, म सरकारमा आएको 18 दिनभित्रमा नै गोर्खाल्याण्ड मुद्दा स्थायीरूपमा समाधान गरिदिएँ। यो ऐतिहासिक क्षण हो। तिनले दीर्घ दिनदेखि चलिरहेको गोर्खाल्याण्डको आवाजलाई धेरै नजिकबाट हेरेको बताउँदै गोर्खा-बङ्गाली नै बङ्गालका असल नागरिक रहेको बताइन्‌।

सबैलाई समान व्यवहार हुनुपर्ने कुरामा आफू गम्भीर रहेको जनाउँदै भनिन्‌, म शीघ्र नै दार्जीलिङ जाने छु। तिनले गोर्खाल्याण्डको साटो आज गोजमुमोसित स्वायत्त प्रशासनिक परिषद्को निम्ति भएको सम्झौताबारे भारतको गृहमन्त्री पी. चिदम्बरमलाई अवगत गराइएको पनि जनाइन्‌।

तिनले सम्पूर्णरूपले व्यवस्था लागू गर्नको निम्ति केन्द्र सरकारको सहमति चाहिने बताउँदै भनिन्‌, केन्द्र सरकार राजी भयो भने 10 दिनभित्रमा दार्जीलिङमा नै त्रिपक्षीय वार्ता हुने छ। जहॉं सम्पूर्ण कुराको छलफल अनि त्रिपक्षीय सम्झौतामा पूर्ण हस्ताक्षर हुने छ। यता आज सम्झौता पत्रमा हस्ताक्षर गर्ने रोशन गिरीले चियाबगानको समस्या पनि समाधान भएको अनि तौजी विभागको निम्ति समिति गठन गरिने, जसमा पूर्व आईएस अफिसर एल.बी परियारलाई मोर्चाको पक्षबाट सामेल गरिने जनाएका छन्‌। तिनले रिजर्ब फरेष्ट सम्बन्धमा राज्य सरकारले केन्द्रलाई कुरा राख्ने अनि केन्द्र राजी भए त्समा पनि सहमति हुने जनाए। तिनले भने, हामी खुशी छौं,किन भने हामीले दाबी गरेको सबै कुरा राज्य सरकारले स्वीकार गर्‍यो। तिनले स्वायत्त प्रशासनिक व्यवस्थामा आउने सीमानाको निम्ति तराई र डुवर्सको अन्तरभुक्ति सम्बन्धमा पनि केही हद सहमति बनेको पनि जनाएका छन्‌।

यता सूत्रले जनाए अनुसार दोगापाप खारेजपछि अस्थायी कर्मचारीहरूको भविष्य संकटमा पर्ने कुरालाई अघि राख्दै कुनै विशेष सहुलियतद्वारा यसको समाधान गरिने भएको छ। जसले 10 वर्षदेखि अस्थायी काम गरिरहेका छन्‌, उनीहरूलाई स्थायी गरिने कार्य प्रथम चरणमा हुने छ।

मोर्चा प्रवक्ता तथा विधायक डा।हर्कबहादुर छेत्रीले वार्ताबारे अवगत गराउँदै भने, राज्य सरकारले केन्द्र सरकारसित कुरा मिलेको खण्डमा 10 दिनभित्रमा नै दार्जीलिङमा साइनिङ सेरोमनि हुने छ। सीमानाको निम्ति गठन गरिने समितिमा मोर्चाका चार सदस्य रहने छन्‌ अनि अन्य सरकारी सदस्य रहने छन्‌।

0 comments: on "मैले 18 दिनभित्रमा नै गोर्खाल्याण्डको मुद्दा स्थायीरूपमा समाधान गरिदिएँ-ममता"