मुख्य समाचार :


बैठक भयो तर ममता-विमल मौन

कालेबुङ, 2 मार्च।
गोरामुमो नेताले सबैभन्दा धेर मौन राजनीति गरे। कुनै पनि अप्ठ्‌‌‌यारो स्थितिमा सुवास घिसिङ मौन बसेर नै जित्थे। ठीक उस्तै राजनीति अहिले गोजमुमो अध्यक्ष विमल गुरूङले पनि गरिरहेका छन्‌। मुख्यमन्त्रीको पहाडबास दुइदिन पुग्यो तर दुइदिन नै मोर्चा अध्यक्ष विमल गुरूङ मौन छन्‌।
दार्जीलिङमा मुख्यमन्त्री बोलिन्‌ तर विमल गुरूङ बोलेनन्‌। आज कालेबुङमा मोर्चा र मुख्यमन्त्रीको गोप्य बैठक भयो। तर बैठकपछि विमल गुरूङ नबोली दार्जीलिङ फर्किए। नबोली कालेबुङ आएका विमल गुरूङ नबोली नै फर्किए। अहिले मोर्चालाई जीटीएको कारण निक्कै मानसिक चाप छ। मुख्यमन्त्री ममता व्यानर्जीले जीटीएको निम्ति राज्यले गर्नुपर्ने सबै काम गरिसकेको मोर्चालाई बताइरहेको छ तर हाइपावर कमिटीको रिपोर्टको अत्तोपत्तो छैन। मोर्चालाई हाइपावर कमिटीमाथि विश्वास लागेको छैन।

यदि हाइपावर कमिटीको रिपोर्ट मोर्चाको पक्षमा भएन भने पहाडमा मोर्चाको अस्तित्व नै संकटमा पर्ने छ। किन भने मोर्चाले नै जीटीए थाप्नुको प्रमुख कारण तराई डुवर्सको अन्तरभुक्ति बताएको छ। यदि जीटीएमा तराई डुवर्स पसेन भने जीटीएको क्षमता केवल दागोपापको झैं हुने छ। यसै पनि जीटीएलाई धोका मान्दै पहाडका विभिन्न राजनैतिक दलले राष्ट्रियस्तरमा नै छुट्टै राज्यको निम्ति प्रचार-प्रसार गरिरहेको छ। दिल्लीमा धर्ना र सांसदहरूको भेटघाट कार्य चलिरहेको छ। टास्क फोर्सले राष्ट्रपतिलाई भेटेर जीटीए गठन भएको खण्डमा देशभरिका गोर्खाहरुलाई अन्याय हुने बताउने भएको छ। यता छत्र सुब्बा पनि आन्दोलनको निम्ति तयार गरिरहेका छन्‌ भने शिक्षित युवाहरूको थर्ड फोर्सले पनि आन्तरिकरुपमा छुट्टै राज्यको निम्ति विमर्ष कार्यक्रम गरिरहेको छ।

यस्तोमा मोर्चाले दिएको डेटलाइनमा जीटीए गठन भएन भने मोर्चालाई गाह्रो पर्ने छ। उता सुबास घिसिङ जीटीए गठन हुने वित्तिकै मुद्दा हाल्ने तयारीमा छन्‌। विस्तारै मोर्चाको राजनैतिक घडेरीमा भुँइचालो जान शुरु भएकोले अहिले मोर्चालाई पीर परेको छ। यसै कारण विमल गुरूङले केही बोलिरहेका छैनन्‌। तिनी 27 अप्रेलपछि नै बोल्ने भएका छन्‌। यता मुख्यमन्त्री ममता व्यानर्जीले पुरानै आश्वासन फेरि घोषणा गरेर पहाड भ्रमणलाई सार्थक पारेकी छन्‌। तिनले पनि जीटीए सम्बन्धमा कुनै पक्का टिप्पणी दिएनन्‌। आज तिनी पत्रकारहरूसित बोलेनन्‌ पनि।

जीटीए होइन तिनको ध्यान विभिन्न योजना र विकासमा नै अल्झिएको छ। अहिलेसम्म करोड़ौंको योजना तिनले घोषणा गरिसकेकी छन्‌ अनि तिनले नै राज्य ऋणमा डुबेको कुरा पनि गरिरहेकी छन्‌। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले जीटीए भनेको समयमा भएन भने आन्दोलन हुँदैन भन्ने प्रश्नको उत्तरमा जीटीए हुने नहुने कुरामाथि अहिले नै टिप्पणी गर्नु उचित नरहेको बताएका छन्‌। तिनले भने, जीटीएले कस्तो विकास गर्छ, त्यसैमा आन्दोलन हुने नहुने कुरा निर्भर रहन्छ। तिनी अनुसार जीटीए नै दार्जीलिङको विकासको निम्ति सर्वोत्तम व्यवस्था हो। यसले यस्तो विकास गर्ने छ कि कसैलाई पनि आन्दोलन गरिरहनुपर्ने आवश्यकता हुने छैन। तिनको कुराको यस्तै आशय रहेको थियो। जीटीएले जनताको आकांक्षा पुरा गर्दैन अनि आन्दोलन हुन्छ भने त्यो कुरा जनतामा निर्भर छ-छेत्रीले भने।

0 comments: on "बैठक भयो तर ममता-विमल मौन"