मुख्य समाचार :


कालेबुङमा लोकल च्यानलहरू बन्द भएपछि

40 जनाभन्दा अधिक श्रमजीवि पत्रकारहरू बिचल्नीमा
प्रज्ज्वल छेत्री
कालेबुङ, 10 फरवरी।
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गरुङले कालेबुङका लोकल च्यानलहरू अवैद्य रूपमा प्रसारण हुने गरेको अनि अपशब्द प्रयोग गरिएका समाचारहरू पनि प्रसारण गर्ने गरेको बताउँदै च्यानहरूबिरूद्ध मुद्दा दर्ता गरिदिने भएपछि स्थानीय पॉंचवटा च्यानलहरू बन्द भएको छ।

मोर्चाबाट नै तिनदिनदेखि पत्रकारहरूमाथि दवाब आइरहेको थियो भने यसै दवाबबीच नै च्यानलहरू बन्द भएको छ। कालेबुङमा दैनिक रूपमा समाजको हरेक पक्षलाई जनमानसमा पस्कने समाचार च्यानलहरू बन्द हुँदा अनि पत्रकारहरूको 86 मा टाउको झुण्डिएको कुराहरू गर्दै पत्रकारहरूलाई मनोवैैज्ञानिक ढङ्गमा दवाब दिनुले स्थानीय पत्रकारहरू असुरक्षित महशुस गर्न थालेका छन्‌।

पत्रकारहरूले असुरक्षित महशुस गरिरहेको समय पनि पत्रकार सङ्गठनहरूले पटक्क्क मुख नै नखोल्नुले अन्य दल अनि सङ्घ-संस्थाहरूसित पनि रमिता हेर्नु सिवाय अन्य कुनै विकल्प नरहेको बताइरहेको छ। सम्भवतः जिल्लाभरिमा नै पत्रकारिताको क्षेत्रमा उर्वर मानिने कालेबुङमा 5 वटा लोकल च्यानलहरू एकाएक बन्द भएपछि 40 जनाभन्दा अधिक श्रमजीवि पत्रकारहरू विचल्नीमा परेका छन्‌। समाजको राजनैतिक, समाजिक, धार्मिक जम्मै पक्षहरूलाई समेटेर  समाजमा केही राम्रो कार्य गर्दै जीविकोपार्जन गरिरहेका च्यानलसित सम्बन्धित 40 जनाभन्दा अधिक श्रमजीवि पत्रकारहरू विचल्नीमा पर्नुले समाज सुधारको दिशामा केही फरक पर्ने स्पष्ट छ।

जहॉंसम्म क्षेत्रीय स्तरमा लोकल च्यानलहरू प्रसारण गरिने कुरा छ त्यसमा केबल टेलिभिजन नेटवर्क (रेगुलेशन) एक्ट 1995 अनुसार क्षेत्रीय च्यानलहरूद्वारा समाजमा जानकारीमूलक अनि मनोरञ्जनात्मक विषयवस्तुहरू प्रसारण गर्न सक्नेछ। तर लोकल च्यानलद्वारा समाचार प्रकाशित गर्नसक्ने अनुमति भने कानुनले दिँदैन। तरैपनि भारतवर्षमा अहिले हजारौं लोकल च्यानलहरू क्षेत्रीय प्रशासनसितको सुझबुझमा प्रसारण भइरहेको छ।

केबलद्वारा मनोरञ्जनात्मक अनि जानकारीमूलक प्रस्तुति प्रसारण क्षेत्रीय प्रशासनको सहमति अनुसार सम्भव बन्ने कुराको लछेप्रै उदाहरणहरू देख्न सकिन्छ। लोकल च्यानलबाट समाचार प्रसारण गर्नबाट जम्मु काश्मिरमा एकपल्ट रोक लगाइँदा मुख्यमन्त्रीकै पहलमा नै काश्मिरमा लोकल च्यानलबाट समाचार प्रसारण गरिन पुनः शुरू भएको थियो। अहिले पनि छिमेकी राज्य सिक्किम लगायत बङ्गालको विभिन्न क्षेत्रहरूमा नै लोकल च्यानलद्वारा समाचार प्रसारण भइरहेको छ। यसैले कालेबुङमा मात्र लोकल च्यानलबाट समाचार प्रसारण हुन असुविधा हुनुले जनमानस अन्योलमा परेको देखिएको छ। लोकल च्यानलविरूद्ध मुद्दा दर्ता गर्ने विमल गुरुङको चेतावनीपछि असुरक्षित महशुस गरेर आफ्नो व्यवसाय चौपट हुनबाट जोगाउन मालिक पक्षबाट बन्द गरिएको लोकल च्यानल फेरि सुचारू बन्ने आशामा कालेबुङका जनता बसेका छन्‌।

तर अब प्रसारण हुने जानकाररूलक समाचारहूर एकपक्षीय हुनुपर्ने दवाब हुन सक्ने प्रसस्तै सम्भावना देखिएको छ। किन भने विमल गुरूङले मोर्चाको बाहेक अन्य कसैको पनि समाचार देखाउन नहुने भन्दै देखाएमा मुद्दा हाल्ने कुरा गरेका छन्‌।  तर कुनै पनि पार्टीले मुद्दा हाल्ने कुरा पनि अवैधानिक नै देखिएको छ। यस कारण तिनको मुद्दा हाल्ने कुरालाई केवल पत्रकारहरूलाई दवाब दिने प्रयास मात्र रहेको बुझिएको छ। भित्रभित्रै धेरै टिकाटिप्पणीहरू आइरहेपनि च्यानल बन्दको विरूद्धमा कसैले खुलेर बोल्ने आँट भने गर्न सकिरहेका छैनन्‌।

आम नागरिकको त कुरै छाडौं कालेबुङका पत्रकार सङ्गठनहरूसम्मले कुनै प्रतिक्रिया नगर्दा भने श्रमजीवि पत्रकारहरू झनै अन्योलमा परेका छन्‌। दार्जीलिङ, सिक्किम, सिलगढी तथा अन्य क्षेत्रका पत्रकार सङ्गठनहरुले कालेबुङका पत्रकारहरूलाई राजनैतिक दवाबको विरुद्ध आवाज उठाउनु पर्ने बताइरहेको भएपनि कालेबुङ कै सङ्गठनहरू भने मौनब्रतमा बसेकोले कसैले पनि आवाज उठाउन सकिरहेका छैनन्‌। यता साइबर संसार फेसबुकमा च्यानल बन्दको विरोधमा उठेको आवाजहरूले भने तहल्का मच्चाइरहेको छ। लाखौं फेसबुके नागरिकहरूले पत्रकारितामाथि भएको राजनैतिक दवाबको आवाज उठाइरहेका छन्‌।

0 comments: on "कालेबुङमा लोकल च्यानलहरू बन्द भएपछि"