एकाडेमीले जमघट गर्यो 24 भाषाका युवा लेखकहरूलाई एकै मञ्चमा
कालेबुङ 17 अगस्तः
राष्ट्रिय साहित्य अकादमीले विश्वकवि रवीन्द्रनाथ ठाकुरको जन्मको 150-औं वर्षगॉंठको अवसरमा एक राष्ट्रिय कार्यक्रमको आयोजना गर्यो। अकादमीको कलकत्तास्थित क्षेत्रीय कार्यालयद्वारा सञ्चालन गरिएको दुइ दिवसीय साहित्यिक कार्यक्रममा अकादमीद्वारा मान्यताप्राप्त भारतवर्षका 24-वटा भाषाका 40-देखि 45 वर्षबीचका युवा लेखकहरूलाई निम्त्याइएको थि
यो।
कार्यक्रमको पहिलो चरणमा देशभरिबाट भेला भएका युवा लेखक-लेखिकाहरूलाई कलकत्ताबाट शान्तिनिकेतनको भ्रमण गराएर विश्वभारती विश्वविद्यालयको परिदर्शन गराउने कार्य अकादमीमार्फत् भयो। साहित्य अकादमीका वरिष्ठ अधिकारीहरूको अगुवाइमा युवा लेखकहरूले शान्तिनिकेतनस्थित रवीन्द्रनाथ सङ्ग्रहालय अनि विश्वभारती विश्वविद्यालयको भ्रमण गरेको पहिलो दिन विश्वविद्यालयको सङ्गीत अनुभागले यी सबै साहित्य सर्जकहरूलाई लिपिका रङ्गमञ्चमा निम्त्याएर ससम्मान उपहारहरू पनि प्रदान गर्यो। प्रख्यात संगीतज्ञ तथा सांस्कृतिककर्मी इन्द्राणी मुखर्जीको अगुवाइमा सम्पन्न उक्त अभिनन्दन कार्यक्रममा अकादमीका क्षेत्रीय सचिव रामकुमार मुखोपाध्याय, कन्नड साहित्यका प्रख्यात लेखक जी. के. गोविन्द राव, तमिल साहित्यकार के. सुनिता रानी आदि प्रमुख रुपले उपस्थित थिए। भारतभरिका युवा सर्जकहरूलाई रङ्गमञ्चमा एकसाथ उभ्याएर सम्मान जनाएपछि साहित्यकार गोविन्द रावले संक्षिप्तमा आफ्नो वक्तव्य प्रस्तुत गर्दै यी युवा साहित्यकारहरू राष्ट्रिय सम्पदा हुन् भन्ने दाबी गरे अनि उनीहरूकै कॉंधमा देशको साहित्यिक सिर्जनाको दायित्व रहेको बताए। उनले कविगुरु रवीन्द्रनाथ ठाकुरलाई केवल बङ्गालका मात्र साहित्यकार नहरेर भारत अनि विश्वकै साहित्यकारका रुपमा मान्यता दिइनुपर्ने अनि यस्तो उत्सव भारतव्यापी रुपमा पालन गरिनुपर्ने मनसाय पोखे। अभिनन्दन समारोहपछि साहित्यका युवा सर्जकहरूका निम्ति शान्तिनिकेतनमा सङ्गीतशास्त्रको अध्ययन गरिरहेका वरिष्ठ छात्र-छात्राहरूले तीनवटा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। रवीन्द्र सङ्गीत, मणिपुरी लोकनाच अनि कत्थकली नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा छिमेकी राष्ट्र श्रीलङ्काबाट विश्वभारतीको परिदर्शन गर्न आएका स्कूले छात्राहरू पनि उपस्थित रहेका थिए।
दोस्रो दिन युवा साहित्य सर्जकहरूलाई अकादमीकै अगुवाइमा कविगुरु रवीन्द्रनाथ ठाकुरको जन्मघर जरासान्कोको परिदर्शन गराइयो जहॉं ठाकुर परिवारको इतिहास सङ्ग्रहालयको रुपमा अस्तित्वमान् रहेको छ। सोही दिनको सॉंझ मूल कार्यक्रमको आयोजना अकादमीकै अडिटोरियममा सम्पन्न भयो। भारतका युवा लेखकहरूको भेट नामक साहित्यिक कार्यक्रमलाई दुइ सत्रमा विभाजन गरिएको थियो। पहिलो सत्रको उद्घाटन राष्ट्रिय साहित्य अकादमीका अध्यक्ष तथा वरिष्ट साहित्यकार सुनील गङ्गोपाध्यायले गरेका थिए भने स्वागत सम्भाषण क्षेत्रीय सचिव रामकुमार मुखोपाध्यायले राखेका थिए। यस चरणमा युवा साहित्यकारहरूलाई भारतका वरिष्ठ साहित्यकारहरू सुनील गङ्गोपाध्याय, जी. के. गोविन्दराव, तरुण सन्याल, के. सुनिता रानी, कालेगौढ़ा नागाभारा अनि उत्पल कुमार बासुले आ-आफ्ना रचना पाठ गरेर सुनाए। त्यसपछि विभिन्न भाषाका युवा लेखकहरूमा आसामीका ध्रुवनाथ शर्मा (गुवाहटी), बंगालीका सुदक्षिणा बासु (कलकत्ता), काबेरी रोयचौधरी (कलकत्ता) र अकबर अहमद (अगरतला), बोड़ोकी रुपाश्री होजावारी (बोड़ोल्याण्ड), डोगरीका सुशील बेगानन (जम्मु), अङ्ग्रेजीका अमनदीप सन्धु (दिल्ली), हिन्दीका कुमार अनुपम (दिल्ली), कन्नडका चिदानन्द साली (राइचुर) र डा. वासवराज पी. डोनुर (धरवाड), काश्मिरीका मजिद मजाजी (बन्दीपुरा), मैथिलीकी निक्की प्रियदर्शनी (मुंगेर), मलयालीका सी. अनुप (त्रिवेन्द्रम), मणिपुरीका डा. युमनाम इन्द्रजीत सिंह (नाम्बुर), मराठीका चन्द्रशेखर मालकम पाटे (लाटुर), उड़ियाका अरविन्द रे (भुवनेश्वर), पञ्जाबीकी सुरिन्द्र नीर (जम्मु), राजस्थानीका मदन गोपाल लढ्ढा (बिकानेर), संस्कृतका अजय कुमार मिश्रा (नयॉं दिल्ली), सन्थालीका अन्ता मराण्डी (बोलांगिर), सिन्धीका मनोज चावला (अहमदाबाद), तमिलका अरुनन (अरोभिल्ले), तेलुगूकी टी. भाल्ली राधिका (हैदराबाद) अनि उर्दूका मोहम्मद हाजी (नयॉं दिल्ली)-ले आ-आफ्ना साहित्यिक सिर्जनाहरू गीत, गजल, लघुकथा आदि पाठ गरेका थिए।
यस राष्ट्रिय उत्सवमा नेपाली भाषालाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए कालेबुङका युवा लेखक हीरा छेत्रीले। छेत्रीले उक्त अवसरमा आफ्नो चर्चित लघुकथा उमेरहरू-को हिन्दी अनूदित संस्करण ढलती उम्र पाठ गरेको जानकारी पाइएको छ। उक्त कथालाई हिन्दी अनि अङ्ग्रेजी भाषामा क्रमैसित कालेबुङकै युवा लेखकहरू मुकेश ठाकुर अनि अनुप मोक्तानले अनूदित गरेका हुन्।
सबै युवा लेखकहरूको रचना रसास्वादन गरेपछि सत्रका अध्यक्ष तथा अकादमीका बंगला परामर्श समितिका कन्भेनर मानावेन्द्र बन्धोपाध्यायले साहित्य अकादमीलाई उपर्युक्त रचनाहरूलाई पुस्तकाकार रुपमा प्रकाशित गर्ने सुझाउ दिए अनि मुसलधारे बर्खा र प्राकृतिक आपदाहरूलाई झेल्दै भए पनि देशका विभिन्न प्रान्तबाट भेला भई दुइ दिने कार्यक्रमलाई सफलिभुत अनि फलप्रद बनाइदिएबापत् सबै युवा लेखकहरूप्रति कृतज्ञता प्रकट गरे।
छेत्रीले उक्त दुइ दिवसीय भ्रमण पूरा गरेर कालेबुङ फर्की आएपछि यसरी आफ्नो भाषालाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो साहित्यिक जीवनको महत्त्वपूर्ण क्षण बताए अनि सो अवसरमा नेपाली भाषा-साहित्यबारे भारतका अन्य युवा लेखक-लेखिकाहरूलाई यथासक्य बताउन नचुकेको साथै आफूले पनि अन्य भाषा-साहित्यको वर्तमान स्थितिबारे तुलनात्मक रूपमा केही मात्रामा भए पनि बुझ्न पाएको बताए। आफूले पाएको उक्त अवसरलाई सारा भारतका नेपालीभाषी युवा लेखकहरूप्रति समर्पित रहेको बताउँदै उनले उक्त अवसरको प्रतिपल, प्रतिक्षण उपयोगमा ल्याएको दाबी गरे। नेपाली साहित्यको प्रगतिको परिप्रेक्ष्यमा कालेबुङको चर्चित कार्यक्रम बसिबियॉंलो-को अङ्ग्रेजीमा निर्मित भिडियो सिडी अन्य युवा लेखकहरूलाई दर्शन गराउँदा ती लेखकहरूले नेपाली साहित्यको प्रगतिमाथि प्रशंसनीय टिप्पणी गरेको दाबी गर्दै छेत्रीले आगामी अक्टोबर महिनामा कालेबुङमा सम्पन्न हुने साहित्यिक उत्सव बसिबियॉंलो-को 100-औं प्रकरणमा निमन्त्रणा दिँदा धेरैजनाले आफ्नो उपस्थिति दिने प्रतिश्रुति दिएको छेत्रीले जनाएका छन्। छेत्रीले उक्त अवसर प्राप्त गरेर आफ्नो मातृभाषाबारे अन्य भाषाभाषीहरूसमक्ष उजागर गर्ने मौका प्रदान गरेबापत् साहित्य अकादमीका सम्बन्धित अधिकारी तथा कार्यकारीहरूप्रति कृतज्ञता प्रकट गर्दै आफ्ना साहित्यिक बन्धुबान्धव अनि शुभचिन्तकहरूप्रति आभार पोखेका छन्।
उल्लेखनीय छ, हीरा छेत्रीले गत वर्ष देशको राजधानी नयॉं दिल्लीमा आयोजित कम्मनवेल्थ राइटर्स मिटमा पनि विश्वका पचासभन्दा धेर लेखकहरूको जमघटमा युवा लेखकका रुपमा नेपाली भाषाको प्रतिनिधित्व गरिसकेका छन्।
0 comments: on "150-औं रवीन्द्र जन्मशताब्दीको अवसरमा"
Post a Comment