मुख्य समाचार :


मेनरोडमा मुख्यमन्त्री

कालेबुङ, 1 मार्च।
डा.हर्कबहादुर छेत्रीले बिहानै पत्रकारहरूलाई भने, मुख्यमन्त्रीको आधिकारिक भ्रमण होइन।
तिनी आराम गर्न आएकी हुन्‌। तर हामी तिनलाई विभिन्न स्कूल र केही राम्रा ठाउँ घुमाउनेछौं। आराम गर्न आएकी मुख्यमन्त्री ममता व्यानर्जी कालेबुङ छिर्दा छिर्दै गान्धी आश्रम पसिन्‌। मुख्यमन्त्री दार्जीलिङ आएपछि अनि तिनलाई मोर्चा समर्थकहरूले भव्य स्वागत जनाएपछि राज्यका च्यानलहरूले पहाडका जनता जीटीएमा औधी खुशी छन्‌ भन्ने मन्तव्य तीब्र गरिरहेको छ। ममता व्यानर्जी यस्तो मुख्यमन्त्री हुन्‌ जसले आन्दोलनकारीहरूको मुखैमा ‘बङ्गभङ्ग होबेना’ भनेकी छन्‌। पहाड-समतललाई दिदी बहिनी बनाएकी छन्‌। तिनको अपील छ, मिलेर बस्नुपर्छ। म दार्जीलिङमा विकासको मूल फुटाउने छु। गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले आज भने, अरु पार्टी घरमा बसेर गोर्खाल्याण्ड हुनुपर्छ भन्छन्‌। हामीले मैदानमा उत्रेर, छुट्टै राज्यको निम्ति त्रिपक्षीय वार्ता गरेर, सक्नेजति जम्मैगरेर सोझै छुट्टै राज्य नहुने भएपछि आन्दोलनको बाटो अर्कोतिर मोडेका छौं।
‘माफ भयो बील?’
कालेबुङ, 1 मार्च।
पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले समय दैनिकसित भने, जसले बङ्गभङ्ग हुँदैन भन्छ, तिनलाई स्वागत जनाउनु भनेको के हो? जसले छुट्टै राज्यको आन्दोलनलाई अशान्ति भन्छ, तिनलाई फूलमाला चढाउनु भनेको के हो? तिनले यो कुरा मुख्यमन्त्री ममता व्यानर्जी र गोर्खा जनमुक्ति मोर्चालाई लक्ष्य गरेर भनेका हुन्‌। तिनले भने, भव्य स्वागतको सट्टामा मुख्यमन्त्रीले बिजुलीको बील माफ गरिन्‌ त? डा. हर्कबहादुर छेत्रीले दार्जीलिङमा बिजुलीको बील र अन्य बीलको कुरा उठाएका रहेछन्‌। आफ्नो सम्बोधनमा ममता व्यानर्जीले कुनै आश्वासन दिइन्‌ त? तिनको आरोप अनुसार मुख्यमन्त्रीले जीटीए ढिलाईमा केन्द्रको दोष देखिन्‌ तर मोर्चाको जीटीएको आन्दोलनको कारण जनताले भोग्न परेको मर्का देख्ने जिम्मा मुख्यमन्त्री कै हो। तिनले भने, मुख्यमन्त्री आएकै बेला मुख्यमन्त्रीकै पार्टी मोर्चाले जनताले पाएको दुखको समाधान किन गराउन सकेन? केन्द्रले जे गर्छ, केन्द्रको राजनीति हो तर मोर्चाले जनतालाई बिजुलीको भारी बोकाएको छ। ट्याक्सको भारी बोकाएको छ। व्याङ्‌कको ऋणमा डुबाएको छ। विभागीय सहुलियत खोसेको छ। जनताको पैसामा पार्टी चलाइरहेको छ। मुख्यमन्त्रीले जनदुःखलाई सम्बोधन नगर्ने हो भने तिनी पहाड चड्‌नुको कुनै अर्थ छैन। तिनले मोर्चालाई सुझाव दिए, केन्द्रको कुरा छोडोस्‌, राज्यको अधीनमा भएको क्षमता प्रयोग गर्दै जनतामाथि लादिएको बीलको भारी उतारोस्‌। यति गर्न सकेन भने मोर्चाको अर्थ छैन।
छुट्टै राज्यको निम्ति नै हामीले काम गरिरहेका छौ। हाम्रो काम गर्ने शैली नबुझेर गर्नेले शंकैमात्र गरिरहेका छन्‌। जे, होस्‌ मुख्यमन्त्री ममता व्यानर्जीलाई कालेबुङमा भव्य स्वागत गरियो। साना फुच्चीदेखि लिएर चाउरीपरेका बुढोसम्म थाना डॉंडामा भनिरहेका थिए, हाम्रो मुख्यमन्त्री हेर्न आएको। नक्सामा मात्र देखेको, छेउमा हेर्न आएको। तर तिनले मुख्यमन्त्रीलाई छेउबाट हेर्न पाएनन्‌। मोर्चा कार्यकर्ताहरूले मुख्यमन्त्रीलाई छोपिहाले। कालेबुङको थाना डॉंडामा ओर्लिएकी मुख्यमन्त्री ममता व्यानर्जीको अनुहारमा चमक थियो। स्वागतमा उभिएकी महिलाहरू अनि मोर्चा समर्थकहरुलाई तिनले नमस्कार गरिन्‌। पुरै गोर्खे पारामा मुख्यमन्त्रीले स्वागत थापिन्‌। तिनले थाना डॉंडामा नौमति देखिन्‌।
सनइ देखिन्‌, फूलमाला देखिन्‌ र भावुक भइन्‌। सधैँ भीड जुट्यो कि नारा गुञ्जने कालेबुङको मेनरोडमा कुनै नारा थिएन। न जनताले गोर्खाल्याण्ड भने न जीटीए। मुख्यमन्त्रीले जुटेको भीडलाई देखिन्‌ तर मेनरोडमा नै गाडी खेप्ने एक चालकले भने पिलिक्क मात्र तिनलाई देखे। तिनले भने, हाम्राहरू नगरपार्षद हुने वित्तिकै कान र हात पहेंलो पार्छन्‌, मुख्यमन्त्री भने हवाई चप्पलमा। यतिबेला जुटेको भीडले मुख्यमन्त्रीलाई छुट्टै राज्य देउ-भनेनन्‌। डम्बरचोकमा मुख्यमन्त्री आउने सुनेपछि टालेको क्रामाकपाको पोष्टरमा भने लेखिएको थियो, स्वीट्‌जरल्याण्ड होइन, गोर्खाल्याण्ड चाहिन्छ। कसैसित पनि दोहोरो वार्ता नगरी मुख्यमन्त्री मेन रोडमा हिँडिन्‌। हात हल्लाइन्‌ तर भीडले मनमा बोकेर राखेको छुट्टै राज्यको आकांक्षा तिनले देखे देखिनन्‌, तर मुख्यमन्त्रीप्रतिको नगरवासीको असीम प्रेम भने तिनले निश्चय नै देखिन्‌। प्रधानमन्त्रीलाई जीटीएबारे सबै कुरा भनेर आएकी बताउने मुख्यमन्त्री ममता व्यानर्जीले जीटीए ढिलो हुनुमा केन्द्रको दोष देखाइरहेकी छन्‌। तर पहाडमा बिजुली लगायतका बीलहरु र ट्याक्सहरूबारेको समस्या आफैले देखेकी छैनन्‌। डा. हर्कबहादुर छेत्रीले विहानै पत्रकारहरूसित भनिरहेका थिए, मैले त दार्जीलिङमा तिनको सामुने बिजुलीको बीलको कुरा निकालें। अरु जम्मै समस्याको कुरा गरें। तर तिनले भनेनन्‌ तिनले देखाएको समस्याको जवाबमा मुख्यमन्त्रीले के भनिन्‌। मेनरोडमा हात हल्लाइराखेर मुख्यमन्त्री सोझै डेलो पुगिन्‌। जहॉं पत्रकारदेखि कोही अन्यलाई जाने अनुमति थिएन। भनियो, यो तिनको नीजि भ्रमण हो।

0 comments: on "मेनरोडमा मुख्यमन्त्री"