मुख्य समाचार :


गोर्खाल्याण्डको निम्ति होइन जीटीएकै निम्ति लड्‌ने-मोर्चा

कालेबुङ, 18 मार्च।
तक्निकीय पासोमा परेको मोर्चाले सरकारको ‘घात’ को विरुद्ध छुट्टै राज्यको आन्दोलन गर्ने छैन।
यो आशय मोर्चाको महत्वपूर्ण बैठकपछि मोर्चाका नेताहरूले मङ्‌पूमा प्रकट गरेका छन्‌। मोर्चाले अब आन्दोलनको लामो सूची सार्वजनिक त गरेको छ, तर त्यो जीटीए कै निम्ति रहनेछ। 17 मार्चसम्म पर्खिने र 27 अप्रेलदेखि ‘भनेको जस्तो भएन’ भने छुट्टै राज्यको निम्ति मोर्चाले फेरि आन्दोलन गर्ने घोषणालाई भने यथावत राखिएको छ। आज मोर्चा अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी अनि प्रवक्ता डा. हर्कबहादुर छेत्रीले यही बताएका छन्‌।

सरकारको डिप्लोमेसीको भेउ नपाउने स्टडी फोरमका बुद्धिजीवी, केन्द्रिय नेता, विधायक, भातृसङ्गठनका नेता लगायत अध्यक्ष स्वंय नै कोलकाता चलो आन्दोलन गर्दै पैदल यात्रा गर्नेछन्‌। यो पैदल यात्रामा तर दार्जीलिङका सांसद भने सामेल छैनन्‌। जति सामेल छन्‌ यतैका नेताहरू छन्‌। कोलकाता यात्राको उद्देश्य तराई र डुवर्सको अन्तरभुक्ति बिना जीटीएको चुनाउ नमान्ने सम्बन्धमा विरोध हुनेछ। यो विरोधले ममता व्यानर्जी हल्लिनुपर्छ। कि हाइपावर कमिटीको रिपोर्ट मोर्चाले दाबी गरेको मौजाहरूको पक्षमा हुनुपर्छ अनि सीमाङ्‌कन पक्कापक्की भइसकेपछि मात्र जीटीएको चुनाउ हुनुपर्छ कि त एउटा अर्डिनेन्स पारित गरेर 6 महिनाको अन्तरिम जीटीए चलाउन सरकार बाध्य हुनुपर्छ। यो दुइवटा विकल्पको निम्ति नै मोर्चाले आज मङ्‌पूमा धेरैवटा सरकारलाई दवाब दिने कार्यक्रमहरूको घोषणा गरेको छ। सरकारको रबैयाले मोर्चालाई जुन कठिन परस्थितिमा ल्यायो, यसले सरकारले चाहेमा कसरी परिस्थिति तयार पारिन्छ अनि कसरी आन्दोलनकारीलाई दबाउने खेल हुन्छ भन्ने कुराको सन्देश नै दिएको छ।

मोर्चाले 27 अप्रेलदेखि छुट्टै राज्यको आन्दोलन गर्ने घोषणालाई यथावत राखेको छ। जब कोलकाताको पैदल यात्रा, विधानसभामा विधायकको अनुपस्थिति र अन्य कतिवटा कार्यक्रमले पनि सरकार हल्लिँदैन तब भने मोर्चाले छुट्टै राज्यको आन्दोलन गर्ने धम्कीलाई सरकारलाई दवाब गर्ने अस्त्रकोरुपमा प्रयोग गर्न सक्ने आज स्पष्ट भएको छ। यसपल्ट भने तराई र डुवर्सले पनि आफ्नो कार्यक्रम बुलुन्द गर्नुपर्छ। विमल गुरूङले भने, यतिबेला तराई र डुवर्सका जनताले पनि सक्रियतासित कार्यक्रम गर्नुपर्छ। म नै उनीहरूसित कोलकाताको निम्ति पैदल यात्रा गर्ने छु। जब तक्निकीय समस्याले मोर्चालाई ओह्रालो जॉंक्ने स्पष्ट भयो तब मोर्चा अध्यक्षले मुख थुनेर राख्न सकेनन्‌।

तिनले ममता व्यानर्जीसित मन दुखेको कुरा आज छर्लङ्ग पारे। तिनलाई ममता व्यानर्जीले आफ्नै सामु ‘बङ्गभङ्ग होबेना’ भनेको मन परेको छैन। ममता व्यानर्जीको यो भनाइदेखि विमल गुरूङको मन दुखेको छ। अहिले मोर्चाले तृणमूलको सरकारलाई लगाएको गुणको बद्ला छलले दिएको कुरा आज विमल गुरूङले गरेका छन्‌। तरै पनि तिनले जीटीएलाई त्यागेर छुट्टै राज्यको आन्दोलन चर्काउने कुरा आज गर्नै सकेनन्‌। जीटीएको निम्ति नै दवाबी कार्यक्रमहरूको घोषणा गरिएकोले मोर्चा अहिले नै राज्यको निम्ति आन्दोलन गर्ने पक्षमा नरहेको स्पष्ट भएको छ।

0 comments: on "गोर्खाल्याण्डको निम्ति होइन जीटीएकै निम्ति लड्‌ने-मोर्चा"