मुख्य समाचार :


ममताको ममता पर्खिँदै पहाड

कालेबुङ, 29 फरवरी।
दार्जीलिङ पहाड अहिले मुख्य मन्त्री ममताको ममता पर्खेर बसेको छ।

हल्ला के छ भने ममताले फेरि पनि दार्जीलिङको निम्ति एक गुच्छ योजनाहरूको उपहार लिएर आउनेछन्‌। यता जीटीएको जञ्जालले बेह्रिएको दार्जीलिङमा राजनैतिक मतभेद्ले चरमरुप लिइसकेको छ। दार्जीलिङ, जहॉं ममता व्यानर्जी आइरहेकी छन्‌, त्यहॉं जीटीए भर्सेस छुट्टै राज्यको लडाईँ चलिरहेको छ। यसै पनि मुख्यमन्त्री छुट्टै राज्यको पक्षमा छैैनन्‌। मुख्यमन्त्री ममता व्यानर्जीले जीटीएमा हस्ताक्षर गर्ने राजनैतिक दल र दलका प्रतिनिधिहरूसित नै उभिएर धेरैपल्ट ‘बङ्गभङ्ग होवेना’ भनिसकेकी छन्‌। जीटीएपन्थीले तिनको यो वाक्यको निम्ति धेरैपल्ट थप्पडी पनि मारिसकेका छन्‌।

दार्जीलिङमा छुट्टै राज्यको आन्दोलन नहोस्‌ भनेर नै जीटीए र विकासमा बल गरिरहेकी ममता व्यानर्जी विस्तारै केन्द्रको चुक्लीमा परिरहेकी छन्‌। यस्तोमा यसपल्ट ममता व्यानर्जीले पहाडको निम्ति कुनै प्याकेजको घोषणा गर्न नसक्ने स्पष्ट छ। किन भने राज्यकोष रित्तो छ। यस अघि पनि ममता व्यानर्जीले दार्जीलिङलाई स्वीट्‌जरल्याण्ड बनाउने घोषणा गरिसकेकी छन्‌ तर अहिलेसम्म स्वीट्‌जरल्याण्ड को कुनै संरचना तयार भएको छैन। यता ममता व्यानर्जीको स्वीट्‌जरल्याण्ड उता जीटीए जस्तो विकास विभागको हल्लाले दार्जीलिङवासीले यसै पनि हजारौं सपना सजाउन थालिसकेका छन्‌। तर न त स्वीट्‌जरल्याण्ड नै बनिरहेको छ न त जीटीए। मुख्यमन्त्री अहिले दार्जीलिङलाई लिएर निक्कै चिन्तित छन्‌।

मुख्यगरी भनेको समयमा जीटीए गठन नभएमा पहाडमा छुट्टै राज्यको आन्दोलन अर्को शक्तिद्वारा शुरु हुने निश्चित छ। ममता व्यानर्जीले छुट्टै राज्यको आन्दोलन हुनुलाई अशान्ति भनेर परिभाषित गरिरहेकी छन्‌। जीटीए भनेको शान्ति र छुट्टै राज्य भनेको अशान्ति भनेर तिनले गर्ने टिप्पणीको कारण छुट्टै राज्यपन्थीहरूले मुख्यमन्त्री ममता व्यानर्जीलाई पनि बुद्धदेव भट्टाचार्य कै अवतारकोरुपमा हेरिरहेका छन्‌। आउनु भन्दा अघि नै मीडियाले पहाडको निम्ति प्याकेज लिएर आउने कुरा कहॉंसम्मको सत्य हो भन्ने कुरा कालेबुङ महकुमा अधिकारीले पुष्टि गरेका छन्‌।

तिनी अनुसार मुख्यमन्त्रीको कुनै कार्यक्रम पहाडमा छैन। केवल केहीदिनको निम्ति समय विताउन वा आरम गर्न नै तिनी पहाड चडेको बताइएको छ। जानकारी पाइए अनुसार बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी आज दार्जीलिङबाट सोझै दुइदिनको निम्ति कालेबुङ आउनेछन्‌। आज अपह्रान्न एकदेखि दुइबजीभित्र तिनी कालेबुङ आइपुग्नेछन्‌। कालेबुङमा तिनको यो पहिलो भ्रमण रहेपनि तिनी कुनै कार्यक्रम नलिएर केवल विश्राम लिनमात्र आएकी हुन्‌। ‘अहिलेसम्म तिनको कार्यक्रमहरूबारे हामीलाई कुनै सूचना छैन, तर दुइदिनसम्म तिनी डेलोमा नै विश्राम लिने तय छ’-अधिकारीले भने। मुख्यमन्त्रीको पहिलोचोटिको भ्रमणअवधी कालेबुङबासीले पनि उनीबाट धेरै अपेक्षा गरेको भएपनि उनको कालेबुङमा भेटघाट देखि लिएर कुनै अन्य कार्यक्रम नरहुनुले कालेबुङबासी निराश छन्‌।

मुख्यमन्त्रीको कालेबुङ भ्रमणलाई केन्द्र गर्दै कडा सुरक्षा व्यवस्था रहने पनि महकुमा अधिकारीले बताएका छन्‌। कुनै कार्यक्रम नरहेको मुख्यमन्त्रीले पत्रकारहरूसम्म नभेट्‌ने सूचना पाइएको छ। कुनै नागरिक संस्थाका प्रतिनिधिहरूसित पनि तिनले भेट्‌ने छैनन्‌। तर गोप्य सूत्रले बताए अनुसार गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधिहरूसित भने मुख्यमन्त्रीको बैठक हुन सक्नेछ।

0 comments: on "ममताको ममता पर्खिँदै पहाड"