मुख्य समाचार :


जीटीए मदन तामङको भविष्यवाणी

कालेबुङ, 17 मार्च।
गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको घोडामा चडेर दागोपापको चौकी ताकिरहेको छ। मोर्चाले अर्को दागोपापको निम्ति सम्झौता गरिसकेको छ। मोर्चाले जनतालाई बोरामा सुताइसकेको छ। तराई र डुवर्सलाई धोका दिइसकेको छ-यो कुरा गोर्खालिग नेता मदन तामङले त्यति बेला भनेका थिए, जति बेला
मोर्चाको गुप्ति रिपोर्टको कुरा समेत अघि आएको थिएन। मोर्चा अध्यक्ष विमल गुरूङ 28 नम्बर समष्टीको भ्रमणमा थिए। विमल गुरूङले यो टिप्पणी प्रकाशमा आएको भोलीपल्ट नै मिडियामा प्रतिक्रिया व्यक्त गर्दै ‘दोगापाप होइन कुनै राम्रो कुरा मोर्चाले दिनेछ’ भनेका थिए। त्यही दिन तिनले केही राम्रो कुरा मागेर केन्द्र सरकारलाई गुप्ति रिपोर्ट पठाएको समेत खुलासा गरेका थिए। मदन तामङले मोर्चाले दागोपाप थापेको कुरा खुलासा नगरेको भए, मोर्चाले गुप्ति रिपोर्टको कुरासमेत जनतालाई बताउने थिएन-प्रताप खातीले आज भने। तिनले भने, आखिरमा मदन तामङको भविष्यवाणी पुरा भएर नै छोड्यो। मोर्चाले जनतालाई धोका दिइसकेको कुरा त्यतिबेला नै गरिएको थियो जब दोगापोपको नाम जीटीए भएकै थिएन।
लालूप्रसाद यादवले गोर्खाल्याण्डको प्राइवेट बील पेश गर्ने
कालेबुङ, 17 मार्च।
गोर्खालिग महासचिव प्रताप खातीले यसै संसद सत्रमा राष्ट्रिय जनता दलका नेता लालूप्रसाद यादवले गोर्खाल्याण्डको प्राइवेट बील पेश गर्ने भएको जानकारी दिएका छन्‌। गोर्खालिगका प्रतिनिधिहरुले दिल्लीमा विभिन्न राजनैतिक दलका केन्द्रिय नेतृत्वहरूसित भेटघाट गर्ने कार्य गरिरहेको छ।
यसै अवधी लिग टोलीले लालू प्रसाद यादव अनि तिनका पूर्व खाद्यमन्त्री रघुवंश प्रतापसिंहसित भेटेर जीटीए र छुट्टै राज्यबारे अवगत गराएको खातीले बताएका छन्‌। खातीले भने, दिल्लीमा विभिन्न केन्द्रिय नेताहरूसितको बैठकपछि थाहा भयो कि मोर्चाले छुट्टै राज्यको कुरा नै गरेको छैन। मोर्चाले जीटीए मागेकोले नै केन्द्रले जीटीए दिएको राष्ट्रपतिको सम्भाषनबाट स्पष्ट भइसकेको छ। जसवन्त सिंहले राष्ट्रपतिको सम्भाषणलाई समर्थन गर्ने सुनिएको छ। तर गोर्खाल्याण्ड टास्क फोर्सले जसवन्त सिंहलाई चिठ्ठी लेखेर वास्तविकता बताइदिएको छ। तिनले लिगले जीटीए गोर्खाहरूको माग नरहेको अनि यसले गोर्खाहरूको आकांक्षा पुरा नहुने कुरा बताउँदा सबैले नै सुबास घिसिङ र विमल गुरूङले आफ्नो स्वार्थको राजनीति गरेकोले नै गोर्खाहरू असुविधामा रहनुपरेको बताएको पनि खातीको दाबी छ। तिनले भने, लालूप्रसाद यादवसित पनि कुराकानी भयो। तिनले छुट्टै राज्यबारेका सम्पूर्ण तथ्य मागेका छन्‌। तिनले गोर्खाल्याण्डको प्राइवेट बील ल्याउने भएका छन्‌। राष्ट्रियगण परिषद्का नेता डा करणसिंह अनि जोशेफ टोप्पोसित पनि लिगल प्रतिनिधिहरूले भेट गरेका छन्‌। खातीले भने, गोर्खाल्याण्ड टास्क फोर्सले दिल्लीमा निरन्तर छुट्टै राज्यबारे बुझाइने कार्य गरिरहेको छ। मोर्चाले जनतालाई धोकामा राखेको कुरा बुझाइसकिएको आज भाजपाका सुसमा स्वराज अनि कंग्रेसका जोशेफ टोप्पोसित पनि कुरा राखियो। उनीहरूले पनि छुट्टै राज्यको मुद्दालाई समर्थन गर्ने भएका छन्‌।
मदन तामङले त्यतिबेला नै मोर्चाको कुटनीतिको पर्दाफास गरेर जनतालाई सचेत गराइसकेका हुन्‌। लिगलाई थाहा थियो, मोर्चाले दोगापोप भन्दा ठूलो कुरा केही ल्याउने छैन। किन भने विमल गुरूङ मदन तामङको काउन्टर नेता हुन्‌। खाती अनुसार मदन तामङले मोर्चाको कुटनीति पदाफास गरेपछि मदन तामङ मोर्चाको निम्ति खतरा थियो। यसकारण मदन तामङलाई बाटोबाट हटाउन मोर्चालाई अनिवार्य थियो। तिनले भने, मदन तामङले भनेका थिए, गोर्खाल्याण्डको कुरा गर्दा मलाई मार्छ भने, म मर्न तयार छु तर जनताको मुद्दा अर्को दागोपापसित साट्‌न भने दिने छुइन। अन्तमा तिनले आफ्नो बचन पुरा गरे। तिनी गोर्खाल्याण्डको निम्ति मोर्चाका नेताहरूका हातबाट मरे। मदन तामङको हत्यापछि मोर्चालाई जीटीएको निम्ति बाटो खुला भयो। तिनले अझ बताए, सम्झौतामा हस्ताक्षर गरेर तराई र डुवर्स बिना चुनाउ गर्दिन भन्नु मोर्चाको नाटक हो। अहिलेसम्म लिगले भनेको कुरा कुनै पनि खेरो गएको छैन। मोर्चाले तराई र डुवर्सलाई धोका दिइसकेको छ।
 मोर्चाले तराई र डुवर्स विना नै जीटीएको चुनाउ गर्ने छ। यसको अर्थ तराई र डुवर्सलाई छोड्‌नु हो। मोर्चाले अहिले होइन सम्झौता गर्दा नै तराई र डुवर्स छोडिसकेको छ। यसकारण अब तराई र डुवर्सका जनताले गोर्खालिगलाई बलियो पारेर छुट्टै राज्यको निम्ति अघि आउनुपर्छ। खातीले मोर्चाको नियत अहिले नै जनताले बुझेन भने जनतालाई समेत भड्‌खालोमा हाल्ने बताउँदै भने, मोर्चाले गरेको धोका जनताले भावी पुस्तालाई गरेको धोका हुने बताए। तिनले भने, मदन तामङ छुट्टै राज्यको निम्ति ज्यान दिएका हुन्‌। उनलाई जनताको श्रद्धाञ्जली भनेको नै लिगलाई दह्रो बनाएर छुट्टै राज्यको निम्ति अघि बढ्‌नु हो।

0 comments: on "जीटीए मदन तामङको भविष्यवाणी"